Comments Add Comment

थप १३ करोड मानिस भोकमरीमा पर्न सक्छन् : संयुक्त राष्ट्रसंघ

३० असार, काठमाडौं । संयुक्त राष्ट्रसंघले सन् २०२० मा विश्वभर थप १३ करोड मानिसहरुले भोकमरीको सामना गर्नु पर्न सक्ने बताएको छ । राष्ट्रसंघका अनुसार गत वर्ष विश्वभर भोकमरीको सामना गर्ने मानिसको संख्या एक करोडले बढेको थियो । यस वर्ष भने त्यो संख्यामा उल्लेख्य वृद्धि हुन सक्ने देखिएको हो ।

राष्ट्रसंघका पाँच एजेन्सीले तयार पारेको खाद्य सुरक्षा र पौष्टिकताबारे सोमबार सार्वजनिक गरेको वार्षिक  प्रतिवेदनले यस्तो देखाएको हो । अहिले प्राप्त भएका आकलनका अनुसार यस वर्ष थप आठ करोड ३० लाखदेखि १३ करोड २० लाख मानिसहरुले कुपोषणको सामना गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

राष्ट्रसंघका एजेन्सीहरुको आकलनअनुसार गत वर्ष विश्वभरका ६९ करोड मानिसको भोकमरीको सामना गरेका थिए । यो संख्या विश्वको समग्र जनसंख्याको करिब नौ प्रतिशत हो । अघिल्लो वर्षको तुलनामा गत वर्ष भोकमरीको सामना गर्ने मानिसको संख्या एक करोडले बढेको हो । सन् २०१४ यता विश्वभर भोकमरीको सामना गर्ने मानिसको संख्या ६ करोड बढिसकेको छ ।

प्रतिवेदनअनुसार संख्याको हिसाबमा अहिले एसियामा करिब ३८ करोड १० लाख मानिसले कुपोषणको सामना गरिरहेका छन् । हिस्साको हिसाबमा भने अफ्रिका अगाडि छ । अफ्रिकाका २० प्रतिशत मानिसले कुपोषणको सामना गरिरहेका छन् ।

स्रोत : एपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment