Comments Add Comment

साताका ३ कविता

१. अर्को विकल्प : तिम्रो सशक्तीकरण

– रामगोपाल आशुतोष

आफन्तहरूको भेलामा
विनाअनुमति पसेर घरभित्र
तिम्रा आमा–बुबासामु
पारेर शीर ठाडो
भन्न मन छ–
कृपया हजुरको प्यारी छोरीको
मुटुको ढुकढुकीमा ‘प्रवेश अनुमति’ दिनुहोस् !

म कसम खाँदिनँ ।
प्रण गर्छु
–विचारको दास बनाउने छैन
–भावनाको बाढीमा बगाउने छैन
–संस्कृतिको दलदलमा फसाउने छैन
–निन्दा र हिंसाको पाठ पढाउने छैन
बरु
एक जिम्मेवार पिताले जस्तै
प्रेमले फुलाउने छु उसको काँधमा
दायित्व र सहअस्तित्वको संस्कार
एक ममतामयी माताले जस्तै
मायाले हुर्काउने छु उसको मनमा
न्याय र समताले प्रत्याभूत विधिको शासन
एक जिम्मेवार दाइले जस्तै
सजाउने. छु उसको विवेकमा
कर्म र स्वाभिमानको संस्कृति
एक दक्ष शिक्षकले जस्तै
बनाउने छु उसको मस्तिष्कलाई
शिल्प, विज्ञान र प्रविधिले सशक्त
प्रण गर्छु–
म उसको परमेश्वर होइन
बन्ने छु
हरेक समृद्धिको साक्षी
हरेक समावेशी रूपान्तरणको साथी
हरेक समता र न्यायिक युद्धको सारथी !

एकदिन कुनै मध्यसहरको भीडमा
अङ्गालेर तिमीलाई
‘जुजु धौ’ बनाउन
मज्जाले उमालेको दूधमाथि छरेझैं धौपुसा
छर्न मन छ
तिम्रो अङ्गालोमा प्रेमको ब्याक्टेरिया !

मेरी ज्यान
कति हिँड्नु कतै पुग्न नसकिने
माक्र्स, लेनिन या माओको पुरानो गोरेटोमा !

कति भौँतारिनु
गाउँदै सनातनी नश्लीय सत्ताको भजन ?
हरि राम, हरि कृष्ण
कृष्ण कृष्ण, हरि हरि !

‘लाँपाङ द्यो’ले झैं छेकिरह्यो
तिम्रो मौलिक हकको राजमार्ग
हजारौँ शताब्दी गुज्रेर गए
फगत एक दिन पनि
तिम्रो लागि सुनौलो बनेर आएन !

म चाहन्छु
नयाँ समाज, अर्थ र राजनीति
नयाँ शिक्षा, कृषि र विज्ञान
नयाँ उद्योग, विकास र प्रविधि
अब
तिम्रो बाटो भएर हिँडून्– नयाँ विश्व !

(धौपुसाः दही जमाउन दूधमा लगाइने पुरानो दही, जोर्डन । लाँपाङ द्योः बाटो छेक्ने देउता)

२. म राष्ट्रगान गाउन सक्दिनँ

– नरेन्द्रकुमार नगरकोटी

जेब्राक्रसमा एकाएक रातो बत्ती बलेको छ
भयानक खतराको

तुषारोसँग लड्दै
कलेज हिँडेको थियो एउटा फूल

हान्ने साँढेजस्तो भएर
बेपर्वाह दगुरिरहेको समयको गाडीको एक क्रुर चक्का
निसङ्कोच गुडेको छ उसको देशभक्त छातीमाथि

राष्ट्रका लागि सपना सिलाइरहेका सियोधागोहरू
सडकपेटीबाट भागाभाग भएका छन्

काँधमा नाम्लो नामक ‘अफिस’ बोकेर बाटो काटिरहेका
असिनपसिन निधार र गालाहरू
आँखा चिम्लेर पसेका छन् गल्लीभित्र

फुटपाथमा स्कुले नाबालकको जुत्ता सिलाइरहेका
ठेला उठेका हत्केला र चिरा परेका कुर्कुच्चाहरू
जुत्ता नै छाडेर कुदेका छन् बेतोडले

सियोधागो झुण्डिइरहेको जुत्ता हेरेर टोलाइरहेको छ नाबालक

आइडीकार्ड घाँटीमा भिरेर आफ्नै परिचयको खोजीमा
सहरका चोक र गल्लीहरूमा
छातीमा होर्डिङ बोर्ड झुन्ड्याएर उभिएका अफिसका
भाषा कक्षा र काउन्सिलिङ सेसनमा
जिब्रोले ओठ चलाउँदै चिउँडो मुसारिरहेका जवानहरू
हेरिरहेका छन्
नझिम्क्याइकन आँखा एकपटक पनि

केही न केही त जरुर भइरहेछ

एकैछिनमा सडक खाली भएको छ
जेब्राक्रसको मध्यभागमा लडिरहेको लाश गायब भएको छ
राष्ट्रप्रमुखको सवारी भएको छ

देशभक्तहरूकै रगत लत्पतिएको राजमार्गमा
हुइँकिइरहेछ साइरनजडित गाडी
बिल्कुल बेखबर छ राष्ट्रप्रमुख

यस्तो व्यवस्थामा,
म राष्ट्रगान गाउन सक्दिनँ ।

३. युद्धको घोषणा

– प्रज्ज्वल पराजुली

आऊ
एउटा युद्धको घोषणा गरौं !

पल्टाऊ
गाता गलिसकेका युद्धशास्त्रका पुस्तक
कण्ठ गर उसरी नै जीर्ण भइसकेका
इतिहास, षड्यन्त्र र युद्ध कलाहरू

महाभारत पढ
आइन्स्टाइन पढ
हिटलर पढ
बुस पढ
गद्दाफी पढ
नछुटाई विश्व क्रान्तिका सबैसबै कथा पढ

कदापि अबोध बालकको आँखा
पढ्दै नपढ

तिमी भान्साको कुकरलाई बम देख्न थाल्नेछौ
काँटा–चम्चाहरूलाई छर्रा देख्नेछौ
तिमी आफ्नै थाल पगाल्नेछौ
र बन्दुक बनाउने छौ

म भने केही गर्ने छैन,
बस, मानिसको मन पगाल्नेछु
र उसलाई दया, करुणा, क्षमा भएको
पूर्ण मान्छे बनाउने छु

आऊ त्यस्तो एउटा
युद्धको घोषणा गरौं !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment