Comments Add Comment

बादलले भने– सरकार र पार्टी नेतृत्व परिवर्तनले प्रतिक्रान्ति निम्त्याउँछ

२३ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा बादलले अहिले पार्टी र सरकारको नेतृत्व परिवर्तन गर्ने कुराले प्रतिक्रान्ति निम्त्याउने दाबी गरेका छन् ।

राष्ट्रियसभामा नेकपाका प्रमुख सचेतक खिमलाल भट्टराईसहित केन्द्रीय सदस्यहरुको टोलीसँगको मंगलबारको भेटमा बादलले आफू झम्सिखेल बैठकमा गएको र बोलेको कुरालाई बंग्याएर कुप्रचार गरिएको समेत बताए ।

पार्टी विभाजनविरुद्ध उभिन र नेताहरुबीच एकता कायम गर्न दबाव दिन जाँदा गृहमन्त्रीले आफू कसैलाई निषेध गरेर जान हुँदैन भन्ने पक्षमा रहेको बताएको नेता भट्टराईले जानकारी दिए ।

झम्खिसेलको अँगेनो रेष्टुरेन्टमा भएको भेलामा आफ्नो सहभागितालाई पनि गुटहरुबाट कुप्रचार गरिएको बादलको भनाइ रहेको भट्टराईले बताए ।

नेताहरुसँग बादलले भने, अहिले सरकार र पार्टीको नेतृत्व परिवर्तनको कुराले प्रतिक्रान्ति निम्त्याउँछ । हामीले क्रान्तिलाई सहयोग गर्नुपर्छ । कसैलाई निषेध गरेर जानु हुँदैन । हामीले पार्टी बलियो बनाउने हो, गुटलाई बलियो बनाउने होइन । म स्थायी कमिटी बैठकमा पनि यही कुरा राख्छु ।

बादललाई भेट्न खिमलालसहित राष्ट्रियसभा सांसद तथा केन्द्रीय सदस्यहरु सुमन प्याकुरेल, भैरवसुन्दर श्रेष्ठ, जीवन बुढा र नरपति लोहार गृहमन्त्रालय पुगेका थिए । बुढा बाहेक अरु सबै प्रधानमन्त्री केपी ओलीनिकट नेता हुन् ।

उनीहरुले पार्टीमा एकता कायम गर्न बादलको भूमिका हुनुपर्ने बताएका थिए ।

संस्थापन निकट नेताहरुसँग बादलले फरक कुरा गरे पनि झम्सीखेल बैठकमा भने उनले आफू माधव–प्रचण्ड समूहकै निकटमा रहेको बताएका थिए । साथै उनले आफ्नो सचिवालयका सदस्यहरुलाई अब मन्त्रालय छाड्नुपर्ने अवस्था पनि आउन सक्ने बताएका थिए ।

यो पनि पढ्नुहोस बादलले छाडे प्रधानमन्त्री ओलीको साथ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment