Comments Add Comment

कोरोनाको जोखिम मूल्याङ्कन विधि, प्रयोग र उपयोगिता

डा. ऋषिराम अधिकारी (लेखक)

सन् २०१९ को अन्त्यतिरबाट सुरु भएको कोभिड-१९ महामारीले विश्वभर झण्डै ६ लाखको ज्यान लिइसकेको छ । महामारीले मानवीयसँगै धेरै आर्थिक क्षति समेत गराएको छ । कैयौं कम्पनीहरू बन्द हुन पुगे भने दशौं लाखले रोजगारी गुमाए । धेरै देशहरूले यो महामारीबाट जनतालाई जोगाउनेसँगै आर्थिक अवस्था थप बिग्रिन नदिन अनेकौं उपायहरू अवलम्बन गरिरहेका छन ।

महामारी सुरु भएको वुहानमा यसको केस देखिँदा सायदै यसले विश्वभरि महामारीको रूप लिन्छ भनेर सोचिएको थियो । वुहानमा हजार संक्रमित भेटिँदा र केहीको मृत्युसमेत हुँदा पनि विश्वले अहिलेको क्षतिको कमैले आकलन गरेका थिए होला । त्यसैले त धेरै पश्चिमा सञ्चारमाध्यमहरूले लकडाउनका कारण स्वतन्त्रता हनन् भएको भन्दै ब्याख्या गरे।

चीनपछि इटालीहुँदै युरोपमा फैलिँदा यसले महामारीको रूप लियो र मुख्यत: सबैभन्दा राम्रो स्वास्थ्य सेवा भएको भनिएका युरोपेली राष्ट्रहरूलाई नै यसले नराम्रोसँग असर पार्‍यो । युरोपमा यसको असर केही कम हुँदै जाँदा लकडाउन खुकुलो हुँदै गयो ।

अबको परिवर्तित अवस्थामा स्थानीय निकायहरूलाई आफ्नो क्षेत्रको जोखिम हेरेर निर्णय लिन भनिएको छ । अगस्ट १ तारिकबाट बेलायतले करिब सबैजसो सेवाहरू खोल्ने घोषणा गरेको छ तर सँगै स्थानीय सरकारहरू आवश्यकताअनुसार क्षेत्रगत लकडाउन गर्न स्वतन्त्र छन् ।

अमेरिकी राष्ट्रपतिको यो महामारीप्रति फरक धारणा छ । जसले जनस्वास्थ्यभन्दा अर्थतन्त्रलाई बढी ध्यान दिए । अमेरिकाले तुलनात्मक रूपमा धेरै क्षति व्यहोर्नुमा यसलाई पनि एउटा मुख्य कारण मानिएको छ । जहाँ हालसम्म एक लाख ४० हजारभन्दा धेरैले ज्यान गुमाइसके भने ३७ लाखभन्दा धेरै संक्रमित भइसकेका छन् । महामारीको केही समयसम्म केस तथा मृत्युको संख्यामा युरोपियन देशहरू माथि थिए । तर पछिल्ला दिनमा अमेरिकासँगै ब्राजिल, भारत, रसिया र पेरूमा धेरै केसहरू देखिँदै आएका छन् ।

नेपालमा हालसम्म देखिएका केसहरूको संख्या र मृत्युदर हेर्दा त्यति धेरै असर नपरेजस्तो पनि देखिन्छ । जहाँ धेरैजसो केसहरू देशबाहिरबाट आएकाहरूमा देखियो । संसारभर सरदर ४.२३% मृत्युदर रहेको अवस्थामा नेपालमा यस्तो दर जम्मा ०.२३% (१८ गुणा कम) मात्र रहेको छ । यसरी मृत्यु संख्या कम देखिनुमा हाम्रोमा देखिएको केसहरू धेरैजसो कम उमेर समूहको हुनु पनि हो ।

श्रावण २ गतेसम्मको तथ्याङ्क हेर्दा नेपालमा देखिएका केसहरूमध्ये ८४% भन्दा धेरै ४० वर्षभन्दा कम उमेर समूहका छन् । जसको जोखिम तुलनात्मक रूपमा माथिल्लो उमेर समूहको भन्दा कम छ । सुरुका केही महिनाको विभिन्न ६ वटा देशहरूको मृतक संख्यालाई लिएर गरिएको अध्ययनले उमेर समूह बढ्दै जाँदा मृत्यु दर घातक (exponential) रुपमा बढ्दै जाने देखाएको छ । यससँगै सम्बन्धित व्यक्तिहरूमा हुने विविध दीर्घरोगहरूका कारण जोखिम बढ्छ । कुनै पनि दीर्घरोग नभएका, कोरोनाकै कारणमात्र मृत्यु भएकाहरूको संख्या करिब १०% हाराहारी रहेको देखिन्छ।
यो अध्ययनको विस्तृत जानकारी यहाँ उपलब्ध छ।

यस अध्ययनलाई आधार मानी हेर्दा यदि पोजेटिभ केस देखिएका सबैमा कुनै न कुनै दीर्घरोग रहेको हुन्थ्यो भने उमेर समूहको आधारमा जोखिम मूल्याङ्कन गर्दा करिब १६३ जनासम्मको मृत्यु हुनसक्ने देखाउँछ । यसो हुँदा पनि अहिलेको ४० जनाको मृत्यु भनेको करिब एक चौथाइमात्रै हुन्छ ।

उमेर समूहमा भएको मृत्यु र केसहरूको अनुपातलाई सापेक्षित अनुपातमा लैजाँदा (सबैभन्दा ठूलो संख्यालाई १०० बनाउँदा) देखाएको डाटा र माथि भनिएको अध्ययनले देखाएको जोखिम रेखाबीचको को-रिलेसन ०.९१ देखिन्छ । जसले यी दुईबीच करिब एकैखालको ट्रेन्ड रहेको देखाउँछ ।

नेपालमा पछिल्लो समय केसहरूको संख्या घट्दो क्रममा छ । दैनिक निको भएर घर फर्कनेको संख्या दैनिक देखिएको पोजेटिभ केसभन्दा धेरै छ । जसले एक्टिभ केसहरू घटिरहेको देखिन्छ । तर समुदायमा संक्रमण फैलिएको या नफैलिएको भन्नेबारे केही बहसहरू जारी छन् । सरकारले समुदायस्तरमा समेत जाँच गरेको र समुदायमा फैलिएको नपाइएको भनेको छ ।

तर भारतमा बढ्दो संक्रमण, कुनै पनि मानिस कोही संक्रमितको नजिक भएको बढीमा करिब ३ महिनासम्ममा पनि उसमा पोजेटिभ देखिन सक्ने भन्ने केही अध्ययनहरूलाई आधारमान्दा हामीले ‘कोरोना फ्रि’ भनेका जिल्लाहरूमा जोखिम नभएको भन्ने अर्थमा बुझ्नु घातक हुन सक्छ ।

नेपालमा यदि समुदायस्तरमा महामारीको रूपमा संक्रमण फैलियो भने जोखिम समूहमा रहेका मानिसहरूसम्म पुग्ने हुँदा मृत्युदर बढ्न सक्ने सम्भावना धेरै रहन्छ । यसर्थ, समुदायमा संक्रमण फैलाउने/नफैलाउने भन्ने आमजनताको हातमा धेरै छ । कोभिड-१९ को जोखिमबारे सूचना दिने विधिहरू प्रयोग गरी सही सदुपयोग गर्न सकेमा जोखिम कम गराउन मद्दत पुग्नेछ ।

जोखिम मूल्याङ्कन विधि कोभिरा

कोभिरा हाल चलिरहेको कोभिड-१९ महामारीको जोखिम मूल्याङ्कन गर्ने विधि हो । यसमा कुनै पनि व्यक्तिले आफ्नो बारेमा सोधिएका केही प्रश्नहरूको उत्तर दिएर आफ्नो व्यक्तिगत जोखिम मूल्याङ्कन गर्न सक्नेछ । यसका साथै आफू बसिरहेको क्षेत्रमा कोरोना सर्न सक्ने जोखिमको अवस्था के छ र आफूलाई सर्नसक्ने जोखिम कति छ भन्ने बारेमा पनि मूल्याङ्कन गर्न सक्नेछ । यो विधि वेबसाइटमा उपलब्ध छ, जहाँ ‘व्यक्तिगत जोखिम मूल्याङ्कनका लागि यहाँ थिच्नुहोस्’ लेखिएको बटन क्लिक गरी त्यहाँ सोधिएका केही प्रश्नहरूको उत्तर भरेर आफ्नो तथा परिवारजनको जोखिम मूल्याङ्कन गर्न सकिन्छ ।

यससँगै नेपालका विभिन्न ठाउँहरूमा विविध कारण हुन सक्ने जोखिम मूल्याङ्कन नक्साहरू पनि राखिएको छ । सामाजिक आर्थिक, जनस्वास्थ्यका साथै कोरोना फैलिन सक्ने जोखिमका हिसाबले कुन क्षेत्र धेरै जोखिममा छ भन्ने पनि देखाइएको छ । यसमा देखाइएका क्षेत्रगत जोखिमहरू पालिका लेभलमा देखाइएका छन् । कुनै पनि नगर या गाउँपालिकाको जोखिमस्तर हेर्नका लागि वेबसाइटमा सबैभन्दा माथि रहेको ठाउँमा प्रदेश, जिल्ला तथा पालिका छानेर त्यसठाउँको जोखिमस्तर हेर्न सकिन्छ । कोभिड-१९ का केसहरूका बारेमा दैनिक अपडेटपश्चात् क्षेत्रगत जोखिमहरू परिवर्तन हुन्छन् ।

व्यक्तिगत जोखिम मूल्याङ्कन विधि चीन, इटाली, जर्मनी, स्पेन, बेलायत तथा अमेरिकामा मृत्यु भएका करिब ६० हजार व्यक्तिहरूको तथ्याङ्कलाई केलाएर बनाइएको हो । यसैगरी कोरोना सर्नसक्ने तथा यसको असर धेरै पर्नसक्ने विविध पाटोहरूको अध्ययन गरेर जोखिम निर्क्यौल गरिएको छ। व्यक्तिगत जोखिम व्यक्तिको उमेर तथा दीर्घरोगहरूमा आधारित हुन्छ भने सर्न सक्ने जोखिम, स्थानीयस्तरमा कोरोना सर्ने जोखिम तथा व्यक्तिको आफ्ना कृयाकलापहरूमा भर पर्छ । कोरोना सर्न सक्ने जोखिम भने, देखिएका केसहरू, क्वारेन्टिनमा रहेका व्यक्तिहरू, जनस्वास्थ्यको अवस्था साथै सामाजिक आर्थिकस्तरका आधारमा मूल्याङ्कन गरिएको छ । यो अध्ययन नेपाल तथा बेलायतका विभिन्न विश्वविद्यालय तथा संस्थाहरूमा काम गर्ने, विविध विषयका अनुसन्धानकर्ताहरूको साझा खोज हो ।

अध्ययन बारे बिस्तृत जानकारीका लागि यहाँ हेर्न सक्नुहुनेछ।

यसले जोखिमलाई ५ तहमा देखाउँछ, अति न्यून, न्यून, मध्यम, उच्च र अति उच्च । बीचमा रहेको सुईले जुन भाग देखाउँछ, त्यो नै जोखिमको स्तर हुनेछ । जोखिमस्तर अनुरुपको सुझावसमेत तपाईंहरूले हेर्न पाउनुहुनेछ । नतिजाको उदाहरण तलको चित्रमा देखाइएको छ ।

व्यक्तिगत जोखिम मूल्याङ्कनपश्चात् देखिने नतिजा र सुझाव

युरोपियन देशहरू अझै पनि फेरि एकपटक महामारीको ‘दोश्रो लहर’ आउने सम्भावनाका कारण सोही अनुरुप तयारी गरिरहेका छन् । हाम्रो देशमा पहिलो चरण नै नसकिइसकेको अवस्थामा जोखिम मूल्याङ्कन तथा तत्अनुरुपको कार्यशैली अघि बढाउनुपर्ने आवश्यकता छ । देश लामो समयसम्म पूर्ण लकडाउनमा रहँदा धेरै समस्या देखिए । आर्थिक क्षति मात्रै नभएर आत्महत्याको दर समेत निकै देखियो । यस्तो अवस्थामा स्थानीय जोखिमस्तर हेरेर स्थानीय निकायहरूले नै कस्तो खाले नियन्त्रणका उपायहरू अवलम्बन गर्ने भन्ने निर्णय गर्नु नै सबैभन्दा राम्रो हुने देखिन्छ।

अहिलेको बदलिँदो समयमा सबै नागरिकले पनि जिम्मेवार भएर व्यवहार गर्नुपर्ने हुन्छ । तपाईं आफूमा जोखिम धेरै छैन भने संक्रमण भइहालेमा पनि ज्यानै जाने सम्भावना निकै कम होला । तर कुनै पनि लक्षण नदेखिने संक्रमितको संख्या धेरै देखिएको यो अवस्थामा तपाईंले थाहै नपाई आफ्ना घर या समुदायमा उच्च जोखिममा रहेका व्यक्तिहरूसम्म संक्रमण पुर्‍याइदिन सक्नुहुन्छ। त्यसैले व्यक्तिगत तथा आफ्नो ठाउँको जोखिमबारे जानकार रहने र सोहीअनुरुप सजग भएर आफ्नो काम तथा व्यवहार गर्ने गरौं । व्यक्तिगत जोखिम तथा स्थानीय जोखिम थाहा पाउन कोभिराको वेबसाईट कोभिरा डट इन्फो (WWW.COVIRA.INFO) मा लगइन गरौं । स्थानीय निकायले पनि कोभिराको वेबसाइट कोभिरा डट इन्फोमा लग इन गरेर आफ्नो ठाउँको जोखिमस्तरका बारेमा जानकारी लिन र सोहीअनुरुप उपायहरू अवलम्बन गर्न सक्नुहुनेछ ।

Nepal: COVID-19 positive cases and relative death percentage compared with
COVIRA model (www.covira.info)

Age group Nepal Total case No of death Risk relative % of death
(blue column) (Dark blue line) (Red dots)
0-10 649 3 1.000831 5.55
11-20 3563 1 1.727976 0.34
21-30 6536 6 2.983422 1.10
31-40 4034 5 5.151 1.49
41-50 1753 9 8.893414 6.16
51-60 637 9 15.35484 16.95
61-70 207 2 26.51077 11.59
71-80 54 4 45.77194 88.89
80+ 12 1 100 100.00

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment