Comments Add Comment

कथा : आँखाको भाषा

राजन केसी, गतवर्ष सबभन्दा बढी बिक्री भएको उपन्यास ‘आँखाको भाषा’का लेखक । उपन्यासको सार छ कि आँखा नै एउटा त्यस्तो माध्यम हो जसले मनको भावलाई जस्ताको तस्तै व्यक्त गर्दछ ।

उपन्यासकारले आँखाका हर भाषा अथ्र्याएका छन् । मनबाट निसृत हुने प्रेम, स्नेह, माया, घृणा जस्ता विषयलाई मुखले नभनेपनि पनि आँखाले जस्ताको तस्तै व्यक्त गर्दछन् भन्ने कुरा उपन्यासमा विभिन्न तरिकाले देखाइएको छ ।

उपन्यासले लगभग एक करोड रुपैयाँ कमाएको विषयले संचार माध्यम तातेको छ । सामाजिक सञ्जालमा प्रेमको नयाँ तरिका आँखाको भाषा भन्ने लहर चलिरहेको छ । राजन केसी एकाएक साहित्यिक सेलिब्रेटी बनेका छन् ।

उपन्यासको विषयलाई लिएर आलोचना पनि जारी नै छ । एकजना समालोचकले त यस्तो उपन्यास बेचेर पैसा कमाउनुभन्दा भिख मागेको भए सुहाउँथ्यो भनेर पनि लेखे । तर, त्यस्ले पुस्तक बिक्रीमा कुनै कमी ल्याएन ।

रमेश ज्ञवाली जो पेशाले वकिल हुन्, आँखाले देख्दैनन्, उनले आँखाको भाषाका लेखक बिरुद्व मुद्दा दिएका छन् । उनको जीकिर छ कि यो उपन्यासले नेत्रहीन व्यक्तिहरुको अपमान गरेको छ ।

रमेशको जोडदार तर्क छ– आँखाको भाषा नहुनेहरु पनि मनको भावना व्यक्त गर्दछन्, उनीहरु पनि प्रेममा पर्छन्, रमाउँछन्, घर–संसार बसाउछन् । आँखाको भाषा नहुँदा पनि उनीहरु माया, प्रेम, स्नेह, घृणा, समर्थन, बिरोध गरिरहेका हुन्छन् । मनको कुरा आँखाले व्यक्त गर्छ भन्नु सरासर बेइमानी हो । यो मानहानी बापत क्षतिपूर्ति भराउँदै उपन्यास प्रतिबन्धित हुनपर्ने अदालत समक्ष उनको माग छ ।

आज अदालतमा अन्तिम बहस छ । राजन केसि अदालत परिसरमा पुग्नासाथ पत्रकारहरुबाट घेरिन्छन् । पत्रकारलाई छल्न राजन असफल भए । हुनपनि त्यहाँ हमला, धमला, शशी, ऋषि लगायत चर्चित पत्रकारहरुको हुल छ । अन्ततः उनी मिडियाको सामना गर्न तयार भए । प्रश्नहरुको वर्षाबीच राजन सुरु भए–

कीर्तिपुर बसाइको क्रममा हरेक साँझपख साथीहरु बाहिर घुम्न निस्कन्थे । काम होस या नहोस्, एक चक्कर लगाउनुपर्ने । किन भनेर सोध्दा आँखाको विष मार्न भन्थे । साथीहरु भन्थे– आँखालाई भिटामिन सी चाहिन्छ । हरियाली हेर्दा आँखाको पावरफूल हुन्छ ।

साथीहरु भन्थे– पढ्दा आँखामा भरिने विष बगैंचातिर निस्कियो भने मर्छ । अनि म पनि घुम्न निस्कन थालेँ । घुम्न निस्कदा दिनभर म्यारिज खेलेका आँखा फ्रेस हुन्थे । म सधैजसो वागबानीतिर हेरेर बस्थेँ ताकि भिटामिन सी सिधै आँखामा आओस् ।

केही समयपछि थाहा भो आँखाको विष मार्ने हरियालीको असली अर्थ । एक साँझ साथीहरुले भने– आज हरियाली नै भएन । जबकी, मैले हेर्दा वागबानीको हरियालीमा कुनै कमी थिएन । त्यही साँझ जसोतसो थाह भो– हरियालीको अर्थ गोरी, काली, अग्लि, होची, पहाडी, मधेसी, हिमाली, घडेरी, पिछाड, मोहोडा, के–के हुँदो रहेछ । दिव्यज्ञान प्राप्त भएको क्षण वोधो दिमागले भन्यो– हैट् !

समय र संगतले दिमाग नबदलिने कुरै भएन । हरियाली चर्न र आँखाको विष मार्न प्रोत्साहित हुँदै गयो । मेरो आँखाले नयाँ–नयाँ हरियाली भेटाउँन थाल्यो । हरियाली थपिँदै र आँखाले चाहिएको भिटामिन पाउँदै जादा गीत–संगीततर्फ अलि बढी नै झुकाव बढ्न थाल्यो । गीतहरुको प्ले लिस्ट पनि यस्तो बन्न थाल्यो कि हरेक गीतमा आँखा भन्ने शब्द अनिवार्य हुनुपर्ने । जस्तो कि–

मेरो आँखालाई…
जहिलेदेखि दुई आँखा चार भो…
आँखा आँखा जुधेनी…
मेरो आँखाको भाका…
आँखामा तिमीलाई… ।

गजलहरुको उस्तै लिस्ट बन्न गयो, जहाँ केवल आँखा, नजर र हेराइ मात्र छन्–

फिंजाएर वैंश मिठो, तान्छौ तिमी नजरले
भगाएर दुख सबै, लान्छौ तिमी नजरले…

उता साहित्यमा ‘लभ त आँखैबाट पर्छ’ भन्ने लाईनहरु भेटिन थाले । त्यसपश्चात मेरो अध्ययन आँखामा केन्द्रित भो । बाटो हिंडदा पनि मान्छेका आँखा पढन थालें । मेरो पढाई, लेखाई, बुझाई, सुनाई सबै आँखा हुन थाल्यो । म आँखाको भाषा बुझ्दै, बुझाउँदै जान थालें । मेरो आँखाको विष आँखैले मार्न थालें, हिरा काटने हिरैमा राखेर जस्तै । अनि आँखाको भाका सम्बन्धी साहित्य र लेखरचना गर्न थालेँ ।

‘तपाईंले त सयौँको लभ पार्दिनु भो रे, त्योभन्दा धेरैको डिभोर्स गराइदिनु भयो रे”, बिचैमा एक पत्रकारको हमला भो, “यस्तो किन ? जनता जान्न चाहन्छन् ।’

भरत र सविनाको लभ पर्ला–पर्ला जस्तो भएको बेला साथीहरुले कन्फर्म गर्न मलाई बोलाएर तिनीहरुको आँखाको भाका बुझ्न लगाए । मैले साँच्चै प्रेम हो भनिसकेपछि उनीहरुको प्रेम जीवन सुरु भएर विवाहमा परिणत भयो । त्यसपछि मैले कैयौं जोडिहरुबीच पलाउन लागेको प्रेम कमजोर कि बबाल खालको हो भनेर खुट्याएको छु ।

‘नानु मेडमसँग पनि आँखैबाट हो रे नि त ! भन्नुस्, कति जनासँग प्रेम सम्बन्ध राख्नुभो तपाइले ?’

हरियाली खोज्ने क्रममै नानुको आँखासँग मेरो आँखा जुध्यो । मैले पहिलो हेराईमै उनको आँखामा अपार प्यार देखें । मैले प्रस्ताव गरें उनले हुन्न भनिन् । तर मैले उनको आँखाको आह्वान बुझिसकेको थिएँ । त्यसैले मैले पछ्याउन छाडिन अनि हाम्रो प्रेम भयो र पछि विवाह गर्‍यौं ।

‘आँखाको भाषा उपन्यासको रचनागर्भबारे पनि केही बताइदिनुस् न ।’

मलाई निरन्तर हेराइ, नजर, आँखाको भाव सम्बन्धी विचार गोष्ठिहरुमा तारन्तार बोलाउन थालियो । आँखाको भाव सम्बन्धी तालिमहरु दिन पनि थालें । पछि यति धेरै माग हुन थाल्यो कि म सबै ठाउँमा पुग्न असमर्थ भएँं । अनि उपन्यासमार्फत एकैपटक धेरै ठाउँमा पुग्न आँखाको भाषा लेख्या हुँ ।

अदालतभित्र बहस सुरु भैसकेको थियो । दुवै पक्षका वकिलहरुले एक से एक अकाट्य तर्कहरु तेर्साउन थाले । रमेश ज्ञवालीका वकिल आँखाको भाषा मनको रुपान्तर हुन नसक्ने जिकिर गरिरहेका थिए । उनको तर्क थियो– ‘अन्धोपन भएकाहरुले आँखाको भाषा बुझ्दैनन् तर पनि माया–प्रेम लवालव चलिरहेकै हुन्छ । त्यस्ता जोडीहरुको विछोड वा डिभोर्स पनि दुर्लभ हुन्छ । मनको कुरा आँखाले व्यक्त गर्छ भन्ने कुरा सरासर झुटो हो… ।’

आफ्नो तथ्य पुष्टिमा उनले एक से एक मजबुत जोडीहरुको उदाहरण प्रस्तुत गरे । आँखाको सम्बन्ध सिधा दिमागसँग हुने कुरामा जोड दिईरहेका उनले अन्त्यमा प्रतिवादी वकिलको बोल्ति बन्द गराउन प्रश्न समेत गरे– ‘आँखा दान लिएर हेरिरहेका मान्छेहरुको मनको प्रतिबिम्व कहाँ, कसरी देखिन्छ ?’

तर्क सुन्नेहरु स्तब्ध र अचम्मित थिए । सबैका आँखामा राजन केसी गलत र रमेश ज्ञवाली सही भन्ने भाव थियो । तर, प्रतिवादी वकिलले बलात् बिबादमा तानिएको यो वहुमुल्य उपन्यास लेख्दा राजन केसीको दिमागमा दृष्टिविहीनहरु पुर्णतः अनुपस्थित रहेको बताउँदै सरकारी वकीलको प्रश्नलाई समेत खारेज गरिदिएपछि पासा पल्टियो । राजनले मुद्धा जिते ।

अदालत भित्र र बाहिर समेत रहेको राजन केसीका फ्यानहरुको भिड न्यायाधीशले फैसला सुनाउनसाथ विजय जुलुसमा परिणत भयो । राजनलाई जुलुसले बोकेको बोक्यै घर पुर्‍यायो ।

घरमा दह्रो पार्टी चल्यो । सबै खुशीको झट्कामा थिए, त्यसमाथि मदिराको मद थपिदा उनीहरु मनको भाव आँखामा छल्काउन अक्षम रहे । बर्बराउँदै ठाउँको ठाउँ ढलेर निस्लोट हुनेको संख्या फटाफट बढ्न थाल्यो ।

अघि अपर्झट पार्टीको तयारी गर्दा नै थकित भएकी राजनकी नानु अहिले मत्थु स्याहार्दा हैरान भएकी थिईन् । अन्त्यमा, दुईटा खुट्टा टेकेर उभिन नसकेपनि सोफामा बसेर अलिअलि बोल्न सक्नेमा एकजना राजन रहे ।

उनले नानुलाई बोलाएर भने, ‘मैले भनेको थिएं नि तिमीलाई, म जसरी पनि मुद्धा जित्छु भनेर । अब मैले कसैलाई जित्न बाँकी छैन, आज म धेरै खुसी छु डार्लिङ । …तिम्रो आँखामा अझै पनि उस्तै प्यार छल्किरहेको छ । तिमी पनि कति खुसी छौ भन्ने कुरा तिम्रो आँखाले देखाइरहेको छ । तिम्रा यी दुई आँखाले नै मलाई यहा सम्म ल्याइपुर्‍यायो …।’

बोल्दाबोल्दै राजन निदाउन थाले । नानुको मन भने विक्षिप्त थियो । उनले यसअघि नै धेरै पटक डिभोर्सबारे पनि सोचेकी थिइन् ।

‘राजनजी, तपाईंले जुन मेरो मनको खुसी भन्नुहुन्छ नि, त्यो न कहिल्यै थियो, न छ, न त हुनेछ । परिस्थिति यस्तो थियो कि तपाईसँग प्रेमको नाटक र बिहे गर्न म बाध्य थिएँ । मेरो आँखाले कहिल्यै रोजेको थिएन तपाईंलाई राजनजी । जोसँग जीवन जिउने सपना थियो ऊ फरार भयो । बिरामी आमालाई छोरीको बिहे हेर्ने अन्तिम धोको थियो । त्यस्तो परिस्थितिबिच मेरो आँखासंग तपाइको आँखा जुधेको थियो । त्यो बेला मेरा आँखाहरु पुरै भावहिन थिए । उसँगको मनको सम्बन्ध टुट्नु र तपाईसँग आँखाबाट सम्बन्ध सुरु हुनु संयोग मात्र थियो । संसारले नबुझेको स्त्रीको मन तपाईं कसरी बुझ्न सक्नुहुन्छ राजनजी ?’

मनको भाषा आँखाले बुझ्ने राजन केसी भने घुर्न थालेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment