Comments Add Comment

ओके बहसः ‘छक्का पन्जा’ टिमले आफूलाई ब्रान्डको दाबी गर्ने बेला भएको छैन’

राजेश हमाल आफैँमा ‘ब्रान्ड’हो, ‘महानायक’ उपाधि किन चाहियो ?

कोभिड-१९ का कारण नेपाली चलचित्र क्षेत्र प्रभावित छ। चलचित्र क्षेत्रले गति कहिलेबाट लिन्छ, भन्न सकिने अवस्था छैन । अन्यौलग्रस्त यो क्षेत्रमा लकडाउनका समयमा कलाकारका थुप्रै विवाद पनि सार्वजनिक भए । अनलाइनखबरको ‘ओके बहस’मा हामीले चलचित्र समीक्षकद्वय दीपेन्द्र लामा र सामिप्यराज तिमिल्सनासँग विभिन्न विषयमा बहस गरेका छौं ।

१. नेपाली सिनेमाले कोभिडको समस्या कहिलेसम्म भोग्ला ?

दीपेन्द्र लामाः नेपाली चलचित्र पुरानै बाटोमा आउन त हल पनि खुल्नुपर्छ । यसका लागि हलिउड र बलिउडका चलचित्र पनि रिलिज हुनुपर्छ । यसैले नेपाली चलचित्रको बजार अन्तर्राष्ट्रिय बजारसँग जोडिएको छ । मेरो बुझाइमा ५–६ महिना लाग्छ ।

सामिप्यराज तिमिल्सिनाः चलचित्र क्षेत्रलाई चलायमान बनाउने विषयमा अहिले हामीमात्र होइन, विश्व नै लागेको छ । भारतमा पनि सुटिङको काम सुरु भइसकेको छ । हाम्रोमा म्युजिक भिडियोको छायाङ्कन त भइरहेको छ । चलचित्र हल नखुलेसम्म सिङ्गो चलचित्र क्षेत्र चलायमान हुन गाह्रो छ । तर यसका लागि हरेक देशले पनि गाइडलाइन बनाउनुपर्छ ।

२. कोरोनाका कारण अब ठूलो बजेटमा चलचित्र बनाउने अवस्था पनि छैन होला । अब, चलचित्रले कस्तो कथा भन्नुपर्छ भन्ने लाग्छ ?

दीपेन्द्रः लकडाउनको समयमा नेपाली दर्शकले विदेशी चलचित्र धेरै हेरेका छन् । दर्शकको चलचित्रको विषयलाई लिएर जुन चाहना बढेको छ, यो हाम्रा लागि पनि चुनौतीको कुरा हो । दर्शकले विश्व बजारमा कस्तो खालको चलचित्रको निर्माण भइरहेको छ भन्ने जानकारी पाएका छन् । यसैले हामीले जस्तो खालको चलचित्र पहिले बनाउँथ्यौं, अब पनि उस्तै बनायौं भने गाह्रो हुन्छ।

सामिप्यराजः कोरोना अगाडि पनि नेपाली चलचित्रको निर्माणको संख्या र सफलताको संख्यामा ठूलो अन्तर थियो । हाम्रोमा निरन्तर चलचित्र हेर्न जाने दर्शकको संख्या निकै कम छ । चाडपर्व वा कुनै चलचित्रका लागि आउनु भनेको अर्को कुरा हो । कोरोना अगाडि पनि हामी फाइदामा काम गरिरहेका थिएनौं । यसैले अब कम बजेटमा राम्रो चलचित्र बनाउन आवश्यक छ भन्ने लाग्छ । धेरै निर्माताहरू विदेशबाट पनि कमाउँछौं भन्ने सोच राख्थे । तर अब केही वर्ष यसमा ठूलो धक्का लाग्ने देखिएको छ। हामीले पहिलेदेखि नै भन्दै आएका छौं कि कम बजेटमा स्तरीय चलचित्र भन्ने शैली अपनाउनुपर्छ । अब त झन् यो कुरा बहसमा आएको छ।

३. अब अर्को प्रसंगमा जाऔं । लकडाउनको समयमा ‘महानायक’ बहस खुबै चर्कियो । राजेश हमाल ‘महानायक’ हुन् या होइनन्, ‘महानायक’को मापदण्ड के हो त ?

दीपेन्द्रः नेपाली चलचित्रमा राजेश हमाल, भुवन केसी, शिव श्रेष्ठको योगदान ठूलो छ । कुनै पनि उपाधि कुनै व्यक्तिलाई दिनका लागि मापदण्ड यही नै हो भन्ने छैन । तर मेरो असहमति भनेको ‘महानायक’ उपाधिमा हो । चाइनिज, कोरियन, हलिउड चलचित्रलाई ‘महानायक’ नचाहिने, हामीलाई मात्र चाहिने ? भोलि हामीले कसैलाई ‘महानायक’ बनाइदियौं तर ‘महानायक’को चलचित्र कस्तो रहेछ भनेर हेर्यौं भने त लाजमर्दो नै छ ।

सामिप्यः पक्कै पनि हामीले उपाधि दिएका मानिसहरूको चलचित्र हेर्दा १० मिनेट पनि टिक्न गाह्रो छ । मलाई के लाग्छ भने, सबै चिजहरूको अर्थ राजनीति हुन्छ । केही चलचित्रमा अनमोल केसीलाई ‘मेघास्टार’, दयाहाङ राइलाई ‘सुपरस्टार’ भनेर लेखियो । जब कुनै कलाकारको टाउको बिक्न थाल्छ नि, तब बजारले उसलाई नजिक बनाउन खोज्छ । निश्चित मानिसले फाइदा लिनका लागि यी सबै कुराहरूको डिजाइन गर्छ । राजेश दाइको मुद्दामा पनि भएको त्यही हो, केही मानिसलाई उहाँसँग नजिक भएर फाइदा लिनु थियो । होइन भने संसारलाई नचाहिने, हामीलाई मात्र किन चाहिने ? अहिले हामीले खुबै कमायो भनेर हल्ला फिजाएको चलचित्र एउटा स्मार्ट दर्शकले १० मिनेट पनि हेर्न सक्दैन ।

जसको चलचित्र हामी १० मिनेट हेर्न सक्दैनौं, उसलाई किन पदवी चाहियो भन्ने हो ? उहाँहरूले चलचित्र क्षेत्रका लागि जे गर्नुभयो, त्यसको म विरोधी होइन । उहाँहरूले बनाइदिएको बाटोकै कारणले त आज हामीले पनि यहाँ चलखेल गर्न पाएका छौं ।

कसैले व्यक्तिगत रूपमा त विभिन्न पद दिन पाइएला । तर एक जनाले भन्यो भन्दैमा सबैले भन्नैपर्छ भनेर जबरजस्ती गर्नु गलत हो । राजेश हमाललाई पनि आफूलाई जबरजस्ती ‘महानायक’ भनाउँदा मज्जा आएको छ जस्तो लाग्दैन । राजेश हमाल आफैँमा एउटा ब्राण्ड हो नि । उहाँको अगाडि पछाडि केही जोड्नपर्छ भन्ने छैन ।

३. यहाँ ब्राण्डको कुरा निस्कियो ? नेपाली चलचित्रमा समय-समयमा ब्राण्डका कुरा निस्किन्छ ? दीपकराज गिरीले पनि ‘महानायक’ एउटा ब्राण्ड, ‘छक्का पन्जा’ अर्को ब्राण्ड भन्नुभयो ? कलाकारहरूले गाली खायो भने फेक आइडीको बहाना बनाउँछन् ? यसबारेमा के भन्नुहुन्छ ?

दीपेन्द्रः फेक आइडी बनाउने चलन त यहाँ छ । कलाकारहरूले पनि फेक आइडी बनाएर फ्यान देखाउने चलन पुरानै हो । राजेश हमाल र दीपाश्री निरौलाको मुद्दामा चाहिँ मैले कुन आइडी फेक भनेर हेर्न पाएको छैन । गाली खान त हामी तयार हुनुपर्छ । मैले त समीक्षकको काम गर्दा २० वर्षदेखि गाली नै खाइरहेको छु । अरूलाई आलोचना गर्न पाइन्छ भनेजस्तै आफूले पनि गाली खान तयार हुनुपर्छ ।

सामिप्यः नेपाली चलचित्रलाई आफ्नो विषयवस्तुभन्दा पनि मिडिया प्रचारको लोभ बढी भयो । चलचित्र बनाउनेहरूलाई प्रचारका लागि फेसबुक पेजको पनि साहारा लिनुपर्‍यो। अहिले दीपकराज गिरीले जुन फेक आइडी भन्नुभएको छ, उहाँहरू तिनै व्यक्तिहरूसँग घाँटी जोडेर हिँड्नुभएको थियो । हामी यति धेरै देखावटी प्रचारमा मग्न भयौं कि ती चिजलाई बढावा दिँदा आफूलाई अहिले घाटा भइरहेको छ । आफ्नो विषयवस्तु बलियो छ भने त न कुनै आइडीको साहारा लिनुपर्छ न त मिडियो प्रचारबाजी नै चाहिन्छ।

दीपेन्द्रः हामीले कुनै पनि कुरालाई प्रतिक्रिया दिँदा सभ्य भाषामा पनि गाली गर्न सकिन्छ नि होइन ? तर सामाजिक सञ्जालमा निकै उच्छृङ्खल किन बन्ने भन्ने विषयमा बहस गर्नु आवश्यक छ । राजेश हमालको पक्षमा लेख्नुहुने फ्यानहरूले के बिर्सनु भयो भने, हमाल भनेको निकै आर्दशवादी मानिस हो । तर उहाँको फ्यानले लेख्दा निकै असभ्य व्यवहार देखाउनु भयो । हमालले पनि हेर्नुभयो भने आफ्ना फ्यान देखेर निराश नै हुनुहुन्छ होला सायद ।

सामिप्यः तपाईंले अघि जुन ब्राण्डको कुरा गर्नुभयो नि, अहिले त हामी राजेश हमालले २५–३० वर्ष यो क्षेत्रमा योगदान गर्दा त ‘महानायक’को ब्राण्डमाथि प्रश्न उठाइरहेका छौं भने दीपकराज गिरी र उहाँको टिमले ‘छक्का पन्जा’ ब्राण्डको दाबी गर्ने बेला भएको छैन । अझै २५–३० वर्ष हेरौं, यसपछि ब्राण्डको विषयमा कुरा गरौंला ।

४. तपाईंहरू दुवैजना समीक्षक हुनुहुन्छ । चलचित्रकर्मीहरूले लगाउने आरोप के छ भने समीक्षकहरूले चलचित्रभन्दा पनि चलचित्र बनाउने मानिस र टिम हेरेर समीक्षा गर्नुहुन्छ भन्ने आरोप छ ? के साँच्चै समीक्षा गर्ने तरिका यस्तै हो ?

दीपेन्द्रः चलचित्र समीक्षा भनेको एउटा राजनीति नै हो । कस्तो चलचित्रलाई प्रमोट गर्दा चलचित्र क्षेत्रलाई फाइदा हुन्छ र कस्तोलाई प्रमोट गर्दा बेफाइदा हुन्छ भनेर समीक्षा गर्नुपर्छ । चलचित्र क्षेत्रलाई घाटा पुर्‍याउने चलचित्रलाई त निरुत्साहन नै गर्नुपर्छ ।

५. तर, हामीले वार्षिक समीक्षा गर्दा त समीक्षकले झुर भनिदिएका चलचित्रले हाम्रो बक्स अफिसको इज्जत धानिदिएका छन् । चलचित्र क्षेत्रलाई नै धानेका चलचित्रलाई किन समीक्षकले उछितो गर्छन् त ?

दीपेन्द्रः नेपालमा एकदमै गलत भइरहेको छ । वार्षिक समीक्षा गर्दा, बक्स अफिसका आधारमा गर्नु गलत हो । टाइम्स म्यागेजिनलाई हेर्नुभयो भने उनीहरूले उत्कृष्ठ चलचित्रको आधारमा गर्छन्।

६. तर चलचित्र बनाउनेहरू त चलचित्र क्षेत्रलाई नै चलायमान बनाउने चलचित्रमाथि समीक्षकले विभेद गरे भनेर आरोप लगाउँछन् नि ?

सामिप्यः हामीले चलचित्र क्षेत्रलाई दौडाउने चलचित्र भनेर बनाउन थालेको त ५० वर्ष भइसक्यो, तर खै त दौडिएको यो क्षेत्र ? अहिले पैसा कमाउने चलचित्रको संख्या घटेर १० बाट २/३ वटामा आइसकेको छ त । समीक्षकले पैसा कमाउने, स्टार भएको चलचित्र भनेर कहिले पनि हेर्दैन । समीक्षकले चलचित्रले दिन खोजेको नयाँपन र त्यसको क्यानभास सबैलाई हेर्छ। हामी व्यक्ति हेर्दैनौं । कमाउने चलचित्र व्यापारिक रूपमा सफल होला तर चलचित्रको भाषामा त्यो चलचित्र राम्रो छैन भने राम्रो छ भनेर समीक्षा गर्न मिल्दैन । यो आफ्नो आफ्नो चेतको कुरा हो ।

दीपेन्द्रः व्यक्ति हेरेर समीक्षा गरिँदैन । किनकि मैले समीक्षा गर्दा कमजोर चलचित्र बनाउनेलाई गाली गरे पनि राम्रो चलचित्र बनाउँदा प्रशंसा नै गरेँ । निश्चलको ‘लुट’ रिलिज हुँदा हामीले प्रशंसा गरेका थियौं । तर निश्चलले ‘लुट २’ बनाउँदा समीक्षकले आलोचना गरे । अनि उहाँले पनि समीक्षकलाई नै गाली गर्नुभयो ।

सामिप्यः धेरैलाई लाग्छ कि समीक्षक बहकिने गर्छन् । तर कप्युटर अगाडि बसेर काम गर्दा त्यस्तो लाग्दैन । व्यावसायिक चलचित्र बनाउनेलाई दर्शकले किन मन पराए भन्ने त लाग्छ नि । तर हाम्रो चलचित्र मेकर भनेका कुवाको भ्यागुतो नै हुन् के । उहाँहरू नेपालको दुनियाँबाट बाहिर निस्कनुभएको छैन । यसैले आफ्नो चलचित्र उत्कृष्ठ भन्ने भ्रम उहाँहरूलाई छ ।

प्रस्तुतिः विजय ‘आवाज’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment