Comments Add Comment

कोरोना पोजेटिभ रिपोर्ट आएको २ घण्टामै मृत्यु

लकडाउन अवधीभर भारतमै बसेर आएका थिए सप्तरीका कोरोना संक्रमित मृतक

२ साउन, सप्तरी । कोरोना संक्रमणबाट शुक्रबार मृत्यु भएका सप्तरीका ७३ वर्षीय पुरुष मुटुका बिरामी थिए । उपचार गराउन बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पुगेका उनको बिहीबार राति त्यहीँको आइसोलेसनमा मृत्यु भएको हो ।

राजविराजस्थित घरमा स्वासप्रश्वासमा समस्या भएपछि उनलाई परिवारजनले गत मंगलबार धरान लगेका थिए । चिकित्सकले कोरोना संक्रमण परीक्षण विना अन्य उपचार अगाडि नबढाउने बताएपछि उनको नमुना परीक्षण गरिएको थियो ।

बिहीबार राति उनमा कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आयो । ‘८ बजे रिपोर्ट आएको छ, १० बजेतिर उहाँको मृत्यु भएको छ’ उनका निकट एक व्यक्तिले भने, ‘कोरोना लागेको जानकारी पाएलगत्तै त्यहीं त्रासले उनको मृत्यु हुन सक्छ ।’

उनी मुटुका बिरामी थिए । यसअघि दुई पटक मुटुको शल्यक्रिया गरिएको थियो । राजविराज नगरपालिका–६ का वडा अध्यक्ष प्रेम यादवका अनुसार पिसाब नलीमा पनि समस्या देखिएपछि त्यो नलीको पनि शल्यक्रिया गरिएको थियो । त्यस्तै, उनको घाँटीमा पनि समस्या थियो ।

मृत्यु भएका ती व्यक्ति सप्तरी सदरमुकाम राजविराजका व्यवसायी हुन् । उनी आफ्ना श्रीमती, कान्छा छोरा, बुहारी र नाती, नातिनीसँग बस्दै आएका छन् ।

लकडाउनभरि भारतमै थियो उनको परिवार

फागुन २०७६ मा ती व्यवसायीको पत्नी बिरामी परेकी थिइन् । उनलाई उपचार गराउन होली पर्व सकिएलगत्तै भारत गएका थिए । उनीसँग उनका श्रीमती, छोरा, बुहारी र नाती, नातिना सबै भारत नै गएका थिए । उनका जेठा छोरा भने भारतकै भोपालमा बस्दै आएका छन् ।

उनका निकट व्यक्तिहरुका अनुसार दरभंगादेखि दिल्लीसम्म पुगेर उनले श्रीमतीको उपचार गराएका थिए । श्रीमतीको उपचार गराए पश्चात लकडाउनकाबीच उनको परिवार भारतमै बसेका थिए । उनी १३ दिनअघि मात्रै घर आएको वडा अध्यक्ष यादवले बताए ।

‘पुरै परिवार १३ दिनअघि आएर होम क्वारेन्टिनमा बसेका थिए’ वडा अध्यक्ष यादवले भने, “मंगलबार सास फेर्न गाह्रो भएपछि धरान लगिएको थियो ।’

कोशी व्यारेजमा अन्तिम संस्कार

कोरोना लागेर मृत्यु भएका उनको अन्तिम संस्कार कोशी व्यारेजमा गरिएको छ । धरानबाट नेपाली सेना, नेपाल प्रहरीको सहयोगमा शव कोशी व्यारेजसम्म ल्याइएको वडा अध्यक्ष यादवले बताए ।

यहाँ उनको छोरालाई मात्रै जान दिइएको छ ।

सबै कर्मचारीको स्वाब संकलन

मृत्यु भएका व्यक्तिको राजविराजमा पसल छ । ती पसलमा काम गर्ने ६ जना कर्मचारीको स्वाब संकलन गरिएको वडाअध्यक्ष यादवले बताए ।

‘यी व्यक्तिहरु उनको सम्पर्कमा गएको देखिएपछि शुक्रबार उनीहरुको स्वाब संकलन गरी परीक्षण गर्न दिएका छौं’ उनले भने, ‘परिवारका व्यक्तिको पनि स्वाब संकलन गरिनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment