Comments Add Comment

बित्तीय क्षेत्रमा बंगलादेशबाट नेपालले धेरै कुरा सिकेको छ :अर्थमन्त्री

२३ साउन, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बंगलादेशबाट नेपालले वित्तीय क्षेत्रमा धेरै कुरा सिकेको बताएका छन् । नेपालका लागि बंगलादेशकी राजदूत मास्फी बिन्ते साम्ससँगको भेटमा अर्थमन्त्री खतिवडाले लघुवित्त, वित्तीय साक्षरता, वित्तीय पहुँच, मोवाइल बैंकिङ बिस्तारजस्ता विषयमा नेपालले बंगलादेशबाट धेरै सिकेको उल्लेख गरेका हुन् । नेपालमा आफ्नो ७ वर्षे कार्यकाल पुरा गरी बंगलादेश र्फकन लागेकी राजदूत साम्सले अर्थमन्त्रीसँग शुक्रबार भेट गरेकी हुन् ।

भेटमा अर्थमन्त्रीले नेपाल र बंगलादेशबीच ५ दशकभन्दा लामो सम्बन्ध भएको उल्लेख गर्दै द्विपक्षीय व्यापार, उर्जा र लगानीका विविध आयाममा दुई मुलुकबीच सहकार्य भएको उल्लेख गरे । दुवै देश प्राकृतिक, मानव संशाधन लगायतका स्रोतबाट सम्पन्न भएकोले यसको उपयोगबाट द्रुत आर्थिक विकास गर्न सकिने उनको धारणा छ ।

अर्थमन्त्री खतिवडाले नेपाल र बंगलादेशले अतिकम विकसित मुलुकको मञ्च, सहस्राब्दी विकास लक्ष्य र दिगो विकास लक्ष्य निर्माणको चरणमा सहकार्य गरेको स्मरण गर्दै मन्त्री खतिवडाले अन्तर्राष्ट्रिय र क्षेत्रीय सवालमा समान धारणा राख्ने राष्ट्र भएकोले सहकार्य हुनसक्ने साझा विषयमा हातेमालो गर्दै अगाडि बढ्नुपर्नेे बताए ।

विपद् व्यवस्थापन, जलवायु परिवर्तन, श्रमिकको सुरक्षा, बसाइसराई, मानवीय सहयोग, श्रम व्यवस्थापन र शरणार्थीको व्यवस्थापन जस्ता विषयमा सहयोग र सहकार्य गर्न सक्ने अवस्था रहेको अर्थमन्त्रीको भनाइ छ । सार्कको माध्यमबाट क्षेत्रीय सहयोग तीव्र गतिमा अघि बढाउन समान भाषा र संस्कृति भएका नेपाल, भारत, बंगलादेश र भुटान बीचको उपक्षेत्रीय इकाई महत्वपूर्ण हुन सक्ने अर्थ मन्त्रीले बताए ।

अर्थमन्त्री खतिवडाले बंगलादेशले आर्थिक विकासमा गरेको प्रगतिको प्रशंसा गरेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ । कोभिड- १९ ले ल्याएको चुनौति र अवसरलाई मध्यनजर गरी सहयोगका नयाँ क्षेत्रमा सहकार्य गर्न समेत अर्थमन्त्रीले आव्हान गरेका छन् ।

भेटमा राजदुत साम्सले बंगलादेश नेपालसित क्षेत्रीय र अन्तर्राष्ट्रिय मञ्चमासँगै अघि बढ्ने प्रतिवद्धता व्यक्त गरिन् । उनले दुई देशबीच व्यापार, उर्जा सहयोग, लगानीलगायत क्षेत्रमा सहकार्य आवश्यक रहेको धारणा राख्दै सहुलियतपूर्ण व्यापारको माध्यमबाट समृद्धिका लागि कार्य गर्न सकिने बताइन् । वातावरणीय संवेदनशिलता सम्बन्धी मञ्च, कोलम्बो मञ्च, सगरमाथा सम्बाद जस्ता मञ्चको उपयोग गरी द्विपक्षीय हितमा कार्य गर्न अनुरोध गर्दै उनले नेपाल र बंगलादेश बीचको पाँच दशक लामो साझेदारी र सहकार्यलाई थप सुदृढ गर्न सकिने धारणा व्यक्त गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment