Comments Add Comment

मर्जरमा जान सहकारी क्षेत्रमा उत्साह

सहकारीका अगुवा भन्छन्- मर्जरमा जानेलाई राज्यले प्रोत्साहन गर्नुपर्छ

१६ साउन, काठमाडौं । बैंकिङ क्षेत्रबाट सुरु भएको मर्जरको अभ्यास अब सहकारी क्षेत्रमा पनि सुरु भएको छ । शुक्रबार मात्रै दुईवटा सहकारी संस्थाहरु आपसमा गाभिएर एकिकृत कारोबार शुरु गरेका छन् ।

भक्तपुरको गठ्ठाघरमा रहेको साथीको बचत तथा ऋण सहकारी संस्था र काठमाडौंको न्यूरोडमा रहेको किर्ती बचत तथा ऋण सहकारी संस्थाहरु एक-आपसमा गाभिएर शुक्रबारदेखि एकीकृत कारोबार शुरु गरेका हुन् ।

दुई संस्थाहरुलाई गाभिएर साथीको बचत तथा ऋण सहकारी संस्थाको नामबाट कारोबार सुचारु गर्न वाग्मती प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले १२ चैतमा अनुमति दिएको थियो । मर्जरपछि संस्थाको केन्द्रीय कार्यालय काठमाडौंको तिनकुनेमा रहने भएको छ भने साविक दुबै संस्थाको कार्यालय रहेका ठाउँहरुमा सेवा केन्द्र रहनेछन् ।

केही वर्ष पहिले बैंकिङ क्षेत्रमा केन्द्रीय बैंकले ल्याएको पुँजी वृद्धिको योजनापछि बैंकहरुमा मर्जरको बाढी नै आयो । नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया शुरु गराएपश्चात् २०७७ जेठ मसान्तसम्म कुल १८७ बैंक तथा वित्तीय संस्था मर्जर/प्राप्ति प्रक्रियामा सामेल भएका छन् ।

यसमध्ये १४२ संस्थाको इजाजत खारेज भई कुल ४५ संस्था मात्र कायम रहेका छन् । यो तथ्यांक अनुसार बैंकिङ क्षेत्रमा मर्जरको नीति आए यता ७६ प्रतिशत बैंक तथा वित्तीय संस्थाहरु खारेज भएका छन् ।

सहकारी क्षेत्रमा भने यति सजिलोसँग मर्जर हुन सक्ने अवस्था भने छैन । अहिले मुलुकमा ३५ हजार भन्दा बढी सहकारी संस्थाहरु छन् । कतिपय निस्कृय अवस्थामा छन भने धेरै घाटामा चलिरहेका छन् ।

निस्कृय रहेकालाई खारेज गर्न सक्ने र घाटामा रहेकालाई मर्जरमा जान दवाव दिने सरकारी नीति आएको अवस्थामा सहकारी क्षेत्रमा यो नीति सफल हुन सक्ने विज्ञहरु बताउँछन् । नत्र अहिलेकै अवस्थामा भने केही सहकारीहरु आफूखुसी मर्जर भए पनि बैंकमा जस्तो उपलब्धी हासिल गर्न गाह्रो पर्नेछ ।

सहकारी संस्थाहरुको मर्जर भूमि, व्यवस्था तथा सहकारी मन्त्रालय, सहकारी विभागको पनि प्राथमिकतामा छ । पछिल्लो समय सहकारी संस्थाहरु मर्जरका लागि आफै तयार हुने गरेको विभाग बताउँछ । विभागका अनुसार एउटा/दुईवटा होइन, ठूलो संख्यामा सहकारीहरुले स्वेच्छिक मर्जर रोज्न थालेको विभागका प्रमुख डा. टोकराज पाण्डे बताउँछन् ।

डा. पाण्डेका अनुसार गत असार मसान्तसम्म ९९ वटा सहकारी संस्थाहरु मर्जर भएर ४४ वटा बनेका छन् । राष्ट्र बैंकले पनि बैंकहरुलाई मर्ज गराइरहेको र अब विभागको प्राथमिकतामा पनि सहकारी संस्थाहरुको मर्जर रहेको उनले बताए ।

विकसित मुलुकहरुमा पनि एकदमै कम मात्रै सहकारी संस्थाहरु रहेको भन्दै उनले ३५ हजार नेपालका लागि ठूलो संख्या भएको बताए । सहकारी संस्थाहरु वलियो बनाउनका लागि पनि मर्जरको आवश्यकता रहेको उनको भनाइ छ । सहकारी संस्थाहरु धेरै हुनुभन्दा थोरै तर राम्रा हुनुपर्नेमा उनले जोड दिए ।

‘सहकारी संस्थाहरु मर्ज हुँदा सञ्चालन खर्च घट्छ, पारदर्शीता बढ्छ,’ पाण्डेले भने, ‘बचत उठाएर भागेका साना सहकारी छन्, निस्कृय सहकारी पनि छन्, मर्ज गराउँदा निस्कृयहरु सकृय बन्नेछन् र बचत उठाएर भाग्न पनि पाउने छैनन् ।’

थोरै संस्थाहरु हुँदा नियमन तथा अनुगमन गर्न पनि सहज हुने र यसले संस्थाहरुमा पारदर्शीता ल्याउने उनी बताउँछन् । सहकारी संस्थाहरुको संख्या ६० प्रतिशतभन्दा धेरै घट्नु पर्ने सहकारी क्षेत्रका सरोकारवालाहरुले बताउँदै आएका छन् ।

मर्जरमा जानेलाई सुविधा दिनुपर्छः अध्यक्ष कँडेल

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले सहकारी संस्थाहरु मर्जरमा जानु आजको आवश्यकता भएको बताए । कतिपय सहकारी संस्थाहरु आफैले निर्णय गरेर मर्जरमा जान थालिसकेकेा भन्दै उनले यो राम्रो भएको प्रतिक्रिया दिए ।

‘धेरै संस्थाहरु आफै मर्जर भइरहेका छन्, २५ वटासम्म संस्था मर्जर भएर एउटा बनेको तथ्यांक छ,’ उनले भने, ‘यो खुसीको कुरा हो, धेरै संस्था भएर मात्रै हुदैन, राम्रा संस्थाहरु हुनु परो ।’

तर मर्जरमा जाने संस्थाहरुलाई केहि सहुलियत दिनु पर्ने कँडेलले बताए । राष्ट्र बैंकले बैंकहरुलाई मर्जरमा जादा प्रोत्साहन दिने नीति नै लिएको भन्दै उनले सरकारले मर्जरमा जाने सहकारी संस्थाहरुलाई पनि केही सहुलियत दिनुपर्ने उल्लेख गरे । मर्जरमा जाने संस्थाहरुलाई कर छुट, तालिम, अनुदानजस्ता सुविधा दिन सकिने उनको भनाइ छ ।

‘संघले प्रोत्साहन गर्छ, राज्यले पनि गर्नुपर्‍यो’

नेपाल बचत ऋण केन्द्रीय सहकारी संघ -नेफ्स्कुन) का वरिष्ठ उपाध्यक्ष तथा प्रवक्ता चन्द्र ढकाल सहकारी संस्थाहरु मर्जरमा जाँदा धेरै फाइदा हुने बताउँछन् । उनले सहकारी ऐन तथा नियमावलीमा नै व्यवस्था भएकाले सहकारी संस्थाहरु मर्जरमा पनि गइरहेको उल्लेख गरे ।

संस्थाहरु एकआपसमा एकीकरण हुँदा यसले चौतर्फी फाइदा हुने उनको भनाइ छ । तर संस्थाहरुलाई मर्जरमा जाँदा वाध्यात्मक नभई प्रोत्साहनकारी हुनुपर्ने उनले बताए ।

‘अनुभवी सञ्चालकहरु मर्जर भएर जाँदा संस्था थप बिलयो हुन्छ, अनुभव आदान-प्रदान गर्न सकिन्छ,’ उनी भन्छन्, ‘मर्जरपछि संस्थाको पुँजी वृद्धि हुन्छ, सदस्यको संख्या बढ्छ, कार्यक्षेत्र बढ्छ । अन्य फाइदाहरु पनि छन् ।’

वरिष्ठ उपाध्यक्ष ढकाल संघले मर्ज भएका संस्थाहरुलाई प्रोत्साहन गर्ने नीति लिएको बताउँछन् । अब प्रोत्साहन गरेर अन्य संस्थाहरुलाई पनि मर्जरप्रति आकषिर्त बनाउनु पर्ने ढकालको तर्क छ ।

उनले भने, ‘यसपाली हाम्रो स्थापना दिवसमा ५ वटा एकीकृत संस्थालाई पुरस्कृत गर्दैछौं । अब राज्यको तहबाट पनि प्रोत्साहन आउनुपर्‍यो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment