Comments Add Comment

ट्रम्पले सुरु गरे डब्ल्यूएचओबाट बाहिरिने औपचारिक प्रक्रिया

२४ असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डबल्यूएचओ)बाट बाहिरिने औपचारिक प्रक्रिया सुरु गरेका छन् । ट्रम्पले डब्ल्यूएचओबाट बाहिरिने घोषणा मे महिनाको अन्तिममा यस्तो घोषणा गरेका थिए ।

उनले डब्ल्यूएचओलाई चीनको पक्ष लिएको आरोप लगाएका थिए । युरोपेली संघ (ईयू) र अन्य मुलुकहरुले यो निर्णय फिर्ता लिन आग्रह गरेका थिए । तर, ट्रम्पले यसलाई अस्वीकार गर्दै डब्ल्यूएचओलाई दिँदै आएको सहयोग अन्यत्र प्रयोग गर्ने बताएका हुन् ।

ट्रम्पले संयुक्त राष्ट्रसंघ र अमेरिकी संसद्लाई यस विषयमा जानकारी गराएका छन् । यद्यपि अमेरिका पूर्णरुपमा डब्ल्यूएचओबाट बाहिरिन एक वर्ष लाग्नेछ । संयुक्त राष्ट्रसंघका प्रवक्ता स्टेफिन डुजारिकले यो कुरालाई पुष्टि गर्दै अमेरिकाले डब्ल्यूएचओबाट हट्ने सूचना दिएको र यो निर्णय सन् २०२१ जुलाई ६ देखि लागू हुने बताएका छन् ।

अमेरिकी सांसद तथा विदेश सम्बन्ध समितिका वरिष्ठ सदस्य डेमोक्रेट सिनेटर रोबर्ड मनेन्डिजले पनि अमेरिकी संसद्लाई पनि सूचित गराइएको पुष्टि गरेका छन् । यसअघि अमेरिकाले डब्ल्यूएचओलाई सुधारको विस्तृत विवरण बुझाएको थियो । तर, डब्ल्यूएचओले भने यसलाई अस्वीकार गरेको थियो ।

आगामी नोभेम्बरमा अमेरिकामा हुन गइरहेको निर्वाचनको लागि राष्ट्रपतिको लागि उम्मेदवार बनेका जो बाइडनले भने सामाजिक सञ्जाल ट्विटरमार्फत् आफूले उक्त निर्वाचनमा जित हासिल गरेपछि आफ्नो पहिलो काम डब्ल्यूएचओसँग पुनः जोडिनु हुने बताएका छन् ।

अमेरिकाले डब्ल्यूएचओलाई सबैभन्दा धेरै आर्थिक सहयोग गर्दै आएको छ । सन् २०१९ मा अमेरिकाले डब्ल्यूएचओलाई ४० करोड डलर सहयोग दिएको थियो । यो रकम उसको समग्र बजेटको १५ प्रतिशत हो ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment