Comments Add Comment

कोरोनाविरुद्धको खोपको परीक्षणको नतिजा सकारात्मक

३१ असार, काठमाडौं । अमेरिकी कम्पनी मोडर्नासँगको सहकार्यमा नेशनल इन्स्टिच्युट अफ हेल्थले निर्माण गरेको कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोपको शुरुवाती परीक्षणको नतिजा सकारात्मक आएको बताइएको छ ।

वैज्ञानिकहरुले यो खोपको जसरी काम गर्छ भनेर शुरुमा अपेक्षा गरिएको सोही अनुसार नै यसले परीक्षणको क्रममा काम गरेको बताएका छन् । अब यो खोपको अन्तिम तथा महत्वपूर्ण परीक्षण हुन बाँकी छ । अमेरिकी वरिष्ठ संक्रामक रोग विशेषज्ञ डाक्टर एन्थोनी फाउचीले भने, ‘तपाईँहरु जतिसुकै काँटछाँट गर्नुस्, यो राम्रो समाचार हो ।’

अब यसको महत्वपूर्ण परीक्षण जुलाई २७ मा शुरु हुने अनुमान गरिएको छ । यो चरणमा ३० हजार मानिसहरुमा यो खोपको परीक्षण गरिनेछ । यो परीक्षणको क्रममा खोप वास्तवमा नै प्रभावकारी र सुरक्षित छ भन्ने कुरा सुनिश्चित गरिनेछ ।

मंगलबार शोधकर्ताहरुले ४५ मानिसमा गरिएको परीक्षणको नतिजा सार्वजनिक गरेका थिए । जुन नतिजाको विश्वभर प्रतीक्षा गरिएको थियो । त्यस्ता स्वयंसेवकहरुमा न्युट्रालाइजिङ एन्टिबडी विकास भएको थियो । जसले शरीरमा कोरोना भाइरसको संक्रमण रोक्न पनि महत्वपूर्ण भूमिका खेल्छ ।

शोधकर्ताका अनुसार परीक्षणपछि स्वयंसेवकको रगत परीक्षण गर्दा कोभिड-१९ बाट ठीक भएका मानिसमा पाइने जति नै एन्टिबडी पाइएको थियो । अब अन्तिम परीक्षणको नतिजा कहिलेसम्म आउँछ भन्ने कुनै निश्चित नभएपछि यस वर्षको अन्तिमसम्म यो परीक्षण पूरा हुने विश्वास लिइएको छ ।

यो खोप विकास भइसकेपछि कोरोना संक्रमितलाई एक महिनाको अन्तरालमा दुईपटक यो खोप दिनुपर्ने हुन्छ । अहिलेसम्म यो खोपको कुनै गम्भीर साइड इफेक्ट नपाइएको बताइएको छ ।

स्रोत : अलजजिरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment