Comments Add Comment

अब घर–घरमै अर्ग्यानिक सागसब्जी

काठमाडौं । लकडाउनअघिसम्म सामाजिक सञ्जालमा एउटा तस्वीर देख्न पनि महिनौ कुर्नुपर्ने सुमन जोशीले हिजोआज दैनिक फोटो पोस्ट गर्छन्, त्यो पनि आफ्नो नभएर उनको फेसबुकमा दैनिक तरकारीको फोटो देख्न सकिन्छ ।

उनको दैनिकी फेरिएको यही कोरोना भाइरसविरुद्ध सरकारले गरेको लकडाउनको समयदेखि नै हो । ‘लकडाउनको समयमा उनलाई घरमा समय बिताउन पनि मुस्किल थियो । यस्तो अवस्था कहिलेसम्म हो यकिन थिएन ।’ उनी सुनाउँछन् ‘बाहिर तरकारी किन्न पनि जान सक्ने अवस्था थिए । त्यसैले मलाई कौसी खेतीतिर डोहो¥यायो ।

त्यस्तै हात्तीवनका सुसन कर्माचार्यको भने कौसी खेतीमा लामो अनुभव छ । २०१८ मा किचेन गार्डेनको रुपमा साना साना बिरुवा रोपेर रोपेका उनी अहिले त्यस्ता बिरुवा बेच्नेदेखि आफूलाई चाहिने फलफूल र तरकारी आफैँ उत्पादन गर्नसक्ने भइसकेका छन् ।

कर्माचार्यले ग्रिन ग्रोथ नामक संस्थालाई २०१८ देखि नै तरकारी र फलफूलका बिरुवा बिक्री गर्न थालेका छन् ।

चैत ११ देखि देशभर लागू भएको लकडाउन समग्र कौसी खेती अभियानका लागि अवसरको रूपमा विकास भयो । लकडाउनलगत्तै तरकारी किन्नका बाहिर जान असुरक्षा बढ्यो । फुर्सदिलो हुँदा आफूलाई चाहिने तरकारी उत्पादनको लागि समय पनि मिल्यो । यही विषयले सामाजिक सञ्जालमा समेत धेरै चर्चा पायो । जसले धेरैलाई यसतर्फ आकर्षित गरेको छ ।

ठीक एक वर्षअघि पोखरा महानगरले गराएको एउटा अध्ययनले कौसी खेतीबाट एउटा परिवारलाई पर्याप्त तरकारीको जोहो गर्न सकिने निष्कर्ष निकालेको थियो । कृषि तथा वन विश्वविद्यालय र महानगरपालिकाले गरेको अध्ययनमा पोखरामा कौसी खेती गर्नेमध्ये झण्डै ६० प्रतिशतसँग प्रश्नोत्तर विधिमार्फत् अध्ययन गरिएको उल्लेख छ ।

सो अध्ययनले एउटा परिवारको लागि आवश्यक तरकारी उत्पादन गर्न सकिने र यसले सहरी प्रकोपबाट जोगिन समेत सहयोग गर्ने निष्कर्ष निकालेको छ । यसको लागि असिना जालीको प्रयोग आदिबाट तरकारीको सुरक्षा र थोपा सिँचाइ विधिमार्फत आवश्यक सिँचाइको व्यवस्था समेत गरिएको छ ।

विषादीको चर्चापछि लकडाउनको मौका

झण्डै आठ महिनाअघि भारतबाट आयात गरिने तरकारीमा धेरै विषादी पाएपछि काठमाडौंमा समेत कौसी खेतीको माहोल बढ्न थालेको कौसी खेतीका अभियान्ताहरू बताउँछन् । ड्रगान फुड, फूल कागती, कागती, एभोकाडो, सुन्तला, मुन्तला ओरिगानो, फाइन, किम्बुको बोट, किबी, आरु, अञ्जिर, अम्बा र लिचीजस्ता तरकारी एवं औषधिजन्य वनस्पति समेत पर्याप्त मात्रामा बिक्री हुन थाले ।

कौसी खेतीको अभियान पहिलेदेखि नै चलिआएको भए पनि विषादीको चर्चा र लकडाउनका कारण सुरक्षित रूपमा तरकारी किन्न नसकेपछि कौसी खेती फस्टाएको अभियान्ताहरू बताउँछन् ।

बजारमा पाइने अधिकांश तरकारीमा विषादीको प्रयोग भएको पाएपछि बिस्तारै कौसी खेतीतिर काठमाडौंवासी आकर्षित हुन थालेको कौसी खेतीसम्बन्धी काम गर्ने संस्था ग्रिन ग्रोथकी सहसञ्चालिका समिता कपाली बताउँछिन् ।

उनका अनुसार लकडाउनको समयमा कौसी खेतीमा धेरैको आकर्षण बढेको छ ।

लकडाउनको समयमा कौसी खेतीमा आकर्षित भएकाहरू अहिले त्यसलाई बिस्तार गर्ने योजना सुनाउने गरेको कपाली बताउँछिन् । उनी भन्छिन् ‘कौसी खेतीका लागि लकडाउनको समयमा अवसरका धेरै ढोका खुले ।’

सन् २०१६ मा स्थापना भएर कौसी खेती अभियानमा सक्रिय सो संस्थामा अहिले १६ सय जना सदस्य छन् । त्यसमध्ये एक हजारभन्दा धेरै त यही लकडाउनमा मात्रै थपिएका हुन् । त्यसमध्ये ४० प्रतिशतले तरकारीका बिरुवा किनेका छन् ।

अभाव र फुर्सदले फस्टाएको कौसी खेती

कपालीका अनुसार लकडाउनको समयमा कौसी खेती फस्टाउनुको पछि केही कारणहरू छन् । कोही बिहान–बेलुका खाने तरकारी उत्पादनका लागि यसतर्फ आकर्षित भएका छन् भने कोही समय बिताउनका लागि कौसीमा तरकारी लगाउने गर्छन् ।

कोरोना भाइरसको महामारी रोक्न सरकारले गरेको लकडाउनका कारण एकातिर बजारमा तरकारीको अभाव देखियो भने अर्काेतिर घरमा सबै फुर्सदिला हुँदै गए । विषादीको समस्या त पहिलेदेखि नै थियो । लकडाउनमा समय बिताउनका लागि पनि धेरैले कौसी खेतीको सहयोग लिएको अभियान्ताहरू बताउँछन् ।

‘केही त फुर्सदको समयमा किन कौसी खेती नगर्ने भनेर यता आकर्षित भएको देखिन्छ । तर धेरैले तरकारी उब्जाएर विषादीरहित खानेकुरा खानकै लागि कौसी खेती गर्न थालेको बताउने गरेका छन्’ अनलाइनखबरसँग कपालीले भनिन् ।

सामाजिक सञ्जालबाटै सहयोग र प्रचार

लकडाउनको समय थियो, माटोका भाँडा बेच्ने पसल पनि बन्द थिए । यस्तो बेलामा कौसी खेतीका लागि तातेका काठमाडौंवासी सेलाए भने योे क्षेत्र फस्टाउन निकै समय लाग्ने सोचेर ग्रिनग्रोथले अनलाइनबाटै आवश्यक सामग्रीको अर्डर लिन थाल्यो । जोसँग पास छ उसैले सुरक्षित रूपमा गमलादेखि रासायनिक मल हुँदै बिरुवासमेत घरघरमा पु¥याउन थाल्यो ।

लकडाउनको समयमा कौसीमा तरकारी लगाएकाहरूले अहिले सामाजिक सञ्जालमा आफ्नो पौरख देखाउन थालेका छन् । यसले अरूलाई समेत आकर्षित गराएको कपाली बताउँछिन् ।  उनी भन्छिन् ‘लकडाउनको समयमा तरकारी रोपेकाहरूले अहिले अरू बिरुवा पनि खरिद गर्न चाहिरहेका छन् । लकडाउन अन्त्य भए पनि उनीहरूको जोश मरेको देखिएन ।’

लकडाउनकै बीचमा सामाजिक सञ्जालमा एकाएक कौसी खेतीको माहोल चुलिन थाल्यो । त्यसमा ग्रिन ग्रोथलगायतका संस्थाहरूकै सक्रियता धेरै थियो । सबैले आफ्नो पौरख सामाजिक सञ्जालमा नै देखाउन थाले । यसले पनि धेरैलाई कौसी खेती तर्फ आकर्षित गरेको हुनसक्ने बताउँछिन्, कपाली । उनका अनुसार अहिले पनि बिरुवा र गमला खोज्नेहरूको संख्या बढिरहेको छ ।

सन् २०१८ मा हात्तीवनका कर्माचार्यले लगाएको स्ट्रबेरीसँगै सो संस्थाले कौसी खेतीको लागि आवश्यक बिरुवा किन्ने र बेच्ने काम सुरू गरेको हो । संस्थाले अहिले तरकारी, फलफूल र औषधिका लागि प्रयोग हुने बिरुवा बिक्री गर्ने गरेको छ । लकडाउनको समयदेखि भने गमला, माटोजस्ता सामग्री धेरै बेच्च थालेकोे कपाली बताउँछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment