Comments Add Comment

चार्टर्ड फ्लाइटबाट २० हजार नेपाली स्वदेश फर्किए

कुवेतबाट चार्टर्ड फ्लाइटमा फर्किएका नेपाली ।

२६ असार, काठमाडौं । अन्तर्राष्ट्रिय उडान बन्द भएका बेला विदेशबाट चाटर्ड विमानमार्फत २० हजार भन्दा बढी नेपाली स्वदेश फर्किएका छन् ।

कोरोना भाइरस (कोभिड–१९) कारण विभिन्न मुलुकमा समस्यामा परेका नेपालीलाई फर्काउन सरकारले चार्टर्ड विमान सञ्चालन गर्दै आएको छ । कतिपयलाई भने सम्बन्धित देशले नै चार्टर्ड फ्लाइटमार्फत पठाएको छ । ती चार्टर्ड फ्लाइटहरुबाट २० हजार बढी नेपाली फर्किएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

‘कतिपयलाई सम्बन्धित देशले नै पठाएको छ, कतिपय आफैँ टिकट काटेर आएका छन्’ श्रम, रोजगार मन्त्रालयका निमित्त सचिव बाबुराम अधिकारीले अनलाइनखबरसँग भने ।

वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठका अनुसार कतिपयलाई होम क्वारेन्टिनमा र कतिपयलाई होटल क्वारेन्टिनमा राखिएको छ । होम क्वारेन्टिमा बस्न चाहनेहरुलाई ३ देखि ६ हजार रुपैयाँसम्म गाडीभाडा दिइएको छ ।

सर्वोच्च अदालतले वैदेशिक रोजगारीमा जाँदा अप्ठेरोमा परेका नेपालीलाई सरकारी खर्चमै उद्धार गर्न सरकारलाई आदेश दिएको थियो । उक्त आदेश कार्यान्वयन गर्न गत जेठ १२ गतेको मन्त्रिपरिषद् बैठकले ‘नेपाली नागरिकलाई स्वदेश ल्याउन सहजीकरण गर्नेसम्बन्धी आदेश’ जारी गरेको थियो । उक्त आदेश कार्यान्वयन गर्न बनेको कार्यविधि भने मन्त्रिपरिषदबाट स्वीकृत हुन बाँकी छ ।

कार्यकारी निर्देशक श्रेष्ठका अनुसार मन्त्रिपरिषदबाट कार्यविधि स्वीकृत भएपछि विदेशमा अप्ठेरोमा परेका नेपालीलाई सरकारी खर्चमा फर्काइनेछ । ‘निवेदकले आफ्नो अवस्था के हो निवेदनमा उल्लेख गर्छन् । कार्यविधिमा आफैँ टिकट काट्न नसक्ने, रोजगार दाताले टिकट नब्यहोरेर समस्यामा परेकालाई पहिलो प्राथमिकतामा राख्ने भन्ने छ’ श्रेष्ठले अनलाइनखबरसँग भने ।

कोषमा जम्मा ५ अर्ब रुपैयाँ

परराष्ट्र मन्त्रालयका अनुसार कोरोना भाइरसको प्रभावका कारण विभिन्न मुलुकमा रहेका ५ लाख ८८ हजार भन्दा बढी नेपाली स्वदेश फर्किन चाहन्छन् ।

तर ती सबैलाई सरकारी खर्चमा फर्काउन बजेट नपुग्ने बार्डका कार्यकारी निर्देशक श्रेष्ठ बताउँछन् । उनका अनुसार बोर्डको कोषमा हाल ५ अर्ब ४ करोड रुपैयाँ रहेको छ ।

‘एक जनालाई ५० हजारको टिकट लाग्यो भने एक लाख ल्याउँदा कोषको पैसा सकिन्छ । ल्याउन मात्रै ५ अर्ब सकिएपछि अन्य कार्यका लागि पैसा हुन्न’ श्रेष्ठले अनलाइनखबरसँग भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment