Comments Add Comment

हजारको नोटमा छापिने भाग्यमानी हात्ती राम लक्ष्मण !

जुम्ल्याहा हात्ती राम (दाँया) र लक्ष्मण (बाँया) । तस्वीर सौजन्य : पवन भण्डारी ।

९ साउन, चितवन । हात्तीले जुम्ल्याहा सन्तान जन्माउनुलाई विश्वमा निकै दुर्लभ घटना मान्ने गरिएको छ । गर्भाधान भएको सरदर २२ महिनामा बच्चा जन्माउने हात्तीले प्रायःजसो एउटा छावा मात्रै जन्माउछ ।

तर, झण्डै १२ वर्षअघि चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन केन्द्रमा पालिएको देवीकलीले एकै बेतमा पाएकी थिई राम लक्ष्मणलाई ।

चितवनमा २०४२ सालमा स्थापना गरिएको प्रजनन केन्द्रमा जुम्ल्याहा हात्ती जन्मेको यो पहिलो घटना थियो । अहिले यिनै राम लक्ष्मणको तस्वीर नेपालमा प्रचलन हुने एक हजारको नोटमा राखिएको छ । अहिलेको तस्वीर उनीहरु पाँच बर्षको उमेर हुँदाको हो ।

नेपाली नोटमा विदेशी हात्ती प्रयोग भएको गुनासो उठेपछि नेपाल राष्ट्र बैंकले नेपालमा पाइने हात्तीको तस्वीर राखेर नोट प्रकाशन गरेको छ । साउन ७ गतेदेखि सञ्चालनमा आएको नोटको बाँयातर्फ सगरमाथाको चित्रसमेत छ ।

यसअघिका एक हजारको नोटमा एउटा मात्रै हात्तीको चित्र अंकित थियो भने अहिलेको नोटमा दुईवटा हात्ती रहेका छन् । राम र लक्ष्मणले अहिले चितवन राष्ट्रिय निकुञ्जको सुरक्षामा खटिइरहेका छन् । रामलाई अहिले सौराहाको हात्तीसारमा राखिएको छ भने लक्ष्मण कसराको हात्तीसारमा छन् ।

यो पनि पढ्नुहोस हजारको नोटबाट हट्यो अफ्रिकन हात्तीको फोटो

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीका अनुसार २०६५ कात्तिक २१ गते राम लक्ष्मणको जुम्ल्याहा जोडी जन्मिएको हो ।

हात्तीको जुम्ल्याहा निकै दुर्लभ मानिने रुपाखेतीले बताए । ‘थाइल्याण्डमा जुम्ल्याहा जन्मिएको तर बचाउन नसकिएको घटना मैले सुनेको थिए । अरु ठाउँमा जुम्ल्याहा जन्मिएको सुनेको छैन’ उनले भने ।

उनीहरुलाई तीन वर्ष ६ महिना पुगेपछि दुई जना कर्मचारीले तालिम दिएका थिए । तालिमपछि निकुञ्ज सुरक्षामा यी दाजुभाइ जुटिरहेका छन् । राम दाजु हुन् भने लक्ष्मण भाइ हुन् । यी दुबै भाले हात्ती हुन् ।

आमा देवीकलीको कोखबाट जन्मिएका राम र लक्ष्मण बाबु रोमियो हो । जंगली भाले हात्तीले नै केन्द्रमा रहेका पोथी हात्तीलाई गर्भाधान गराउने गर्छन् ।

रोमियोले समय समयमा मानव वस्तीमा गएर वितन्डा पनि मच्चाउने गर्दछ । विगत लामो समयदेखि प्रजनन् केन्द्रमा पालैपालो रोमियो र ध्रुबेले प्रजनन् गराउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment