Comments Add Comment

युभेन्ट्स ससुलोसँग बराबरीमा रोकियो

१ साउन, काठमाडौं । सुरुमै लिएको २ गोलको अग्रतालाई कायम राख्न नसक्दा इटालियन सिरी ए मा लिग लिडर युभेन्ट्स ससुलोसँग ३-३ को बराबरीमा रोकिएको छ ।

ससुलोको मैदानमा भएको खेलको छैटौं मिनेटमा डानिलोले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । १२औं मिनेटमा गोन्जालो हिग्वेनले गोल गर्दै युभेन्ट्सको अग्रता दोब्बर पारे । सुरुवाती अग्रता युभेन्ट्सले कायम राख्न सकेन । ससुलोले घरेलु मैदानमा उत्कृष्ट पुनरागमन गर्दै लगातार ३ गोल फर्कायो ।

२९औं मिनेटमा फिलिप जुरिसिसले ससुलोका लागि पहिलो गोल गर्दै गोल अन्तर कम गरेका थिए । ५१औं मिनेटमा डोमेनिको बेरार्डीले ससुलोका लागि बराबरी गोल फर्काए । त्यसको तीन मिनेटपछि नै फ्रान्सेस्को कपुटोले गोल गर्दै ससुलोलाई ३-२ को अग्रता दिलाए ।

६४औं मिनटमा एलेक्स सान्ड्रोले युभेन्ट्सका लागि बराबरी गोल फर्काए । त्यसपछि भने खेलमा थप गोल नहुँदा दुवै टोलीले बराबरी खेल्दै अंक बाँडेका हुन् ।

बराबरीपछि युभेन्ट्स ७७ अंकसहित शीर्ष स्थानमा आशिन छ । यस्तै समान खेलबाट ४७ अंक रहेको ससुलो आठौं स्थानमा छ ।

सिरी ए कै अन्य खेलमा लाजियो उडिनेसीसंग गोलरहित बराबरीमा रोकिएको छ । यस्तै नापोलीले बोलोग्नासँग १-१ को बराबरी खेलेको छ । लाजियो ३३ खेलबाट ६९ अंक जोड्दै तेस्रो स्थानमा उक्लेको छ ।

यसैगरी एसी मिलानले एक गोलले पछि परेको स्थितीमा पुनरागमन गर्दै पार्मालाई ३-१ ले पराजित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment