Comments Add Comment

उपत्यकामा फेरि जोर बिजोर लागु गर्न प्रस्ताव

१९ साउन, काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणको जोखिम बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी तथा सार्वजनिक सवारी साधनहरुमा जोर बिजोर लागु गर्न प्रस्ताव गरेको छ ।

मन्त्रालयको प्रस्ताव कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)को निर्देशक समितिमा विचाराधीन छ । ‘पछिल्लो बैठकमा छलफल पनि भएको हो’ एक उच्च अधिकारीले भने, ‘तर यसबारे निर्णय भएको छैन । सीसीएमसीले निर्णय गरेर मन्त्रिपरिषद्‍मा प्रस्तावका रुपमा गएपछि मात्र यसले औपचारिकता पाउँछ ।’

सरकारले २६ असारबाट निजी सवारी साधानको जोरविजोर हटाएको थियो भने उपत्यकामा तीन जिल्ला र बाहिर जिल्लामा सार्वजनिक सवारी चलाउन दिएको थियो । साथै भदौ १ बाट लामो दुरीको सवारी पनि चलाउने तयारी छ ।

तर लकडाउन खुला भएसँगै कोरोना संक्रमण बढेको छ भने उपत्यकामा पनि जोखिम थपिएको छ ।

स्वास्थ्य मन्त्रालयका अधिकारीहरुका अनुसार उपत्यकामा संक्रमण फैलिन नदिने हो भने सवारी साधनमा जोर बिजोर, बाहिरबाट आउनेहरुलाई १४ दिन अनिवार्य होम वा स्थानीय क्वारेन्टिन जस्ता उपाय अपनाउनुको विकल्प छैन ।

मन्त्रालयले उपत्यका प्रवेश गर्ने तीन नाका थानकोट, साँगा र फर्पिङमा साउन १० देखि १३ गतेसम्म १० हजार ८२७ नमुना संकलन गरेको थियो । त्यसमध्ये करिव ३७ सय नमुना परीक्षण गर्दा २५ जनामा संक्राण पुष्टि भएको थियो ।

अहिले पनि कोरोना संक्रमण फैलिएको क्षेत्रबाट मानिसहरु काठमाडौं आउने क्रम रोकिएको छैन । यसरी आउनेहरुलाई रोक्न नसके पनि १४ दिन अनिवार्य होम क्वारेन्टिन वा स्थानीय तहको क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था गरे मात्र उपत्यकालाई संक्रमणबाट जोगाउन सकिने मन्त्रालयका अधिकारी बताउँछन् । त्यसअनुसार मन्त्रालय १४ दिन होम वा स्थानीय क्वारेन्टिनको सहमतिपछि मात्र उपत्यका प्रवेश गर्न दिने प्रस्ताव पठाएको स्रोतले बताएको छ ।

सीसीएमसीका अधिकारीहरु जोरविजोर लागू गर्न सकारात्मक रहेको एक अधिकारीले बताए ।

तर उपत्यका प्रवेश गर्नेहरुलाई १४ दिन अनिवार्य होम क्वारेन्टिनमा राख्न कठिन रहेको बताउँछन् । ‘बाहिरबाट आउनेहरुलाई सरकारले क्वारेन्टिन गरेर सकिँदैन । आफैं बसे नबसेको हेर्न पनि सहज छैन’ एक अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment