Comments Add Comment

भरतपुर महानगरको राजश्व संकलन १२ प्रतिशतले घट्यो

२२ साउन, चितवन । चितवनको भरतपुर महानगरपालिकाको राजश्व संकलन ११.९९ प्रतिशतले घटेको छ ।

गत आर्थिक बर्ष २०७६/७७ मा १ सय ११ करोड रुपैयाँ राजश्व उठाउने लक्ष्य लिएको महानगरपालिकाले ९२ करोड ३३ लाख ९६ हजार राजश्व संकलन गरेको जनाएको छ ।

महानगरपालिका राजश्व शाखाका प्रमुख अनुज घिमिरेले कोरोना भाइरसको संक्रमण, लकडाउनका कारणले लामो समय व्यवसाय बन्द हुँदा त्यसको असर राजश्व संकलनमा परेको बताए ।

महानगरपालिकाले अघिल्लो आर्थिक बर्ष २०७५/०७६ मा घरजग्गा रजिष्टे«शन बाहेक ७५ करोड राजश्व संकलनको लक्ष्य राखेकोमा १ अर्ब ४ करोड ९२ लाख रकम उठाएको थियो ।

गत आर्थिक बर्ष ०७६/०७७ मा ४९ करोड आन्तरिक राजश्व उठाउने लक्ष्य लिइएकोमा ४० करोड र घर जग्गा रजिष्टे«सनबाट ४० करोड रुपैयाँ उठाउने लक्ष्य लिएकामा ३५ करोड रुपैयाँ मात्रै संकलन भएको राजश्व शाखा प्रमुख घिमिरेले बताए । त्यसमा २२ करोड जनसहभागिता शीर्षकमा राखिएको छ ।

महानगरपालिकाले गर्ने विकास निर्माणको काममा जनताले उठाउने रकमलाई यसमा राख्ने गरिन्छ ।

महानगरपालिकाले चालु आर्थिक बर्षमा कोरोना महामारीका कारणले विभिन्न व्यवसायलाई २५ प्रतिशतसम्म कर छुट दिने नीति लिएको छ । पर्यटनजन्य उद्योग, सिनेमा हल, पार्टी प्यालेस, डान्स बार, सबै प्रकारका मनोरञ्जनस्थल, स्वीमिङ पुल, जिमखाना, सैलुन, ब्यूटिपार्लरलाई २५ प्रतिशतसम्म कर छुट दिइने महानगर राजश्व शाखा प्रमुख अनुज घिमिरेले बताए ।

ती बाहेकका ब्यवसायीलाई भने १५ प्रतिशत छुट दिइएको छ । महानगरले हरेक वडा कार्यालयबाट जुनसुकै पनि कर तिर्न सकिने व्यवस्था मिलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment