Comments Add Comment

अब कागजको बोतलमा ‘जोनी वाकर’ व्हिस्की

करिब २ सय वर्ष पूरानो व्हिस्की ब्राण्ड जोनी वाकर अब कागजका बोतलमा बजारमा आउँदैछ ।

विश्वको सबैभन्दा ठूलो मदिरा कम्पनी मध्येको एक डियाजियोको स्वामित्वमा रहेको जोनी वाकर ब्राण्डका व्हिस्कीलाई कागजका बोतलमा ल्याउने निर्णय कम्पनीले गरेको हो । जोनी वाकरका व्हिस्कीहरु आमरुपमा काँचका बोतलमा उपलब्ध हुने गरेका छन् ।

पर्यावरणलाई ध्यानमा राख्दै तयार गरिएको प्याकेजिङको ट्रायल सन् २०२१ मा सुरु गरिने बताइएको छ । कम्पनीले आफ्ना उत्पादनहरुमा प्लास्टिकको प्रयोग कम गर्नमा जोड दिँदै आएको छ ।

काँचका बोतल बनाउँदा त्यसमा उर्जा बढि खपत हुने र त्यसबाट कार्वन उत्सर्जन बढ्ने हुनाले कागजका बोतलमा व्हिस्की ल्याउने योजना कम्पनीले बनाएको हो । कागजका बोतल बनाउनका लागि डियाजियोले पल्पेक्स नामक एक भगिनी कम्पनी खडा गर्दैछ । उक्त कम्पनीले युनिलिभर तथा पेप्सीको लगायतका कम्पनीका लागि समेत कागजका बोतल तयार गर्नेछ ।

जोनी वाकरका कागजी बोतलहरु उड पल्प अर्थात् काठको गुदीबाट तयार गरिएको कागजबाट बन्नेछन् । ती बोतलहरुलाई प्रयोगपछि पुनःचक्रण गर्न सकिनेछ । ग्राहकहरुले पेपर बोतललाई रिसाइकल गर्नका लागि सिधै कम्पनीमा पठाउन सक्ने बताइएको छ ।

स्मरण रहोस् पछिल्लो समय वातावरण प्रदुषण कम गर्ने प्रयोजनका लागि पेय कम्पनीहरुले कागजी बोतल बनाउने कुरामा जोड दिइरहेका छन् ।

बियर कम्पनी काल्र्सबर्गले पनि पेपर बोतल उत्पादनको प्रक्रिया सुरु गरिसकेको छ ।

तर दुनियाको सबैभन्दा ठूलो पेय उत्पादन कम्पनी कोका कोलाले भने आफुले प्लास्टिकको बोतलको प्रयोग बन्द नगर्ने जनाएको छ । प्लास्टिकका बोतलहरु ग्राहकले खुबै रुचाउने गरेको कम्पनीको दाबी छ ।

विश्वमा पेय पदार्थको प्याकिङमा अत्यधिक प्लास्टिकको प्रयोगका कारण पर्यावरण विनास भैरहेको भन्दै वातावरणवादीहरुले प्लास्टिक प्रयोग कम गर्न सुझाव दिइरहेका छन् । एक अनुमान अनुसार केवल युरोपमा मात्रै सन् २०१८ मा खाद्य तथा पेय पदार्थको प्याकिङमा ८२ लाख टन प्लास्टिकको प्रयोग गरिएको थियो । बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment