Comments Add Comment

पूर्वएमालेभित्र समीकरण बनाउन खोज्दा प्रचण्डसँग टाढिए आफ्नै गुटका नेता

१९ साउन, काठमाडौं । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग ३ घण्टा लामो वार्ता गरेलगत्तै नेकपा अध्यक्ष प्रचण्डले खुमलटारमा माधव नेपाल र नारायणकाजी श्रेष्ठलाई बोलाएर सविस्तार बताए । झलनाथ खनाललाई लिएर वार्तामा गएका उनले सोमबारको वार्ताअघि पनि खुमलटारमा आफू पक्षधर सचिवालय सदस्यसँग परामर्श गरेका थिए ।

दुई अध्यक्षको चोचोमोचो मिल्दैमा मानिँदैन भन्दै आएका बरिष्ठ नेता माधव नेपाललाई चिढिन नदिन प्रचण्डले निकै मेहनत गरिरहेका छन् र ओलीसँगका सबै कुराहरु सुनाइरहेका छन् ।

त्यसो त प्रचण्ड र माधव नेपालबीच ओलीलाई भेट्न जानुअघि एक अर्कालाई जानकारी गराउने तहको समझदारी रहेको नेताहरु बताउँछन् ।

पूर्वएमालेभित्र माधव नेपाल र झलनाथ खनालको गुटलाई आफ्नो साथमा लिएर ओलीसँग अन्तरसंघर्ष गरिरहेका प्रचण्डले जनयुद्धकालीन आफ्नै केही सहयोद्धाहरुको विश्वास भने पूर्ववत कायम गर्न नसकेको टिप्पणी पूर्वमाओवादी पंक्तिमा हुन थालेको छ ।

लेखराज भट्ट ‘फ्याक्टर’

एकातिर पूर्वमाओवादीहरु प्रचण्डकै नेतृत्वमा एक ठाउँमा हुनुपर्छ पनि भन्ने र अर्कोतिर पूर्वएमालेको एउटा गुटसँग समीकरण बनाएर ओलीसँग भिड्ने प्रचण्डको तरिकासँग पूर्वमाओवादी नेता लेखराज भट्ट सन्तुष्ट छैनन् ।

खास गरी मन्त्री भट्टलाई प्रचण्डले पूर्वएमालेका भीम रावलसँग सम्बन्ध बढाएको निको लागेको छैन ।

असार १७ गते झम्सिखेलको अगेनो रेष्टुरेन्टमा भएको भेलाबाट सबैभन्दा बढी उत्साहित कोही थियो भने नेकपा अध्यक्ष प्रचण्ड थिए । प्रचण्ड र माधव नेपाल पक्षका ३२ मध्ये ३१ जना स्थायी कमिटी सदस्यहरु त्यहाँ भेला भएका थिए ।

पार्टी एकीकरणदेखि नै आफ्नो साथमा बलियो गरी नउभिएका सचिवालय सदस्य रामबहादुर थापा बादलसमेत अँगेनोमा पुगेर केपी ओलीको विपक्षमा बोलेपछि प्रचण्डले पूर्वमाओवादी समूहको सर्वमान्य नेताका रुपमा आफूलाई पुनःस्थापित भएको पक्कै महसुस गरेका थिए ।

उनले लेखराज भट्टले आफ्नो साथ छाडेकोमा चित्त दुखाए पनि अन्तिममा उनी आफैंतिर आउने अपेक्षा समेत निकटस्थहरुलाई सुनाएका थिए । भट्ट विभिन्न कमजोरीका कारण ओलीतिर लागेको प्रचण्डको भनाइ थियो र सुदूरपश्चिमका कतिपय नेताहरुले त उनले प्रचण्डको साथ छाड्ने हो भने स्थायी कमिटी र मन्त्री पद छुटाउन नेतृत्वलाई दबावसमेत दिएका थिए ।

भट्ट पछिल्लो समय खुलेरै ओलीको पक्षमा उभिएका छन् । उनले हालैमात्र सुदूरपश्चिम गएर कार्यकर्ता भेला नै आयोजना गरेका छन् । भट्टले प्रचण्डमा पदलोलुपता देखिएको र उनी माधव नेपाल पक्षको दबावमा परेको भन्दै लिम्पियाधुरासहितको नक्सा जारी भएपछि ओली हटाउने खेल शुरु भएको आरोप लगाएका छन् ।

प्रचण्ड–माधव नेपाल गठबन्धन बलियो बनिरहेका बेला पूर्वमाओवादीका भट्टजस्तै अरु पनि केही नेताहरु प्रचण्डसँग असन्तुष्ट देखिएका छन् ।

छिन्नभिन्न पूर्वमाओवादी

असार १७ मा पूर्वमाओवादी समूहलाई एक ढिक्का राख्न सफल भएका प्रचण्डले एक महिना नपुग्दै साउन १३ मा बालुवाटारको बहुमत स्थायी कमिटी सदस्यको भेलामा त्यो पकड गुमाएको देखियो । बादलसहित टोपबहादुर रायमाझी, मणि थापा र लेखराज भट्ट प्रचण्ड–माधव पक्षको बैठकमा गएनन् ।

पार्टी एकीकरण गर्दा पूर्वमाओवादीको भागमा परेका १९ मध्ये हाल १८ जना स्थायी कमिटी सदस्यहरु रहेकोमा चारजना प्रचण्डको एकल अध्यक्षताको बैठकमा सहभागी नहुनुले पूर्वमाओवादी पंक्तिमा प्रचण्डको पकड कमजोर भएको संकेतका रुपमा बुझ्न सकिन्छ ।

बैठकमा गएकामध्ये पनि कतिपय पछिल्लो समय प्रचण्डसँग अशन्तुष्ट छन् । पार्टी एकीकरण गर्ने बेलामा औसत ६०/४० को भागबण्डामा चित्त बुझाएका प्रचण्डको ध्येय भनेको तत्कालीन एमालेभित्र ओली र माधव नेपाल पक्षबीचको चरम गुटबन्दीमा खेलेर आफू बहुमतमा पुग्ने थियो । उनले यसबीचमा कहिले ओली र कहिले नेपालसँग मिलेर त्यो अभ्यास पनि गरे ।

६० प्रतिशतको पूर्वएमालेमा ओली र माधव नेपाल लगभग बराबरको संख्यामा रहेकाले ४० प्रतिशतवाला प्रचण्ड नेकपाको त्रिपक्षीय शक्ति सन्तुलनमा एक नम्बरमा रहँदै आएका थिए । पछिल्लो समय ओली विरुद्धको गठबन्धनमा प्रचण्ड र माधव नेपालको दुई तिहाई संख्या पुगेको हो ।

यसबीचमा अँगेनोपछि खुमलटार र कोटेश्वरमा पटक–पटक प्रचण्ड माधव नेपाल पक्षका स्थायी कमिटी सदस्यहरुको भेला भयो । तर, पछिल्ला भेला तथा बैठकहरुमा पूर्वमाओवादीतर्फका केही नेताहरुलाई बोलाउन छाडियो । आफूहरुले दुई अध्यक्षबीचको समझदारीभन्दा बाहिर नजान सल्लाह दिएपछि उनीहरुलाई बोलाउन छाडिएको ती नेताहरु बताउँछन् ।

कुनैबेला प्रचण्डको सबैभन्दा निकट मानिएका हरिबोल गजुरेलसमेत खुमलटारका रणनीतिक बैठकहरुमा छुट्न थालेका छन् । टोपबहादुर रायमाझी र मणि थापा पनि खुमलटारका भेला, बैठकमा छैनन् । पार्टी एकताको पक्षमा उभिन र केपी ओलीसँगै समझदारी गरेर महाधिवेशनसम्म जान सुझाव दिनेहरुलाई बोलाउन छाडिएको थापा बताउँछन् ।

थापाका अनुसार जनार्दन शर्मा, चक्रपाणि खनाल र देवेन्द्र पौडेलहरु पनि दुई अध्यक्ष मिल्नुपर्ने लाइनमा छन् । बादल र लेखराज भट्ट यसअघि नै प्रचण्डबाट बाहिरिइसकेको मणिको दाबी छ । प्रचण्डले सिनियर नेताहरुको सुझाव मान्न छाडेको रायमाझी बताउँछन् ।

प्रचण्डको साथमा नरहे पनि पूर्वमाओवादीका स्थायी कमिटी सदस्यहरु ओली पक्षमा गइसकेका छैनन् ।

आफूहरु पार्टी एकताको पक्षमा उभिएको र यो लाइनमा पछिल्लो समय बामदेव गौतम ६ बुँदे प्रस्तावसहित आएकाले अब नेकपा आफूहरुकै लाइनमा गएको रायमाझीको दाबी छ ।

पूर्वमसालको मनोविज्ञान

नेकपाभित्र विशेष गरी पूर्वमाओवादी समूहमा प्रचण्डले मसालबाट विद्रोह गरेर आएको पुस्तासँगको पकड गुमाउन थालेको चर्चा समेत चल्न थालेको छ । २०४४ सालमै मोहनविक्रम सिंहको मसालसँग विद्रोह गरेर मणि थापाले अलग्गै समूह खोलेर महासचिव बनेका थिए ।

थापा पछि प्रचण्ड मोहन वैद्य समूहमा मिसिएर थालेको अभियानमा बाबुराम भट्टराई, टोपबहादुर रायमाझी, हरिबोल गजुरेल, देवेन्द्र पौडेल लगायतका नेता सामेल भएका थिए । यसको पछिल्लो कडी दीनानाथ शर्मा हुँदै डिलाराम आचार्यहरु हुन् ।

तत्कालीन माओवादीमा मसाल गुट प्रभावशाली मानिन्थ्यो । जनयुद्धकालमा प्रचण्ड र बाबुराम भट्राईको द्वन्द्वमा मसाल पृष्ठभूमिका नेताहरुले बाबुरामलाई साथ दिएका थिए । बाबुरामले पार्टी छाडेर हिँडेपछि प्रचण्डमै समाहित भएका पूर्वमसाल समूहका नेताहरुले पछिल्लो समय आफूहरुमाथि अन्याय भएको बताउन थालेका छन् । कता–कता त्यस्तो व्यवहार भइरहेको हो कि भन्ने छलफल पनि चलेको थापाले स्वीकार गरे ।

मसाल समूह प्रचण्डसँग टाढिएको हो त ? भन्ने अनलाइनखबरको प्रश्नमा थापाले भनेका छन्, पछिल्लो चरणमा त्यस्तोखालको भयो भन्ने छ । साथीहरुको त्यो शंका पनि होला । पुराना साथीहरुलाई भुल्ने, नयाँ साथीहरुलाई अलिकति सम्झिने भएको हो कि ? जनयुद्धबाट आएको हुनाले जनयुद्ध भएको क्षेत्रमा अलिकति उहाँको लगाव हुनु स्वभाविक छ ।

पूर्वमाओवादी खेमाभित्र कृष्णवहादुर महरा, टोपबहादुर रायमाझी, अग्नि सापकोटा, हरिबोल गजुरेलहरु सिनियर नेता मानिन्छन् । पछिल्लो समय महरा पार्टीमा भूमिकाविहीन छन् भने सापकोटा सभामुख भएपछि प्रचण्डले अरु सिनियर नेताको सल्लाह लिन छाडेको असन्तुष्टहरु बताउँछन् ।

असन्तुष्ट एक नेताले भने, ‘उहाँले जनयुद्धपछि स्थापित भएकाहरुलाई मात्र लिएर हिँड्न थाल्नुभयो । हिजो बाबुरामसँग नजिक रहेकाहरुलाई किनारा लगाउने प्रयास भइरह्यो । दुई अध्यक्ष मिल्नुस् भन्नेहरुलाई बोलाउनै छाड्नुभयो ।’

केपी ओली र प्रचण्डबीच साउन ३ गते समझदारी बनाएर मंसिरमा महाधिवेशनमा जान सहमति बनाउन भूमिका खेलेका जनार्दन शर्मा प्रचण्ड पछि हटेपछि असन्तुष्ट बनेको चर्चा चल्यो । केही बैठकमा उनी नगएका आधारमा चर्चा चले पछि प्रचण्डको सचिवालयले वक्तव्य नै जारी गरेर शर्मा प्रचण्डसँगै रहेको स्पष्टीकरण दियो ।

त्यसो त बालुवाटारको पछिल्लो बैठकमा जनार्दन शर्माले ‘जुट्ने भए पनि महाधिवेशनबाटै जुटौं र फुट्ने भए पनि महाधिवेशनबाटै फुटौं’ भन्ने अभिव्यक्ति दिएका थिए ।

तर, प्रचण्ड–माधव नेपाल पक्षले प्रतिष्ठाको विषय बनाएको बालुवाटारको बहुमत पक्षको बैठकमा चारजना पूर्वमाओवादी नेताहरु सहभागी नहुँदा प्रचण्डको सचिवालयको प्रतिक्रिया आएन । बरु पूर्वमाओवादीका कतिपय नेता–कार्यकर्ताले सामाजिक सञ्जालबाट उनीहरु ओलीसँग बिकेको आरोप लगाए ।

ढुक्क छन् प्रचण्ड

प्रचण्डनिकट एक स्थायी कमिटी सदस्यका अनुसार आफ्नो समूहबाट केही नेता टाढिएकामा उनी दुःखित छन् । तर, पार्टी विभाजनको चरणमा पुग्दा वा बहुमत–अल्पमतमा जाने अवस्थामा उनीहरु आफ्नै नेतृत्वमा आउने विश्वास पनि प्रचण्डको छ ।

केपी ओलीले आफ्नो गुट फुटाउन शक्ति प्रयोग गरेको आरोप पनि प्रचण्ड पक्षको छ ।

माधव नेपाल झलनाथ खनाल लगायतका नेताहरुको गठबन्धनलाई धोका दिन हुन्ने ठाउँमा प्रचण्ड पुगेका छन् । आफ्नो संघर्ष नै केपी ओलीसँग भएको र ओलीबाट असाध्यै अपमान खेप्नुपरेकाले अब निर्णायक लडाइँ लड्ने ठाउँमा पुगिएको प्रचण्डले बताउने गरेका छन् ।

प्रचण्डलाई ओलीसँग मिल्न सुझाव दिन गएका नेताहरुलाई उनले केही दिनअघि भनेका थिए, म ओलीसँग फाइट टु फिनिसको लडाइमा जाँदैछु, तपाईहरु उनैसँग मिल्नुस् भनेर आउनुहुन्छ, यो त कसरी मिल्यो र !

केपी ओली असाध्यै घमण्डी, हेपाहा र अहंकारी व्यक्ति रहेछन्, मैले झेल्न नसकेरै हो भन्ने प्रचण्डले निश्कर्ष निकालेको उनी निकटस्थहरु बताउँछन् ।

अहिले नेकपामा बामदेवको पछिल्लो प्रस्तावपछि समीकरण केही फेरिएको छ । सचिवालयमा ओली पुनः बहुमतमा पुगेका छन् । उनी अब सचिवालय बैठकबाट आफूलाई पायक पर्ने बामदेवको प्रस्तावकै सेरोफोरोमा निर्णय गराउने र स्थायी कमिटी बैठक टुंग्याउने पक्षमा छन् । स्थायी कमिटी र केन्द्रीय कमिटीमा ओली अल्पमतमा छन् । त्यसैले जे निर्णय गर्ने हो, सचिवालयबाटै गरौं भन्न थालेका छन् ।

प्रचण्ड–माधव नेपाल पक्षका १५२ जना केन्द्रीय कमिटी सदस्यले बैठक माग गरेर बुधवारमात्रै हस्ताक्षर बुझाइकेको अवस्थामा एकातिर पार्टीमा सहमति खोज्ने समय मिलेको तर्क बैठक माग गर्ने पक्षको छ ।

ओली पक्षले पक्षले भने अहिलेको अवस्थामा केन्द्रीय कमिटी बैठकमा जानु भनेको पार्टी विभाजनलाई औपचारिकता दिनुमात्र हुने तर्क गरेको छ ।

प्रचण्डले पछिल्लो पटक आफ्नै पूर्वसमूहको पूरै शक्तिलाई साथमा लिन नसके पनि माधव नेपाल पक्षको संख्या यथावत छ । यो भनेको स्थायी कमिटीमा ओलीविरुद्ध सुबिधानजक बहुमत कायमै रहनु हो । तर, ओलीले अनिश्चितकालका लागि स्थगित गरेको बैठक पुनः राख्नकै लागि दुई अध्यक्षबीच समझदारी हुन सकेको छैन ।

दुई अध्यक्षबीच बैठक पुनः बोलाउनकै लागि पनि संवाद हुन नसकेको बेला नेकपाभित्रको बहुमत ‘बाँदरको पुच्छर लौरो न हतियार’ जस्तो भएको छ ।

प्रचण्ड निकट स्थायी कमिटी सदस्य गणेश साह भने अब कसको पक्षमा कति संख्या भनेर टाउको गन्नेभन्दा पनि पार्टी सञ्चालन गर्न दुवै अध्यक्ष असफल भएको निष्कर्षमा पुग्ने बेला आएको बताउँछन् ।

पूर्वमाओवादी मिलाउने प्रयास

नेकपाभित्र पूर्वएमालेको गुट झगडामा फसेका पूर्वमाओवादी नेताहरु अब माओवादी धार एकजुट हुनुपर्छ भनेर लागेका छन् । बिहीबार प्रचण्डनिवास खुमलटारमा उनीसँग अशन्तुष्ट भनिएका स्थायी कमिटी सदस्यहरुसँग पनि प्रचण्डले पूर्वमाओवादीका सबै एकजुट हुनुपर्ने बताएका छन् ।

जनार्दन शर्मा, टोपबहादुर रायमाझी, मणि थापा, देवेन्द्र पौडेल, हरिबोल गजुरेल र चक्रपाणि खनाल प्रचण्डसँग छलफल गर्न खुमलटार पुगेका थिए । उनीहरुले महाधिवेशनसम्म दुई अध्यक्ष मिलेर जानुको विकल्प नरहेको भन्दै समीकरण बनाएर नहिँड्न प्रचण्डलाई सुझाव दिएका थिए ।

प्रचण्डले भने पूर्वमाओवादीहरु छिन्नभिन्न भएको भन्दै चित्त दुखाएका थिए । उनले आफूबाट कमजोरी भएको स्वीकार गर्दै अब त्यस्तो नहुने भनेर असन्तुष्ट नेताहरुलाई आश्वस्त पार्न खोजेका थिए । प्रचण्डले आफू पार्टी एकताको पक्षमा रहेकै कारण मंगलबार कुनै दुर्घटना हुन नपाएको बताएका थिए ।

तर, अशन्तुष्ट भनिएका नेताहरुले भने महाधिवेशनसम्म ओलीसँग समझदारी गरेर जान र लेनदेन जे गरे पनि उनैसँग गर्न सुझाव दिएको स्रोत बताउँछ । भेटमा सहभागी एक नेताका अनुसार प्रचण्डलाई उनीहरुले आफूहरु ओलीतिर नगएको भन्दै पार्टी फुट्न नदिन मध्यमार्गी भूमिकामा रहने जानकारी दिएका थिए ।

बादल पक्षको बैठक

उता, विहीबारै गृहमन्त्री बादल पक्षधर स्थायी कमिटी सदस्य र केन्द्रीय सदस्यहरुको पनि बैठक बसेको थियो । बादल समूहका केही नेताले प्रचण्डसँग मिलेर पूर्वमाओवादी एकठाउँमा ल्याउन उनलाई आग्रह गरेका थिए । केही नेताले भने दुई अध्यक्षको समझदारी महाधिवेशनसम्म आवश्यक रहेको भन्दै बादलको अहिलेको भूमिका बलियो बनाउनुपर्ने बताएका थिए ।

नेकपा केन्द्रीय कमिटीमा बादल पक्षधरको संख्या ४१ रहेको सो समूहको दाबी छ । तीमध्ये केही नेताहरु विहीबारको भेलामा सहभागी थिए । उनीहरुले पार्टी एकता जोगाउनका लागि बादलले दुवै अध्यक्षबीच मध्यस्थकर्ताको भूमिका निर्वाह गर्नुपर्ने बताएका थिए । बादल पक्षका भनेर चिनिने देव गुरुङल, पम्फा भुसाल लगायतका केही नेताहरु भने ओलीसँग असन्तुष्ट छन् । बादलले पनि झम्सीखेलको बैठकमा केपी ओलीलाई प्रतिक्रान्तिको पक्षधर भएको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment