Comments Add Comment

अधिग्रहणका लागि पुनः सूचना प्रकाशित गर्न रेलमार्ग प्रभावितको माग

२ साउन, विराटनगर । पूर्व पश्चिम रेलमार्ग निर्माणका लागि सरकारले अधिग्रहण गर्ने जग्गाको कित्ता नम्बर पुरानो प्रकाशित गरेपछि प्रभावित क्षेत्रका बासिन्दाले पुनः सूचना प्रकाशित गर्न माग गरेका छन् ।

प्रस्तावित रेलमार्गमा पर्ने मोरङको बेलबारी नगरपालिका– ९ र १० का स्थानीयले अधिग्रहण गर्ने क्षेत्रको जग्गा नयाँ कित्ता नम्बरसहित पुनः प्रकाशित गर्न माग गरेका हुन् ।

शुक्रबार मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेललाई ज्ञापन पत्र बुझाउँदै स्थानीयले पुन सूचना प्रकाशित गर्दै चलनचल्तीको रेट अनुसार अग्रिम मुआब्जा भुक्तानी गरेर काम अघि बढाउन आग्रह गरे ।

प्रस्तावित रेलमार्गमा बेलबारी ९ र १० का १२५ स्थानी प्रभावित हुनेछन् । केही स्थानमा बस्तीबाट नै रेलको लिक प्रस्ताव गरिएकाले चलनचल्ती अनुसार अग्रिम मुआब्जा दिन आग्रह गरेको रेलमार्ग विस्थापित समन्वय तथा संघर्ष समितिका संयोजक महानन्द पोखरेलले बताए ।

उनले नयाँ कित्ता नम्बरसहित पुनः सूचना प्रकाशित गर्नुपर्ने, चलनचल्ती अनुसार मुआब्जा पाउनुपर्ने, अव्यवस्थित बसोबास गरेकालाई पनि मुआब्जामा समेट्नुपर्ने र रेलमार्गसँग जोडिने टुक्राटाक्री जग्गा पनि राज्यले नै अधिग्रहण गर्नुपर्ने बताए । सरकारी मूल्याङ्कन अनुसार मुआब्जा दिँदा प्रभावितलाई अन्याय हुने उनीहरुको गुनासो छ ।

प्रदेश १ मा रेल : विराटनगरबाट इटहरी, इनरुवाबाट काँकडभिट्टा

रेल विभागले प्रदेश १ मा प्रस्ताव गरेको रेलको लम्बाई १२६ किलोमिटर छ । विराटनगर–इटहरी लिङ रेलवेज २०.१६ किलोमिटर र इनरुवा काकडभिट्टा रेलवेजको लम्बाइ भने १०६.५९ किलोमिटर प्रस्ताव गरिएको छ ।

जम्मा १२६. ७५ किलोमिटर रेलवेज निर्माणको अनुमानित लागत ९० अर्ब दुई करोड, ८२ लाख ८६ हजार छ ।

पूर्व पश्चिम रेलवेज निर्माण गर्दा ६ सय ३५. ७७ हेक्टर जग्गा अधिग्रहण हुनेछ । सो मध्ये ५ सय १२ हेक्टर खेती योग्य जमिन र १९.६० हेक्टर वन क्षेत्र र ३३ हेक्टर घनाबस्ती क्षेत्रमा पर्छ । पूर्व पश्चिम राजमार्गबाट दुई किलोमिटर दक्षिण हुनेछ ।

इनरुवा बजारको जनता चोक नजिकैबाट सुरु हुने रेलवेज पूर्व पश्चिम राजमार्गको २ किलोमिटर दक्षिण हुँदै काँकडभिट्टासम्म पुग्नेछ । काकडभिट्टामा मेची नदीबाट २ किलोमिटर भित्र अन्तिम स्टेशन बनाउने प्रस्ताव गरिएको छ ।

इनरुवादेखि काडभिट्टासम्म १० वटा र विराटनगरबाट इटहरीसम्म एक स्टेशन निर्माणको प्रस्ताव गरिएको छ ।

भारतीय सहयोगमा बथनाहदेखि कटहरीसम्म रेलवेज निर्माणको काम जारी छ । नेपाल सरकारले निर्माण गर्ने लिङक रेलवेज भने कटहरी हात्तीमुडा हुँदै इटहरी स्टेशनसम्म लगेर जोडिनेछ ।
प्रस्तावित रेल्वेजले तीन जिल्लाका १८ स्थानीय तहलाई छुनेछ । पूर्व पश्चिम राजमार्ग पश्चिम झापाको तीन वटा, मोरङका नौं वटा र सुनसरीका तीनवटा स्थानीय तहलाई छुने रेल विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment