Comments Add Comment

प्रत्येक प्रदेशमा तत्काल १ लाख पीसीआर टेस्ट गर्न देउवाको सुझाव

२० साउन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना संक्रमितको पहिचान गर्न प्रत्येक प्रदेशमा एक लाख नयाँ परीक्षण तत्काल सुरु गर्न सरकारलाई आग्रह गरेका छन् ।

मंगलबार प्रधानमन्त्रीले बोलाएको विज्ञसँगको छलफलमा प्रतिपक्षी दलका नेताको रुपमा सहभागी देउवाले सरकारलाई ७ बुँदे सुझाव दिँदै एक प्रदेशमा एक लाख नयाँ परीक्षण तत्काल सुरु गर्ने बन्दोबस्त मिलाउन सुझाव दिएका हुन् ।

उनले कोरोना संक्रमितको उपचारमा सहयोग गर्ने रेमडिसिभर औषधिको आयातमा तदारुकता देखाउन, आइसोलेसन वार्ड विस्तार र भेन्टिलेटरको अत्यावश्यक प्रबन्ध गर्न पनि सरकारलाई सुझाव दिएका छन् ।

देउवाले कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारले गरेका हालसम्मका कमजोरी र प्रगतिको गहिरो समीक्षा गर्न र स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता र भ्रष्टाचार ढाकछोप नगरी छानबिन गर्न पनि सुझाव दिएका कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

विदेशमा अप्ठ्यारोमा परेका नेपालीको निःशुल्क उद्वार गरी क्वारेन्टाइन र परीक्षण पश्चात् घर पठाउन, नेपालीको उद्दार गर्नुपर्ने स्थितिमा बाहेक सिमानाको आवागमनमा सम्पूर्ण कडाइ र नाका सिल गर्न पनि देउवाको सुझाव छ ।

देउवाले कोरोना संक्रमितको संख्याको आधारमा देशका उच्च जोखिम, मध्यम जोखिम र न्यून जोखिमको क्षेत्र पहिचान गरेर भिन्न क्षेत्र भिन्न रणनीति निर्माण गरी कार्यान्वयन गर्न पनि सरकारलाई सुझाव दिएका छन् ।

जायज माग अघि सारेर आमरण अनशनमा बसेका युवाहरूको भावना तत्काल सम्बोधन गरी जीवन रक्षा गर्न पनि देउवाले प्रधानमन्त्रीलाई सुझाव दिएका कांग्रेस मुख्यसचिव पौडेलले बताए ।

कोरोना महामारीबाट सुरक्षाका लागि मास्क लगाउन चेतनामूलक कार्यक्रम गर्न पनि देउवाको सुझाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment