Comments Add Comment

पन्ध्र घण्टापछि खुल्यो बुटवल–तानसेन सडक

५ साउन, बुटवल । पहिरोका कारण अवरुद्ध सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडक खण्ड पन्ध्र घण्टापछि खुलेको छ । तानसेन नगरपालिका–८ मा पर्ने गौडेपुल नजिकै आइतबार राति आठ बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो ।

सोमबार बिहानदेखि दुईवटा एक्साभेटर र लोडरले पहिरो हटाएपछि साढे ११ बजेदेखि सवारी साधन चल्न थालेका जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायब उपरीक्षक मदन गिरीले बताए ।

उक्त स्थानमा एक सातादेखि पहिरो खस्न शुरु भएको थियो । शुक्रबार राति ठूलो मात्रामा खसेको पहिरोले दुई दिन सवारी साधन सञ्चालन र पैदल यात्रासमेत ठप्प भएको थियो ।

पहिरोले राजमार्गको बेसलाइन नै बगाएको थियो । आइतबार सडक खुलेको तीन घण्टापछि पुनः पहिरो खसेर सडक अवरुद्ध भएको थियो । सडक खुलेसँगै गन्तव्यतर्फ लागेका डीएसपी गिरीले बताए ।

झण्डै तीन सय मिटर माथिबाट खसेको पहिरोको अवशेष सडकको माथिल्लो भागमा अझै रहेकाले उक्त पहिरोको क्षेत्रमा यात्रा गर्दा सावधानी अपनाउन जिल्ला प्रहरी कार्यालय पाल्पाले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment