Comments Add Comment

नेपालमा अझै पाँच दिन भारी वर्षा हुने

५ साउन, काठमाडौं । नेपालमा पाँच दिनसम्म भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । नेपाली आकाशमाथि न्यून चापीय रेखा आएर बसेको र यो नहटेसम्म वर्षात जारी रहने महानिर्देशक सरजुकुमार वैद्यले बताए ।

बैद्यले ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तलाई ब्रिफिङ गरेअनुसार प्रदेश–१, प्रदेश–२, बागमती, गण्डकी, प्रदेश–५ र सुदूरपश्चिम प्रदेशमा घना वर्षा भइरहेको छ ।

पछिल्लो २४ घण्टामा मुलुकको अधिकांश स्थानमा एक सय मिलिलिटर वा सोभन्दा बढी पानी परिरहेको छ । यो अझै बढेर २ सय मिलिलिटर पुग्ने सम्भावना छ । न्यून चापी रेखा पश्चिमबाट पूर्वतिर सरेकाले पूर्वपहाडी क्षेत्रमा अत्याधिक वर्षाको सम्भावना रहेको विभागका महानिर्देशक वैद्यले बताए ।

उनका अनुसार ९ साउनपछि मात्र क्रमशः पानी पर्ने क्रम कम भएर जानेछ ।

२४ घण्टामा कहाँ पर्‍यो धेरै पानी ?

विभागका महानिर्देशक वैद्यका अनुसार पछिल्लो २४ घण्टामा बाराको कोल्दीमा सबैभन्दा बढी १ सय ६९ मिलिमिटर पानी परेको छ । यस्तै नवलपुरको डण्डामा १ सय ५०.६, तनहुँको श्याम्घामा १४८.८ तथा गोरखामा १४०. २ मिलिमिटर पानी परेको छ । ‘यो पछिल्लो २४ घण्टाको विवरण हो’, वैद्यले भने, ‘यो अझै बढ्छ र धेरै स्थानमा २०० मिलिमिटरसम्म पानी पर्छ ।’

नारायणीले खतराको तह नाघ्यो

चितवनको देवघाटस्थित नारायणी नदीमा पानीको सहतले खतराको तह पार गरेको छ । जलसतह ८ मिटर नाघेपछि खतराको तह पार हुनेमा ९ मिटरमाथि पुगिसकेको छ । वर्षात नरोकिएकाले जल सतह थप बढ्ने अनुमान गरिएको छ । नारायणघाटको पुलमा जलसतहले सतर्कताको तह पार गरेको छ । खतराको तह पार गरेको स्थानका तल्लोटतीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

पूर्वनपलपरासी र चितवनका तल्लो तटीय क्षेत्रमा बाढीको उच्च जोखिम रहेकाले सतर्क रहन भनिएको छ ।

कोशी कोशी नदीमा सतर्कताको तह पार गरेकाले भोलिसम्म खतराको तह पार गर्न सक्ने अनुमान गरिएको छ । यस्तै कमला, कन्काई, बागमती र ती नदीका सहायक नदीमा बाढीले खतराको तह पार गर्न सक्ने अनुमान विभागले गरेको छ ।

यो वर्ष कात्तिकसम्मै मनसुन रहने सम्भावना छ । सामान्यतया असारमा सुरु भएर असोजमा सकिने भएपनि यो वर्ष झण्डै एक महिना लसिम्ने देखिएको विभागले जनाउको छ । ‘सामान्यत मनसुनको चार महिनामध्ये असारको आधाआधीदेखि भदौ आधाआधीसम्म पानी बढी पर्ने समय हो’, महानिर्देशक वैद्यले भने, ‘तर यो पटक मनसुनको सुरुदेखि नै अत्याधिक पानी परिरहेको छ ।’

मन्त्री पुनले भने बाढीपहिरोको सूचनालाई थप प्रभावकारी बनाउन अधिक वर्षात नरोकिएसम्म हरेक दिन मिडिया ब्रिफिङ गर्न विभागलाई निर्देशन दिनुभयो । विभागले बिहान ११ बजे सामाजिक दूरी कायम गर्दै मिडिया ब्रिफिङ गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment