Comments Add Comment

सिन्धुपाल्चोकका पहिरो पीडितको घर प्रदेश सरकारले बनाइदिने

२ साउन, हेटौंडा । सिन्धुपाल्चोकमा बाढी पहिरोका कारण पूर्णरुपमा क्षति भएका घरहरु प्रदेश सरकारले निर्माण गरिदिने भएको छ ।

स्थानीय तहले उपलब्ध गराउने जग्गामा प्रदेश सरकारले पीडितहरुका लागि घर निर्माण गरिदिने बागमती विपद् व्यवस्थापन निर्देशक समितिको शुक्रबार बसेको बैठकले निर्णय गरेको हो ।

सिन्धुपाल्चोकका बाढी पहिरो पीडितहरुलाई तत्काल राहत पनि उपलब्ध गराउने भएको छ ।मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले क्षतिको अवस्था हेरी तत्काल स्थानीय तहमार्फत राहत उपलब्ध गराउन लागेको हो ।

समितिले बाह्रबिसे नगरपालिकामा ३० लाख, भोटेकोशी गाउँपालिकामा १५ लाख र जुगल गाउँपालिकामा १० लाख रुपैयाँ राहत रकम उपलब्ध गराउने निर्णय भएको मुख्यमन्त्री पौडेलले बताए । सो रकमबाट स्थानीय तहले कार्यविधि अनुसार राहत, घाइतेको उपचार, पुर्नस्थापनालगायतका काम गर्न सक्नेछ ।

यसअघि प्रदेश सरकारले मृतकका परिवारलाई राहतस्वरुप एक लाख रुपैयाँ दिने घोषणा गरेको रकम पनि तत्काल उपलब्ध गराइने समितिले जनाएको छ । आइतबारसम्म राहत रकम स्थानीय तहमा पठाइने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

शुक्रबार नै बसेको समितिको बैठकले समितिमा ३ जना प्रदेश सभा सदस्यलाई मनोनित गरेको छ। समितिका सदस्यहरुमा राजेन्द्रमान श्रेष्ठ, छिरिङ दोर्जे लामा र इन्द्रमाया गुरुङलाई मनोनित गरिएको आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकाराम जम्कट्टेलले जानकारी दिए ।

बैठकमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता इन्द्र बानियाँलगायत मन्त्रालयका सचिवहरुको पनि सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment