Comments Add Comment

कृषि तथा वन विज्ञान विश्वविद्यालयप्रति जिज्ञासा

करिब चार महिना अगाडि म पोर्चुगलको राजधानी लिस्बनमा रहेको लिस्वन विश्वविद्यालय अन्तर्गतको कृषि अध्ययन केन्द्र परिसरमा छिरेको थिएँ।  म सँगसँगै कृषि तथा पशुविज्ञान अध्ययन संस्थान रामपुरबाट पशुविज्ञानमा स्नातक तथा सोही विषयमा नर्वेबाट स्नाकोत्तर सक्नुभएका एकजना भाइ पनि हुनुहुन्थ्यो।

मैले दुइवटा बिषयमा स्नाकोत्तर गरेपनि आफुले पढेको सामान्य बिषय बाट आफु साक्षर भन्दा बढी केहि भएजस्तो लाग्दैन तर प्राबिधिक क्षेत्रको अध्ययनलाई धेरै सम्मान गर्दछु।  ती भाइ र म त्यहा बिधावारिधि तहमा अध्ययनरत एकजना विद्यार्थीसँग केही समय भलाकुसारी गर्यौं।  ती विद्यार्थी हामीसँगको छोटो कुराकानीपश्चात ड्युटीमा रहेको जानकारी गराई ट्रयाक्टर लिएर गए।  त्यसपछि हामी त्यहाँको सुन्तला बगानमा घुमेर फर्कियौं ।

म त्यसपछि तीनपटकसम्म विश्वविद्यालय परिसरमा छिरें।  सुन्तला झरिसकेका थिए तर अंगुर, स्याउ लगायत अरु विभिन्न विरुवाहरु हुर्किंदै थिए ।  तिनीहरुलाई काँटछाँट गरिँदै थियो र पानी पनि राखिराखिएको थियो।  शैक्षिक भवनहरु वरिपरि पनी घुमे। विद्यार्थीहरु र प्राध्यापकहरुको अन्तरक्रियालाई पनि केही समय नियालें। योपटक पनि एकजना प्रोफेसरसँग छोटो कुराकानी गरें । तर, प्राक्टिकल शुरु भएको जनाउ दिँदै प्रोफेसर आफैं ट्रयाक्टर लिएर बारितिर लाग्नुभयो।  त्यसपछि फेरि घोत्लिएर बगैंचातिर अनौठो मानेर हेरिरहें।  सुन्तला, स्याउ, अंगुर लगायत अन्य थुप्रै जातका फलफूलहरुका बिरुवाहरु एउटै वातावरणमा हुर्किरहेको र सबै फल्ने पनि निश्चित भएकाले अनौठो लाग्यो।

हाम्रो देशमा हिमाली भेगमा स्याउ फल्ने जानकारी भएकाले नर्वेको माइनस २५ डिग्री तापक्रममा स्याउ टिपेर खाँदा खाशै अनौठो लागेन । तर पोर्चुगलको ४० डिग्रीसम्म तापक्रम पुग्ने ठाउँमा पनि स्याउ फलाउन गरेको मिहिनेत देख्दा अनौठो लाग्यो। त्यो बगैंचाले मलाई हाम्रो देशको कृषिको सम्झना गरायो।

म जन्मेको ठाँउ बाग्लुङ मेहेलेमा  स्याउ,  आरु र नासपाती मज्जाले फल्थ्यो । अहिले स्याउ लगभग फाल्न छोडिसक्यो।  अनि सदरमुकामको नजिक र हाम्रो घरदेखि दुइ घण्टा  पैदल दुरीको बिहुँमा सुन्तला लटरम्म फल्थ्यो र अझै पनि फल्दैछ तर स्याउ कत्ति पनि फल्दैनथ्यो र अहिले पनि फल्दैन । त्यस्तै चितवनको सम्म ठाउँमा सुन्तला फ़लाएर खान सकिएन।  तर, यहाँ हाम्रो देशमा फरक-फरक प्रकारको हावापानी तथा माटोमा मात्र फ़लाउन सकिने फलफूलहरु सँगसँगै फलाएको देख्दा अनौठो लाग्यो, अनि हाम्रो देशको कृषि विश्वविधालयको सम्झना आयो।

२०५५ सालमा चितवन आएको केही समयपछि मलाई रामपुर क्याम्पसका बारेमा अलिअलि थाहा भयो । त्यतिखेर त्रिभुवन विश्वविधालयअन्तर्गत कृषि तथा पशु विज्ञान सम्बन्धि अध्ययन् अध्यापन हुने यो नेपालकै केन्द्र थियो। त्यतिखेरैदेखि हाम्रो नेपालको शिक्षा पद्धति तथा मूल्यांकन पद्धति अनुसार उत्कृष्ट क्षमता भएका विद्यार्थीहरुको रोजाइ डाक्टर बन्ने हुन्थ्यो र अहिले पनि त्यो सोचाइ र अभ्यासले  निरन्तरता पाइरहेको छ।

मेरो सम्पर्कमा आएका दिमागवाला साथीहरुको अन्तरक्रिया सम्झिदा डाक्टर पढ्न नछानिएका को दोश्रो रोजाइ रामपुर क्याम्पस पढ्ने हुन्थ्यो।  त्यो सोचाइ अहिले पनि यथावत नै छ।  मैले नै पढाएका धेरै टाठा भानिएका विद्यार्थीहरु पनि MBBS तथा कृषि तथा भेटेरेनरी अध्ययनका लागि फाराम भरेको सुनाउँथे। अर्थात धेरैजसो तेज दिमागवालाको दोस्रो रोजाइमा रामपुर क्याम्पस अर्थात अहिलेको कृषि तथा वन विज्ञान विश्वविद्यालय पर्दछ।

ट्यालेन्ट कहलिएका विधार्थीहरुको चाहनालाई सामान्यीकरण गर्ने हो भने स्वदेशमै रहेका मध्य सायद देशका सबैभन्दा तेज दिमागवाला मानिसहरु महाराजगञ्जमा छन् र त्यसपछिका उत्कृष्ट मान्छेहरु त्यतिखेरको रामपुर क्याम्पस (कृषि तथा पशु विज्ञान अध्ययन संस्थान) अर्थात अहिलेको कृषि तथा वन विज्ञान  विश्वविधालयमा हुनुपर्छ। अध्ययनशील मान्छे नभएकाले देशको समग्र आर्थिक बिकासको लागि कृषि, उद्योग, लगायत कुन-कुन कुराले कसरी प्रभाव पारिरहेका छन् भन्ने अधावाधिक जानकारी छैन।

तर, नेपाल कृषि प्रधान देश भनेर पढेको र अझै पनि कृषि क्रान्ति लगायतका कृषि सम्बन्धित मुद्धाहरु बेला-बेलामा उठ्ने हुनाले देशको कृषि विज्ञको केन्द्रको बारेमा केही जिज्ञासा ब्यक्त गर्न खोजेको छु ।

हालको कृषि विश्वविधालय भन्दा ४ / ५ किलोमिटरको दुरीमा झन्डै १६ बर्षसम्म लगातार बसे पनि मैले निकै छोटो समयको लागि र जम्मा दुइ / तिन पटक भन्दा विश्वविधालयको कम्पाउण्ड भित्र पसेको छैन । शुरु–शुरुमा त्यही गेट हुँदै धेरैपटक आवत–जावत गरे पनि आफ़ूभन्दा धेरै तीक्ष्ण दिमाग भएकाले मात्र पढ्ने ठाउँ भन्ने थाहा भएकाले गेटभित्र पस्ने आँट गरिनँ । शहरबजार तथा शैक्षिक संस्थाहरुको केही माहोल बुझ्दै आएपछि पढ्न मात्र नभएर लडाइँ, झगडा तथा तोडफोड गर्न पनि जान पाइने थाहा पाएपछि पनि त्यहाँभित्र पस्ने कोशिस गरिनँ।

अग्ला अग्ला आँप र लिचीका रुखहरु,  धानको फाँट, मकै बारी अर्थात जे जे देखिन्छन् ती सबै कुराहरु बाहिरबाट नै हेरेर चित्त बुझाएँ।  त्यहाँभित्र हुने बिज्ञ प्राध्यापकहरु, देशका उत्कृष्टमध्येका विधार्थीहरु र कृषि प्रधान देशका लागि गरिने अध्ययन तथा अनुसन्धानहरुबारे त्यतिनै बेलादेखि असाध्यै खुल्दुली लाग्थ्यो र त्यो खुल्दुली अझै पनि मरेको छैन ।

विश्वविद्यालयको कम्पाउण्डभित्र नपसे पनि त्यहाँभित्र कृषि तथा पशु क्षेत्रका ठूला ठूला विज्ञहरु छन् भनेर मैले सुनेको र कुनै कुनैलाई भेटेको पनि थिएँ।  म लगभग पाँच बर्षसम्म लगातार मेरो सानीआमाको (मेरी आमाको बहिनी) घरमा बसे।  सानिआमा को घरमा अटुट रुपमा ८/ १० वटा गाई भैंसीहरु हुन्थे।  म पनि खाली समयमा गाइभैंसीको स्याहार तथा खेतीबालीको काममा समेत सहयोग गर्दथें।  बेलाबेलामा ती गाइभैंसीका लागि पशु  डाक्टर बोलाउने गरिन्थ्यो।  हाम्रो गोठमा नियमितरुपमा आउने  रामपुर क्याम्पस मा कार्यरत (भण्डारी डाक्टर) पशु चिकित्सकसँग मैले त्यहाँको सामान्य गतिविधि तथा अनुसन्धानको बारेमा सोध्ने गर्दथें।  गोठका गाईवस्तुमा आइपर्ने कुनै कुनै जटिल केसमा उहाँले ठूलो डाक्टर बोलाउँछु भन्दै डाक्टरहरु लिएर आउनुहुन्थ्यो र त्यहाँबाट आएका डाक्टरबाट सफल उपचार पनि हुन्थ्यो।

त्यतिखेरको रामपुर क्याम्पस अर्थात कृषि तथा पशु विज्ञान अध्ययन संस्थानका समाचारहरुको स्मरण गर्दा, त्यहाँ कुनै नयाँ अनुसन्धानका विषयको भन्दा पनि लडाई, झगडा तथा तोडफोडका समाचारहरु बढी सुनिन्थ्यो।

त्यस्ता तीक्ष्ण दिमागहरू को जमातले अध्ययन गर्ने ठाउँमा नियमितजस्तै आन्दोलन तथा तोडफोडका समाचारहरु आइरहन्थे। कृषि तथा पशु क्षेत्रका बिधार्थी तथा विज्ञहरुको केन्द्रमा राजनैतिक कारणले काटमार नै भएको समाचार पनि सम्झनाबाट हटेको छैन।

हाम्रो देशका विभिन्न क्षेत्रका बनाउने तथा सपार्ने विषयमा अध्ययन गर्नेहरुले बिगार्ने तथा भत्काउने क्षेत्रमा पनि उत्तिकै सक्रिय भएर लागेको सुन्नु र देख्नु कुनै नौलो होइन र सायद यसबाट कृषि अध्ययनको केन्द्र पनि अछुतो रहन सकेन।

त्यतिखेर उक्त संस्था त्रिभुवन विश्व विधालय अन्तर्गतको क्याम्पस थियो । अध्ययन अध्यापन तथा अनुसन्धानका कुराहरु त्यहीँ भए पनि प्रशासनिक लागायतका कुराहरु काठमान्डूबाट नै नियन्त्रित हुन्थे । बाहिरबाट नियन्त्रित हुनु पर्दा परीक्षा, नतिजा लगायत अनुसन्धानका कुराहरुमा पनि केही न केही असजिलो पक्कै पनि थियो होला।  किनकि कतिपय प्रस्तावहरुलाई केन्द्रमा पठाउनुपर्ने हुन्थ्यो होला र त्यसको जवाफका लागि निकै समय कुर्न पनि पर्थ्यो होला।  तर, अहिले स्वायत्त विश्व विद्यालय बनेको पनि धेरै भैसकेको छ। अर्थात पहिलेको रामपुर क्याम्पस अहिलेको कृषि अध्ययनको प्रशासनिकदेखि लिएर हरेक कुराको केन्द्र बनिसकेको छ ।

फाटफुटरुपमा जे-जस्ता घटना भए पनि र देशका विभिन्न ठाउँमा कृषि तथा पशुविज्ञान सम्बन्धी अध्ययन अध्यापन हुने विभिन्न शैक्षिक संस्थाहरु सञ्चालनमा रहे पनि हालको कृषि विश्वविद्यालय पहिले र अहिले पनि कृषि तथा पशु अध्ययन क्षेत्रको देशकै केन्द्र हो।

विभिन्न वादको ठेली घोकेर हिँड्ने राजनैतिक व्यक्तित्वहरु र त्यही क्षेत्रबाट चुनिएर केही महिना तथा वर्षका लागि कृषिमन्त्री तथा कृषि सम्बन्धी विभिन्न निकायका प्रमुख हुनेहरु भन्दा विश्वविद्यालयमा कार्यरत अध्ययन तथा अनुसन्धानले खारिएका प्राध्यापकहरुलाई नै कृषि क्षेत्रको सुधार कसरी गर्न सकिन्छ भन्ने धेरै जानकारी हुन्छ जस्तो लाग्छ।  यस्ता विज्ञहरु चुप लागेर बस्नु र कहिल्यै कुटो कोदालो नसमात्ने र आफूले केही उत्पादन नगरी जीविकोपार्जन गरिरहेको जमातले कृषि क्रान्ति भन्दै चिच्याउँदै हिँड्दैमा कृषि प्रधान देशको कृषि क्षेत्रको सुधार सम्भव हुन्छ जस्तो लाग्दैन।

फटाहा, स्वार्थी एवं आसेपासे तथा परिवारकेन्द्रित राजनैतिक दल तथा नेताहरु भएको कृषि प्रधान देशमा तपाइँ कृषि क्षेत्रका विज्ञहरु पनि जागिर मात्र खाएर बस्नु कृषि पेशामा संलग्न आम नागरिक तथा समग्र देशकै लागि ठूलो अन्याय हो । सायद अहिलेका सर्वज्ञानी र विलक्षण प्रतिभा भएका राजनैतिक नेतृत्व वर्गले तपाईहरुजस्ता झारे विद्धवानका कुराहरु सुन्दैनन् होला ।

तर, तपाईहरुले आफ्नै पहलमा पनि आफ्नो ज्ञान तथा अनुभव वितरण गर्न सक्ने सम्भावना रहन सक्छ। डा. महावीर पुनः दाइ र डा. गोबिन्द केसीले जस्तै आफ्नो व्यक्तिगत समृद्धि पूरै माया नमारिकन पनि आफ्नो विज्ञतालाई कुनै न कुनै माध्यमबाट अपेक्षाकृत समूहसम्म पुर्याउन सकिने सम्भावना हुन सक्छ।

हुन त हाम्रो देशमा राजनैतिक हस्तक्षेप नभएको कुनै पनि संस्था र निकाय  भेटाउन मुस्किल छ।  त्यसमा कृषि विश्वविद्यालय कसरी अछुतो रहोस् । तर, प्रशासनिक क्षेत्रबाहेक नितान्त प्राविधिक विषयमा राजनैतिक हस्तक्षेपले असर गर्दैनजस्तो लाग्छ।

जागिर भर्खर शुरु भएको भए त जति नै विज्ञ भए पनि राजनैतिक माहोलले साथ् नदिए जागिर खुस्काइदिन पनि सक्छन । तर, तपाईहरु जागिर पक्का भइसकेका र आफ्नो क्षेत्रमा विज्ञता हासिल गरेकाहरुले हुलकै सहारामा शक्तिमा पुगेका हरुसँग डराउनु न्यायसंगत हुँदैन।

राजनैतिक दबाव तथा दलीय प्रभावले तपाईहरुको विज्ञता ओझेलमा पर्नु हुदैन। सकेसम्म त तपाईहरुले राजनैतिक नेतृत्वलाई सहयोग माग्नुभन्दा  उनीहरुलाई नै समय लिएर तँपाईहरुलाई भेट्न आउने गराउनु आवश्यक छ । अहिलेको दलिय दलदलमा त्यस्तो सम्भव नदेखिए पनि पदीय लोभ नभएका र आफ्नो क्षेत्रको अध्ययन तथा अनुसन्धानमा तल्लिन रहनुभएका विज्ञहरु दलीय नियन्त्रण भन्दा माथी नै रहेर आफ्नो क्षेत्रमा योगदान गर्नु उपयुक्त हुन्छ। तपाईहरुले पत्ता लगाएका कुराहरुलाई गिरिजा, मदन, मनमोहन, ओली, प्रचण्डलगायतका नाम राख्न प्रस्ताव राखे भने तपाईहरुले सहजै अस्वीकार गर्न सक्नु पर्दछ।

मैले अरु देशमा के–के फलाए हाम्रोमा किन फल्दैन भन्न खोजेको होइन। मलाई सबैभन्दा बढी चासो कृषि विश्वविद्यालयमा हुने खोज अनुसन्धानको हो।  अहिले चितवनमा झन्डै बिसौं बिघा जमिनमा  बनिरहेको अन्तराष्ट्रिय क्रिकेट रंगशाला कृषि विश्वविद्यालयको जमिन थियो ।

प्रचार-प्रसार गरे अनुसार त्यो जमिन विश्वविद्यालयले उपयोग नगरी राखेको थियो।  देशकै कृषि अध्ययन तथा अनुसन्धान क्षेत्रको केन्द्रमा त्यति धेरै जमिन पहिल्यैदेखि प्रयोगविहीन रहनु र उक्त जमिन रंगशाला निर्माणको लागि दिइसकेपछl त्यो जमिन वापत अर्को जमिन पाएर अध्ययन अनुसन्धानको शुरुवात भएको सुन्न नपाउनु अत्यन्तै दुखद कुरा हो। यसले उक्त संस्थाको अनुसन्धानको क्षेत्रमा हुनुपर्ने बिस्तार र प्रगतिमा प्रश्न उब्जाएको छ।   कृषि प्रधान देशको कृषि अनुसन्धान कक्षा कोठामा र सिसाले बारिएको प्रयोगशाला भित्र सिमित राखेर कृषि उत्पादनमा सुधार ल्याउन पक्कै सम्भव हुदैन।

साच्चै नै कृषि क्षेत्रका नेतृत्वकर्ताहरुको चेत हुने हो भने त कृषिसंग सम्बन्धित विभिन्न छलफलहरु कृषि विश्वविद्यालय परिसरमा नै गर्न सक्ने हो भने अझ धेरै राम्रा र प्रभावकारी बिचारहरु निस्कन सक्ने आशा गर्न सकिन्थ्यो । तर, सरकार संचालकहरुले दलीय समर्थन राख्ने बाहेकका सम्बन्धित क्षेत्रका विज्ञहरुको  राय लिएको बिरलै सुन्न पाइन्छ। सत्तामा पुग्न तँछाड्मछाड र पुगेपछि टिक्नका लागि रणनीति बनाउने बाहेक अहिलेका दलहरुमा कुनै पनि क्षेत्रमा सुधार गर्ने दुरदर्शी सोच र योजना छैन।

तपाईहरु (कृषि विश्वविद्यालयमा कार्यरत प्राध्यापक तथा अध्ययनरत विद्यार्थीहरु) त साँच्चै नै तेज दिमाग भएको मान्छे हो। आफ्नो क्षेत्रमा गाह्रो कामलाई कसरी सहज र सरल तरिकाले गर्न सकिन्छ, कसरी थोरै स्थानमा कम मिहिनेतले धेरै उत्पादन गर्न सकिन्छ भनेर अध्ययन अनुसन्धान गरिरहनुभएको विज्ञ हो । तपाईहरुको ज्ञानमा अलिकति विवेक थपिदिने हो भन्ने बल्ल कृषिमा परिवर्तन सम्भव हुनसक्छ ।

तपाईहरुको अनुभव र बुद्धिले, ज्ञान तथा प्रविधिको अभावमा मुढेबलले कृषिमा समर्पित किसानहरुलाई कसरी सरल र सहज तरिकाले कार्यसम्पादन गर्न सकिन्छ भनेर सहयोग नगर्ने हो भने त तपाईहरु पनि जनतालाई ठग्दै आफू मात्र बन्ने स्वार्थी राजनीतिकर्मीहरु भन्दा के फरक हुनुभयो र ?

अनि तपाईहरुले हासिल गरेको त्यत्रो विज्ञता कक्षा कोठा र शिशाभित्रको प्रयोगशालामै रहयो भने त त्यसले तपाइ आफैंलाई पनि के खुशी देला र ?

(ताराखोला-१, बाग्लुङ)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment