Comments Add Comment

जर्मनीमा लकडाउनविरुद्ध हजारौंको प्रदर्शन

१८ साउन, काठमाडौं । जर्मनीको राजधानी सहर बर्लिनमा कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि लगाइएको प्रतिबन्धको विरोधमा हजारौं मानिसहरुले प्रदर्शन गरेका छन् । सरकारले लगाएको मास्क लगाउने वा अनुहार ढाक्नुपर्ने नियम स्वतन्त्रताविरोधी रहेको भन्दै उनीहरुले शनिबार प्रदर्शन गरेका हुन् । प्रदर्शनको क्रममा बर्लिनका ब्रेडनवर्ग गेटमा हजारौं मानिसको भिड देखिएको थियो । प्रदर्शन शान्तिपूर्ण भए पनि प्रदर्शनमा सहभागी केही मानिसले मात्र मुखमा मास्क लगाएका थिए । साथै उनीहरुले भौतिक दुरीको नियम पनि पालना गरेका थिएनन् ।

जर्मनी कोरोना भाइरसबाट निकै प्रभावित भएको मुलुक हो । अहिले पनि मुलुकमा कोरोना भाइरसका संक्रमितको संख्या बढ्दो क्रममा देखिएको छ । शुक्रबार मात्र जर्मनीमा कोरोना भाइरसका नौ सयभन्दा धेरै कोरोना संक्रमित फेला परेका थिए भने सात जनाको मृत्यु भएको थियो ।

अधिकारीहरुका अनुसार शनिबारको उक्त आन्दोलनमा करिब २० हजार मानिस सहभागी थिए । प्रदर्शनकारीहरुले आफूहरुको आन्दोलन प्रजातन्त्र र स्वतन्त्रताको लागि भएको बताएका थिए । प्रहरीले यो आन्दोलनको आयोजकविरुद्ध कोरोना भाइरस नियन्त्रणका लागि ल्याएको नियम पालना नगरेको भन्दै मुद्दा चलाएको छ ।

जर्मनीका स्वास्थ्यमन्त्री जेन्स स्पानले आन्दोलनकारीहरुले भौतिक दुरीको पालना नगरेकोप्रति आपत्ति जनाएका छन् । उनले महामारीको बीचमा पनि आन्दोलन गर्न सकिने तर यसरी आन्दोलन गर्न नहुने उनको भनाइ छ ।

जर्मनीमा अहिलेसम्म कोरोना भाइरसका दुई लाख १० हजारभन्दा धेरै संक्रमित भेटिइसकेका छन् भने नौ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment