Comments Add Comment
विचार :

राजनीतिमा ‘प्याराडाइम सिफ्ट’को रुपरेखा

बीसौं शताब्दीको शुरुवातसम्म पनि विज्ञान जगतमा यो विश्वास गरिन्थ्यो कि ‘निरन्तर विकास’ विज्ञानको आम विषेशता हो । विज्ञानको एउटै आधारभूत पद्दतिभित्र पुराना सिद्धान्तलाई नयाँ सिद्धान्तले प्रतिस्थापित गरिरहन्छ । यो प्रकृया सदाकाल चलिरहन्छ । विज्ञानमा निरपेक्ष सत्य भन्ने कुनै चिज हुँदैन ।

तर, विज्ञानको यो मान्यता बीसौं शताब्दीको शुरुवातबाट संकटमा फस्यो । विज्ञान जगतमा प्रश्नहरु बढिरहेका थिए । तर, प्रचलित पद्दतिभित्रबाट ती प्रश्नहरुको उत्तर फेला परिरहेको थिएन । विज्ञानका पुराना सिद्धान्तलाई प्रतिस्थापित गर्ने नयाँ सिद्धान्तहरुको विकास हुन सकिरहेको थिएन । जसका कारण विज्ञानमा संकट पैदा भएको थियो ।

कालक्रममा विज्ञानले ती प्रश्नहरुको समाधान त गर्यो, तर त्योविज्ञानको परम्परागत पद्दतिभित्रै नयाँ सिद्धान्त बिकास गरेर होइन, विज्ञानको प्रचलित पद्दतिलाई नै अतिक्रमण गरेर मात्र संभव भयो । अर्थात, गहिरा प्रश्नहरुको समाधान खोज्ने क्रममा विज्ञानले आफ्नै परम्परागत पद्दति र अवधारणालाई खण्डन गर्दै, नयाँ पद्दति र अवधारणासहितको ‘क्रान्तिकारी विज्ञान’ जन्माउनुपर्यो ।जसले विज्ञानको तीन सय वर्ष लामो परम्परामा ‘क्रान्तिकारी विच्छेद’ पैदा गर्यो । परम्परागत विज्ञानलाई ‘शास्त्रीय विज्ञान’, र नयाँ विज्ञानलाई ‘आधुनिक विज्ञान’ भन्न थालियो । यसैलाई विज्ञानमा ‘प्याराडाइम सिफ्ट’ भनियो ।

आज विज्ञानमा दुईखाले ‘प्याराडाइम’ हुन्छन् भन्ने मान्यता सर्वस्वीकार्य छ । तात्विक विज्ञानको क्षेत्रमा यस विषयमा पर्याप्त काम भएका छन् । तर, समाज विज्ञानको क्षेत्रमा यो कमजोर छ । अर्थात् तात्विक विज्ञानमा भएको प्याराडाइम सिफ्टले समाज विज्ञानमा के कस्तो परिवर्तन ल्याउँछ भन्ने विषयमा एकदमै कम चर्चा भएको छ । विषेश गरी राजनीतिक विज्ञानको क्षेत्रमा यो पछि परेको विषय हो ।

यस आलेखमा राजनीतिमा प्याराडाइम सिफ्टको सामान्य र संक्षिप्त रुपरेखा कोर्ने प्रयास गरिएको छ ।

शास्त्रीयताको गोलचक्कर 

शास्त्रीय विज्ञानको पद्दति र अवधारणा भित्रबाट उन्नाइसौं शताव्दीसम्म आउँदा राजनीतिमा जम्मा चार प्रकारका विचारधाराहरु देखा परे । उदारवाद, समाजवाद/साम्यवाद, राष्ट्रवाद र नैतिकतावाद । आजसम्म पनि कुनै न कुनै रुपमा यी चार थरी विचारधारा नै विश्वमा प्रचलित छन् । विज्ञानको शास्त्रीय धारामा संकट आएजस्तै राजनीतिक विज्ञानका यी चारैवटा धारा दशकौंदेखि संकटग्रस्त छन् । तर संकट समाधानको पहल गर्न भने आजका ‘राजनीतिक वैज्ञानिक’हरुले खास ध्यान दिएका छैनन् ।

अर्थात, राजनीतिमा प्याराडाइम सिफ्टको ध्वनि अझै पनि सुनिएको छैन ।

मोहन तिम्सिना

राजनीतिक अगुवाहरु पुरानै प्याराडाइमभित्र समाधान खोजिरहेका छन् । उदारवादीहरु भन्छन्, लोकतन्त्रमाथि अतिवादी आक्रमण भयो । लोकतन्त्रलाई सुदृढ बनाउनु नै समाधान हो । साम्यवादीहरु भन्दछन्, माक्र्सका सिद्धान्तमाथि इमानदार हुन नसक्दा समस्या पैदा भयो । माक्र्सका सिद्धान्तलाई इमानदार भएर लागु गर्दा समाधान हुन्छ । राष्ट्रवादीहरु भन्दछन्, पहिचानको सवाललाई बेवास्ता गर्दा समस्या पैदा भएको हो ।

पहिचानका सवालमा इमानदार हुँदा समाधान हुन्छ । नैतिकतावादीहरु भन्दछन्, नेतृत्व अनैतिक भयो, नैतिक नेतृत्वको बिकासले समाधान दिन्छ ।

यसबाहेक ‘प्रजातान्त्रिक समाजवादी’ र ‘परिमार्जित समाजवादी’ हरु पनि छन् । जो शास्त्रीय प्याराडाइमभित्रै केही प्राविधिक परिमार्जनबाट समाधान निकाल्न सकिने बिश्वास गर्दछन् ।

तर, शास्त्रीय राजनीतिका अगुवाहरुले भने बमोजिमको समाधान चाहिँ कहिँ कतै सम्भव भइरहेको छैन । बरु शास्त्रीय विचारधाराहरुले जे दाबी गरे, त्यसको ठीक विपरीत परिणाम आइरहेको छ । उनीहरुको राजनीतिक आदर्श केवल दस्तावेज र भाषणमा सीमित भएको छ ।

व्यवहारमा सबैखाले शास्त्रीय राजनीतिक विचारधाराहरुले आफ्नै घोषित आदर्शका विपरीतको परिणाम देखाइरहेका छन् । अर्थात, क्रान्तिकारी हुँ भन्ने सम्झौतावादी भएर निस्किएको छ । त्यागी हुँ भन्ने भोगी भएर निस्किएको छ । सिद्धान्तनिष्ठ हुँ भन्ने सिद्धान्तहीन भएर निस्किएको छ । नैतिकवान हुँ भन्ने, अनैतिक भएर निस्किएको छ । उदारवादी हुँ भन्ने निरंकुश भएर निश्किएको छ । समाजवादी हुँ भन्ने स्वेच्छाचारी भएर निश्किएको छ ।

यति हुँदा पनि शास्त्रीय धाराका राजनीतिकर्मीहरुले पुरानो खोक्रो आदर्श भट्याउन छोडेका छैनन् । शास्त्रीय राजनीतिकर्मीहरुको यो रवैयाले राजनीतिक संकटलाई बढाएको छ ।

विश्वभर नै राजनीतिक नेतृत्वप्रति मानिसहरुका आक्रोष, असन्तुष्टि र कुण्ठा बढेका छन् । राज्य र राज्य प्रणालीप्रतिको जनविश्वास कमजोर हुँदै गइरहेको छ । समाजमा आम अराजकताको सम्भावना बढेर गएको छ ।

आजका यी समस्याहरुले राजनीतिमा प्याराडाइम सिफ्टको माग गर्दछन् । तर आजसम्म पनि लगभग विश्वभरि नै राजनीतिक विज्ञानले आधुनिक विज्ञानको ‘क्रान्ति’सँग कदम मिलाउने प्रयास गरेको छैन । विश्व राजनीतिअझै पनि शास्त्रीयताको गोलचक्करमै अल्मलिइरहेको छ ।

यान्त्रिक प्याराडाइम 

वैज्ञानिक प्याराडाइमको अवधारणा बिकास गर्ने चिन्तक तथा वैज्ञानिक ‘थोमस कुन’ हुन् । सन् १९६२ मा प्रकाशित उनको पुस्तक, ‘वैज्ञानिक क्रान्तिको संरचना’ (द स्ट्रक्चर अफ साइन्टीफिक रिभोलुसन) मा उनले वैज्ञानिक प्याराडाइमभित्र तीनवटा तत्व हुने बताएका छन् । पहिलो, अवधारणा (कन्सेप्ट), दोस्रो, सामाजिक मूल्यमान्यता (भ्यालु) र तेस्रो प्रविधि (टेक्निक) ।

अवधारणाअन्तरगत, जीवन र जगतको आधारभूत स्वभाव के हो भन्ने विषयका निश्कर्षहरु हुन्छन् । मूल्यमान्यता अन्तरगत, कस्तोखालको जीवन दर्शनले मनुस्यको हित हुन्छ भन्ने निश्कर्ष हुन्छन् । प्रविधि अन्तरगत, अवधारणा र मूल्यमान्यतालाई सार्थक बनाउन कस्तो उपाय अपनाउने भन्ने निश्कर्ष हुन्छन् ।

एरिस्टोटल, ग्यालिलियो, फ्रान्सिस वेकन, रेने डेकार्ट र आईज्याक न्युटनसम्मका चिन्तक तथा वैज्ञानिकहरुका अनुसन्धान कर्मले जीवन, जगत र मानव कल्याणका विषयमा जे निश्कर्ष दिएका थिए, त्यसलाई विज्ञानको शास्त्रीय वा यान्त्रिक प्याराडाइम भनिएको छ ।

यसमा पनि डेकार्टको दर्शन र न्युटनको गणितको जगमा बनेका सारा तात्विक तथा सामाजिक विज्ञान नै शास्त्रीय वा यान्त्रिक प्याराडाइम हुन् ।

वस्तुगत अवलोकनबाट संसारका सारा रहस्यहरु जान्न सकिन्छ भन्ने धारणा नै यस पद्दतिको आधारभूत प्रस्थापना हो । ‘विपरीत तत्व’ को अवधारणा यसको अर्को महत्वपूर्ण प्रस्थापना हो । अर्थात, यस पद्दतिले हरेक वस्तु विपरीत तत्वले बनेको हुन्छ भन्ने मान्छ । जस्तो कि–प्रकाश र अन्धकार, पदार्थ र चेतना, शरीर र मन, आदि ।

यसबाहेक यान्त्रिक प्याराडाइमका चारवटा अवधारणागत निश्कर्ष छन् । पहिलो, यसले हरेक विषय यथार्थ हुन त्यसको भौतिक स्वरुप हुनु अनिवार्य मान्दछ । भौतिक स्वरुप नभएको चिज अयथार्थ हो भन्ने मानिन्छ । प्रकृति (पदार्थ) लाई ‘निर्जिव र निश्क्रिय भौतिक वस्तु’ मानिन्छ । चेतनालाई सजिव र सक्रिय तत्व मानिन्छ । तर, चेतनाको पृथक सत्ता हुँदैन, यो पदार्थको छायाँ मात्र हो भन्ने मानिन्छ । पदार्थ (स्थान–समय) को रुपान्तरण मात्र हुन्छ, आदि र अन्त्य हुँदैन भन्ने मानिन्छ । सारमा, पदार्थ नै सास्वत चिज हो भन्ने मानिन्छ ।

दोस्रो, यसले हरेक वस्तुको आधारभूत इकाइ (वेसिक बिल्डिंग व्लक) हुन्छ भन्ने मान्दछ । पदार्थको आधारभूत इकाइ, ‘परमाणु कण’ हो, जीवनको आधारभूत इकाइ ‘सेल’ हो भन्ने मानिन्छ । यस्ता आधारभूत इकाइको फैलावट बाटै जीवन र जगत निर्मित भएको मानिन्छ । साथै ‘अंश’ को अध्ययनबाट ‘समग्र’लाई जान्न सकिन्छ भन्ने पनि मानिन्छ ।

समाजलाई यान्त्रिक विम्वमा हेर्ने, समाजको गति गणितीय हुन्छ भन्ने, भौतिक सुखको प्राप्तिलाई नै ‘मुक्ति’ मान्ने र सामाजिक द्वैतमध्ये कुनै एकलाई निषेध गर्दा ‘मुक्ति’ मिल्छ भनेर विश्वास गर्ने विचारधारा नै राजनीतिको शास्त्रीय वा यान्त्रिक प्याराडाइम हो

‘समग्र’लाई जान्न त्यसको ‘अंश’ लाई ‘समग्र’बाट टुक्रा गरेर झिक र सुक्ष्म अवलोकन गर । यसो गर्दा पुरा ‘समग्र’ को रहस्य जान्न सकिन्छ । जसरी एउटा कृतिम यन्त्र साना साना स्वतन्त्र पार्टपुर्जाले बनेको हुन्छ, जीवन र जगत पनि यस्तै साना साना स्वतन्त्र ‘पार्टपुर्जा’ ले बनेको हुन्छ । पार्टपूर्जाको अध्ययनबाट समग्र यन्त्रको बिषेशता थाहा पाउन सकिन्छ । यो शास्त्रीय प्याराडाइमको दोस्रो आधारभूत प्रस्थापना हो ।

यसरी जीवन र प्रकृतिलाई यन्त्रसँग तुलना गर्ने वा यन्त्रको बिम्बमा हेर्ने भएकाले यसलाई यान्त्रिक प्याराडाइम भनिएको हो । हरेक चिजलाई अंशमा संकुचन गर्न सकिन्छ भन्ने बिश्वासमा आधारित भएकोले यसलाई संकुचनमुखी दृष्टिकोण (रिडक्सनिष्ट एप्रोच) पनि भनिएको छ । समग्रबाट अंशलाई अलग पार्न सकिन्छ भन्ने बिश्वासमा आधारित भएकोले यसलाई अलग–थलगमुखी दृष्टिकोण (फ्र्यागम्यान्टेड एप्रोच) पनि भनिएको छ ।

तेस्रो, यसले हरेक वस्तुभित्र हुने गति वा घटनालाई ‘कार्य’ र ‘कारण’ मा विभाजित गरेर हेर्छ । हरेक घटनाको कार्य–कारण सम्बन्ध हुन्छ, जसको गणितीय विश्लेषण गर्न सकिन्छ र न्युटनीय गणितका नियमबाट परिभाषित गर्न सकिन्छ भन्ने मानिन्छ । साथै, जीवन र प्रकृतिका परिघटनाहरुले क्रिया र प्रतिक्रियामा आधारित एकल रेखीय गणित (लिनियर डाइनामिक्स) अनुसरण गर्दछन्, भन्ने मानिन्छ । ‘वैज्ञानिक निर्धारणवाद’ को सिद्धान्त प्रकृति र जीवन दुवैमा लागु हुन्छ भन्ने मानिन्छ ।

चौथो, यसले संसारमा जीवन र जगतको संचालनका आधारभूत नियम छन्, विज्ञानको उद्देश्य, ती नियम पत्ता लगाउनु हो भन्ने मान्छ । अर्थात संसारका जति पनि रहस्य छन्, ती मानवीय बुद्धिबाट जान्न र परिभाषित गर्न योग्य छन् भन्ने बिश्वास गर्दछ ।

यान्त्रिक प्याराडाइमको सामाजिक मूल्यमान्यताले भौतिक तत्व नै सत्य हो भन्ने माथिको निश्कर्षलाई जीवनमा लागु गर्न जोड गर्दछ । अर्थात भौतिक सुख बाहेक अरु सब भ्रम हो भन्दै यसले इश्वरवादी सामाजिक मूल्यमान्यताको खण्डन गर्दछ । भौतिक तत्व (धनसुख, पदसुख र शरिर सुख) को अवस्थाले नै जीवनको उन्नतिलाई निर्धारण गर्दछ भन्ने मान्छ । भौतिक सुखको प्राप्ति नै मानव जीवनको परम लक्ष्य हो, भौतिक सुखको ग्यारेन्टीबाट मात्र ‘मुक्ति’ को ढोका खुल्छ भन्ने मान्छ । त्यसैले भौतिक सुखको लक्ष्य प्राप्त गर्न ‘प्रकृतिसँग संघर्ष’ र असीमित ‘आर्थिक बृद्धि’ मा जोड दिइन्छ । प्रतिस्पर्धा, तर्क र विज्ञानमा जोड दिइन्छ ।

यान्त्रिक प्याराडाइमको प्रविधि ‘विपरीत तत्व’को अवधारणामा नै आधारित हुन्छ । हरेक अस्तित्वमा देखिने ‘विपरीत तत्व’ हरु अलग थलग छन्, तिनीहरुमध्ये कुनै एकलाई मेटाउन र कुनै एकलाई बचाउन सकिन्छ भन्ने मानिन्छ । त्यसैले जीवनलाई उन्नत बनाउन विपरीत तत्वमध्ये कुनै एकलाई निषेध गर । जस्तो कि– उज्यालो ल्याउनु छ भने अँध्यारोलाई निषेध गर, सुख ल्याउनु छ भने दुःखलाई निषेध गर, निरोग ल्याउनु छ भने रोगलाई निषेध गर भन्ने मानिन्छ । यसरी यान्त्रिक प्रविधिले विपरित तत्वमध्धे कुनै एकलाई निषेध गरेर समाधान खोज्ने पद्दतिमा विश्वास गर्छ ।

राजनीतिको यान्त्रिक प्याराडाइम 

माथिका यान्त्रिक प्याराडाइमका प्रस्थापनाहरु मुलतः भौतिकशास्त्रका नियम हुन् । तर, विगत तीन सय वर्षमा यी नियम भौतिक विज्ञानमा मात्र सीमित भएनन् । जीव विज्ञान, स्वास्थ्य विज्ञान, मनोविज्ञान, समाजशास्त्र र राजनीतिशास्त्रसम्म माथिका प्रस्थापनाहरुलाई आयात गरियो ।

यान्त्रिक प्याराडाइमका माथिका निश्कर्षलाई राजनीतिमा आयात गर्दा निम्नानुसारको चिन्तनगत ढाँचा (प्याराडाइम) निर्माण भयो :

पहिलो, समाजलाई ‘यन्त्र’ मान्ने र समाजमा पनि ‘विपरीत तत्व’ को खोजी गर्ने परम्परा शुरु भयो । सामाजिक परिघटनालाई पनि वस्तुगत अवलोकन, निरीक्षण र विश्लेषणका गणितीय विधिद्वारा व्याख्या गर्न थालियो । उदारवादीहरुले व्यक्ति र राज्य वीचको विपरीत तत्व खडा गरे । साम्यवादीहरुले पुँजीपति र मजदुरको, राष्ट्रवादीहरुले शासक जाति र शासित जातिको र नैतिकतावादीहरुले नैतिक नेतृत्व र अनैतिक नेतृत्व नामका विपरीत तत्वमा समाजलाई विभाजित गरे ।

दोस्रो, समाजमा पनि आधारभूत इकाइ (बेशिक बिल्डिंग ब्लक) को खोजी गरियो । उदारवादीहरुले ‘व्यक्ति’ लाई, साम्यवादीहरुले ‘वर्ग’ लाई, राष्ट्रवादीहरुले ‘वंश’ लाई र नैतिकतावादीहरुले ‘नेतृत्व’ लाई समाजको आधारभूत इकाइ माने । जुन आधारभूत इकाइले समाजको चरित्र निर्माणमा निर्णायक भूमिका निभाएको हुन्छ भन्ने मानियो ।

तेस्रो, सामाजिक परिघटनालाई पनि कार्य–कारण सम्बन्धको गणितमा व्याख्या गर्न थालियो । समाजको गतिलाई क्रिया र प्रतिक्रियाको एकल रेखीय (लिनियर डाइनामिक्स) बिकासक्रममा व्याख्या गरियो । ‘वैज्ञानिक निर्धारणवाद’ को सिद्धान्त समाजमा पनि लागु हुन्छ भन्ने मानियो । यस क्रममा उदारवादीहरुले व्यक्ति र राज्यवीचको सम्बन्धलाई, साम्यवादीहरुले वर्ग सम्बन्धलाई, राष्ट्रवादीहरुले जातिहरुवीचको सम्बन्धलाई र नैतिकतावादीहरुले नेतृत्व र राज्य वीचको सम्बन्धलाई कार्य–कारण सम्बन्धको यान्त्रिक गणितमा व्याख्या गर्ने प्रयास गरे ।

चौथो, समाजको गति पनि बोधगम्य हुन्छ भनेर देखाउने प्रयास गरियो । यही आधारमा सुदूर इतिहास र सुदूर भविश्यको प्रक्षेपण गरियो । उदारवादी, राष्ट्रवादी र नैतिकतावादीहरुले आदिम समाज, अर्धसभ्य समाज र सभ्य समाजको एकल रेखा देखाए । साम्यवादीहरुले आदिम साम्यवाद, दासयुग, सामन्ती युग, पुँजीवादी युग, समाजवादी युग र साम्यवादी युगको एकल रेखा देखाए ।

सारमा, समाज पनि ‘यन्त्र’ नै हो, गतिको यान्त्रिक नियम समाजमा पनि लागु हुन्छ भन्ने विश्वास निर्माण गरियो ।

सामाजिक मूल्य मान्यताको ठाउँमा सबै विचारधाराहरुले एक मुखले भने, भौतिक सुखको प्राप्ति नै मनुश्य जीवनको लक्ष्य हो । ‘प्रकृतिसंग संघर्ष’ र असीमित ‘आर्थिक बृद्धि’ नै समृद्धिको आधार हो । सामाजिक संघर्ष र प्रतिस्पर्धा नै राजनीतिक आन्दोलनको विधि हो । भौतिक सुख भोग नै ‘मुक्ति’ हो ।

प्रविधिको क्षेत्रमा सबैले ‘विपरीत तत्व’ मध्धे कुनै एकलाई निषेध गर्ने उपाय अपनाए । उदारवादीहरुले राज्यलाई मेटाउने, व्यक्तिलाई बचाउने उपाय रोजे । साम्यवादीहरुले निजी धन, पुँजीपति र राज्यलाई मेटाउने, सामूहिक धन, श्रमिक र समुदायलाई बचाउने उपाय रोजे । राष्ट्रवादीहरुले शासकजातिलाई मेटाउने, शासित जातिलाई बचाउने उपाय रोजे । नैतिकतावादीहरुले अनैतिक नेतृत्वलाई मेटाउने, नैतिक नेतृत्वलाई बचाउने उपाय रोजे । यसरी राजनीतिको यान्त्रिक वा शास्त्रीय प्याराडाइम तयार भयो ।

माथिका विचारधाराहरुका अभ्यासका खराबीहरु देखापरेपछि, विषेशतः उदारवाद र साम्यवादका अभ्यासका खराबी प्रकट भएपछि पछिल्लो समयमा ‘प्रजातान्त्रिक समाजवादी’ र ‘परिमार्जित समाजवादी’ विचारधारा देखा परे । यिनीहरुले उदारवाद र साम्यवादलाई हुबहु स्वीकार्न नसकिने कुरा त गरे । तर, यान्त्रिक प्याराडाइमको ‘अवधारणा’ र ‘मूल्यमान्यता’लाई भने यथावत स्वीकार गरे । मात्र ‘प्रविधि’ मा परिमार्जन गरेर उदारवाद र साम्यवादको विकल्प दिन सकिन्छ भन्ने कुरा गरे ।

तर, अवधारणा र मूल्यमान्यताको विकल्पविना प्रविधिमा मात्र परिमार्जन गर्ने कुराले प्याराडाइम सिफ्टको प्रतिनिधित्व गर्न सक्दैन थियो । त्यसैले, ‘प्रजातान्त्रिक समाजवादी’ र ‘परिमार्जित समाजवादी’ विचारधाराहरु पनि यान्त्रिक प्याराडाइमकै कित्तामा सीमित भए । व्यवहारिक अभ्यासमा पनि यिनीहरुले आफ्नो विषेश गुणधर्म प्रकट गराउन सकेनन् ।

सारमा, समाजलाई यान्त्रिक विम्वमा हेर्ने, समाजको गति गणितीय हुन्छ भन्ने, भौतिक सुखको प्राप्तिलाई नै ‘मुक्ति’ मान्ने र सामाजिक द्वैतमध्ये कुनै एकलाई निषेध गर्दा ‘मुक्ति’ मिल्छ भनेर विश्वास गर्ने विचारधारा नै राजनीतिको शास्त्रीय वा यान्त्रिक प्याराडाइम हो ।

माथि चर्चा गरिएका सबैखाले विचारधाराहरु यही यान्त्रिक प्याराडाइममा निर्मित छन् । यिनीहरुको सामाजिक पक्षधरता मात्र फरक हो । सोच्ने ढंग एउटै हो । त्यसैले, सबै शास्त्रीय विचारधाराहरुको सार एउटै हो, रुप मात्र फरक हो । वृक्ष एउटै हो । हाँगा मात्र फरक हो ।

प्याराडाइम सिफ्ट 

बीसौं शताब्दीको पहिलो र दोस्रो दशक, विज्ञानका प्रायः सबै विधाहरुका लागि संकटका दशक थिए । किनकि शास्त्रीय पद्दतिबाट विज्ञानका समस्याहरु समाधान हुन छाडेका थिए । भनिन्छ, संकटभित्रै समाधान पनि छिपेको हुन्छ । यो मान्यता विज्ञानका सन्दर्भमा पनि चरितार्थ भयो । अथक मेहनतपश्चात वैज्ञानिकहरुले विज्ञानका समस्याहरुको समाधान भेट्टाउन सफल भए । यो खुशीको कुरा थियो ।

तर तुरुन्तै, यो विषय वैज्ञानिकहरुका लागि पीडा र आश्चर्यको विषय पनि बन्यो । किनकि उनीहरुका नयाँ आविश्कारले तीन सय वर्ष लगाएर विकास गरिएको विज्ञानको पद्दति र अवधारणालाई नै खण्डित गरिदियो, जुन इतिहास र परम्परासँग उनीहरुको निकै गहिरो लगाव र मोह थियो ।

त्यसैले विज्ञानको परम्परा नै खण्डित भएको देख्दा शुरुवातमा उनीहरुलाई आफ्ना आविश्कारप्रति नै अविश्वास भयो । यस्तो जटिल अवस्थाको स्मरण गर्दै क्वान्टम वैज्ञानिक वर्नर हाईजेन्वर्ग आफ्नो पुस्तक ‘फिजिक्स एण्ड फिलोसफी’ मा भन्छन् :

“क्वान्टम सिद्धान्तको व्याख्यासँग सम्बन्धित प्रश्नहरुका सम्बन्धमा कोपेनहेगनमा भएका घनिभूत अध्ययनहरुले अन्ततः परिस्थितिलाई पूर्ण… स्पष्टतातर्फ मोडिदियो । तर, यो कसैले सहजै स्वीकार गरिहाल्ने अवस्था थिएन । म बोहर (निल्स बोहर) सँगका छलफलहरु सम्झन्छु, जुन घण्टौंसम्म र अबेर रातसम्म चल्थे र अन्त्यमा पुरै निराशामा टुंगिन्थे । जब छलफल सकिन्थे, तब म एक्लै छेउको पार्कमा हिँड्न निस्कन्थें । म स्वयंलाई पटक–पटक दोहोर्याएर सोध्थें, के हाम्रा परमाणु प्रयोगहरुले देखाएजस्तै प्रकृति यतिसारो असंगत छ ?”  (फ्रिटजोफ काप्रा, अनकमन वीस्डम, पृ.१७, उद्धृत गरिएको)

त्यसैगरी क्वान्टम विज्ञानको बिकासले तीन सय वर्षका विज्ञानका मान्यतालाई खण्डन गरेको थाहा पाएपछि वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले निम्नानुसार अभिमत प्रकट गरेका थिए :

“यस्तो लाग्यो, जस्तो कि, कसैको बसीराखेको जमिन धस्सिएको होस र थप केही निर्माण गर्ने कुनै सुदृढ आधार कहिँ पनि नदेखियोस ।” (फ्रिटजोफ काप्रा, भौतिकिका सतपथ, पृ. ३८८, उद्धृत गरिएको)

आज आधुनिक विज्ञानका नयाँ तथ्यहरु विज्ञान जगतमा सर्वस्वीकार्य भएका छन् । आधुनिक विज्ञान विषेश गरी भौतिक विज्ञान र जीव विज्ञानका नवआविश्कारहरुले शास्त्रीय विज्ञानको प्याराडाइमलाई निम्नानुसार खण्डन गर्दछन् :

क) अवधारणा 

पहिलो, प्रकृति र जीवनलाई यान्त्रिक विम्वमा हेर्नु गलत हुन्छ । प्रकृतिको जुनसुकै अवयव र प्रत्येक जीवन आफैंमा निरपेक्ष तत्वको विस्तार हो । ब्रह्माण्ड र जीवन, निरपेक्ष (शून्य) बाट अकारण प्रकट हुन्छ र पुनः  प्रलयद्वारा अकारण निरपेक्ष शून्यमै विलीन हुन्छ । ब्रह्माण्डमा श्रृष्टि–प्रलयको यो चक्र निरन्तर चलि रहन्छ । त्यसैले ब्रह्माण्ड (पदार्थ) र ‘मनो–शरीर’ अशास्वत चीज हो । अभौतिक ‘शून्य’नै ब्रह्माण्ड र जीवनको शास्वत र मूल स्रोत हो ।

प्याराडाइम सिफ्ट भनेको एक अर्थमा पाश्चात्य विज्ञानबाट पूर्वीय विज्ञानतर्फको संक्रमण पनि हो

निरपेक्ष शून्य, हाम्रो बुद्धिद्वारा विश्लेषण योग्य छैन । त्यसैले हामी प्रकृति र जीवनलाई गणितीय विश्लेषण गर्न सक्दैनौं । साथै हामी प्रकृति र जीवनलाई ‘निर्देशित’ गर्न पनि सक्दैनौ, केवल ‘डिस्टर्व’सम्म मात्र गर्न सक्छौं । त्यसैले प्रकृति र जीवनलाई ‘संरचना’ का रुपमा होइन, ‘प्रकृया’ का रुपमा हेर्नुपर्छ । यान्त्रिक विम्वमा होइन, ‘जीवन्त सञ्जाल’ विम्वमा हेर्नुपर्छ ।

दोस्रो, जीवन र जगतको त्यस्तो कुनै ‘आधारभूत इकाइ’ वा ‘अंश’ छैन, जसले ‘समग्र’ को प्रतिनिधित्व गर्न सकोस् । ‘समग्र’ लाई ‘अंश’ मा टुक्रा गर्न नै सकिन्न । त्यसैले जीवन र जगतमा ‘अंश’ का रुपमा देखिने चिज हाम्रा इन्द्रीयहरुको प्रक्षेपण मात्र हुन् । वास्तविकतामा जीवन र जगत दुवै तरंगहरुको जीवन्त सञ्जाल हुन् । त्यसैले तथाकथित अंशमा केन्द्रित ज्ञानले सत्यको प्रतिनिधित्व गर्न सक्दैन । केवल अधुरो सत्यको मात्र प्रतिनिधित्व गर्छ । संश्लेषणबाट विश्लेषणतर्फ आउनु नै उपयुक्त तरिका हो । सर्वाङ्गीण दृष्टिकोण अपनाउनु नै उपयुक्त तरिका हो ।

तेस्रो, जीवन र जगत विपरीत तत्वले बनेको हुन्छ र यिनीहरु बीच ‘संघर्ष’ हुन्छ भन्ने धारणा हाम्रा इन्द्रीयहरुको प्रक्षेपण मात्र हो । सुक्ष्म तहमा पदार्थ वा जीवनभित्र ‘अन्तरक्रिया’ हुन्छ । जीवन र जगतका द्वैत, त्रेत वा बहुल तत्वहरु परिपूरक सम्बन्धमा हुन्छन् । त्यसैले प्रकृति र जीवनको द्वैतता वा विविधतालाई ‘विपरीत तत्व’ भन्न मिल्दैन, परिपूरक तत्व भन्नुपर्छ । स्थान र समय, शरीर र मन, पदार्थ र चेतना कण र तरंग, अन्धकार र प्रकाश लगायतका सारा द्वैत अवयवहरु विपरीत तत्व होइनन् परिपूरक तत्व हुन् ।

द्वैत तत्वहरुवीचको सम्बन्धमा कुनै प्रधान र कुनै गौण (कारण र कार्य) भन्ने हुँदैन । साथै जीवन र जगतभित्र हुने अन्तरकृया ‘स्थानीय परिघटना’ पनि होइनन् । यस प्रकारका हरेक परिघटनाहरु तत्क्षणका ब्रह्माण्डीय परिघटना नै हुन् । अर्थात, संसारका जुनसुकै परिघटनाहरु सूक्ष्म अर्थमा ब्रहण्डीय लयसँग अभिन्न छन् । जसलाई पृथक घटनाका रुपमा हेर्नु, अनि कार्य र कारणमा विभाजित गर्नु भनेको, हाम्रा इन्द्रीयहरुको भ्रम मात्र हो ।

त्यसैले कार्य–कारण सम्बन्धको नियम अर्थात ‘वैज्ञानिक निर्धारणवाद’को नियम जीवन र जगतको स्थूल नियम मात्र हो । सूक्ष्म तहमा जीवन र जगतलाई ‘कार्य’ र ‘कारण’ वा‘द्रष्टा’ र ‘दृश्य’ मा विभाजित गर्न नै सकिँदैन । साथै जीवन र जगतमा एकल रेखीय गणित (लिनियर डाइनामिक्स)पनि लागु हुँदैन । हामी प्रकृति र जीवनको गतिशीलताका सम्बन्धमा केवल सम्भावनाको आंशिक अनुमानसम्म गर्न सक्छौं, किटान गर्न सक्दैनौं । किनकि, जीवन र जगतको गतिशीलता बहुआयामिक र गैरएकल रेखीय (नन्लिनियर) हुन्छ ।

चौथो, संसार र जीवन मूलत अवोधगम्य छन् । किनकि पदार्थ र ‘मनो–शरीर’ ले सत्य होइन, सत्य जस्तै लाग्ने भ्रम पैदा गराउँछ । साथै हाम्रा इन्द्रीयहरु पनि शास्वत सत्य बोध गर्न सक्षम छैनन । हाम्रो तर्क र बुद्धि संसारलाई बुझ्नका लागि पर्याप्त छैन । अर्कोतिर ब्रह्माण्ड र जीवन सीमित होइन, अनन्त (शून्य) छ ।  त्यसैले मानिसका लागि संसार र जीवन दुवै अवोधगम्य छ । यस कारण पनि प्रकृति र जीवनको यान्त्रिक विम्व गलत छ ।

ख) सामाजिक मूल्यमान्यता 

आधुनिक मनोविज्ञानका आविस्कारहरुले सामाजिक मूल्यमान्यताको क्षेत्रमा रहेका यान्त्रिक तथा शास्त्रीय निश्कर्षलाई निम्नानुसार उल्टाइदिएको छ :

मनुस्य जीवनका सारा क्रयाकलापको मूल उद्देश्य आनन्दको खोजी हो । तर ‘बाह्य तत्व’मनुश्यको जीवनमा आनन्द वा खुशीको मूल श्रोत बन्न सक्दैन, मनुश्य स्वयंको चिन्तन वा जीवन दृष्टिकोण मात्र आनन्दको मूल स्रोत बन्न सक्छ  । बाह्य भौतिक तत्व (धन सुख, पदसुख र शरीर सुख) त आनन्दसम्म पुग्ने साधन मात्र हुन् । आनन्दको मूल स्रोत व्यक्ति आफैं हो ।

कसैसँग पर्याप्त भौतिक सुख सुविधा छ, तर जीवन दृष्टिकोण गलत छ भने उसको जीवनमा आनन्दको अवतरण असम्भव हुन्छ । त्यसैले मनुश्यले भौतिक सुख प्राप्तिलाई जीवनको परम लक्ष्य बनाउन मिल्दैन । भौतिक तत्वलाई साधनमै सीमित गर्नुपर्छ र स्वयंको बोध अर्थात आफैंभित्रको निजत्वको प्रस्फुटनलाई चाहिँ जीवनको परम लक्ष्य बनाउनुपर्छ । अर्थात हरेक व्यक्तिका लागि भौतिक तत्व साधन र अभौतिक तत्वचाहिँ लक्ष्य हुनुपर्छ ।

त्यस्तै आधुनिक अर्थशास्त्रले भन्छ, सीमित पृथ्वीमा असीमित आर्थिक बृद्धि असम्भव र अप्राकृतिक कुरा हो । लोभवृत्तिमा आधारित यस प्रकारको सोचले नै संसारमा भूराजनीतिक संकटदेखि स्वास्थ्य र पर्यावरण संकटसम्म निम्त्याउँछ । त्यसैले असीमित ‘आर्थिक वृद्धि’वाला सामाजिक मूल्यमान्यता होइन, आवश्यकतामा आधारित उत्पादनमा चित्त बुझाउने सामाजिक मूल्यमान्यता नै उन्नत सामाजिक जीवनको एक मात्र शर्त हो ।

ग) प्रविधि

आधुनिक प्याराडाइमको प्रविधिले विपरीत तत्वलाई तोड्ने होइन, जोड्ने कुरामा जोड दिन्छ । अर्थात शास्त्रीय प्याराडाइममा जेलाई ‘विपरीत तत्व’ भनियो, त्यसलाई यहाँ परिपूरक र अन्तरसम्बन्धित तत्व मानिन्छ र तिनीहरुको निषेध होइन, ‘गतिशील सन्तुलन’ मा जोड दिइन्छ । प्रकृतिसँग संघर्ष र सामाजिक संघर्ष होइन, प्रकृतिसँग सहकार्य र सामाजिक सहकार्यमा जोड दिइन्छ ।

आधुनिक विज्ञानका माथिका धारणालाई आज चिन्तनको आधुनिक प्याराडाइम भनिएको छ । तर, यी धारणा बिल्कुलै नयाँ भने होइनन् । पूर्वीय सभ्यताका तपश्वीहरुले यिनै तथ्यहरुलाई हजारौं वर्षअघिदेखि विभिन्न तरिकाले भन्दै आएका छन् । त्यसैले प्याराडाइम सिफ्ट भनेको एक अर्थमा पाश्चात्य विज्ञानबाट पूर्वीय विज्ञानतर्फको संक्रमण पनि हो ।

राजनीतिमा प्याराडाइम सिफ्ट 

आधुनिक विज्ञानका माथिका प्रस्थापनाका आधारमा नयाँ समाजशास्त्रीय मान्यताहरु विकसित भएका छन् । जसले राजनीतिको प्याराडाइमलाई निम्नानुसार सिफ्ट गर्न मार्गदर्शन गर्दछन् :

क) अवधारणा : राजनीतिको आधुनिक प्याराडाइमले समाजलाई ‘निर्जिव यन्त्र’ को बिम्वको सट्टा ‘जिउँदो संजाल’ बिम्बमा हेर्न प्रेरित गर्दछ । समाजलाई पनि प्रकृति र जीवनलाई जस्तै एक निरपेक्ष इकाइ मान्न प्रेरित गर्छ । समाज एक ‘प्रकृया’ हो । मानवीय सम्बन्धहरुको ‘जिउँदो सञ्जाल’ हो । त्यसैले यो अन्तरसम्बन्धित र गतिशील इकाइ हो । मानव जातिको जन्मसँगै समाजको जन्म भयो र मानव जातिको विलोपसँगै समाजको पनि बिलोप हुन्छ । त्यसैले समाजको कुनै गन्तव्य हुँदैन ।

समाज आफ्नै निरपेक्ष नियमद्वारा सञ्चालित छ । मनुस्यको सचेतन प्रयत्नबाट समाजलाई ‘डिस्टर्व’सम्म गर्न सकिन्छ, ‘निर्देशित’ गर्न सकिन्न । त्यसैले राजनीतिले समाजमा ‘सहजकर्ता’ को भूमिका निभाउनुपर्छ, ‘निर्देशक’ बन्नु हुँदैन । सामाजिक आवश्यकताको समुचित व्यवस्थापन गर्नुपर्छ । तर, अमूक ‘वाद’वाला गन्तव्यमा समाजलाई धकेल्ने वा रोकेर राख्ने प्रयत्न गर्नु हुँदैन ।

आज वैकल्पिक राजनीतिका नाममा नेपालमा जे भइरहेको छ, त्यो शास्त्रीय चिन्तनकै गोलचक्कर हो । यदि राजनीतिलाई साँच्चै ‘वैकल्पिक राजनीति’ बनाउने हो भने यसका अभियन्ताहरुले सर्वप्रथम शास्त्रीय चिन्तनको ‘मायाजाल’ बाट मुक्त हुन सक्नुपर्छ ।

दुई, समाजमा ‘आधारभूत इकाइ’ भन्ने कुनै चिज छैन । व्यक्ति, वर्ग, जाति र नेतृत्व समाजको आधारभूत इकाइ होइनन् बरु अन्तरनिर्भर र परिपूरक तत्व हुन् । यिनीहरु सबैको संयुक्त भुमिकाबिना समाज चल्न सक्दैन । त्यसैले राजनीतिले एकांगी एजेण्डा बोक्नु हुँदैन । मानव समाजका लागि लोकतन्त्र, सामाजिक न्याय, पहिचान र सुशासन सबै जरुरी विषय हुन् । राजनीतिले यी सबै एजेण्डालाई बराबर महत्व दिएर काम गर्नुपर्छ ।

तीन– वैज्ञानिक निर्धारणवादको नियम समाजमा हुबहु लागुहुँदैन । अर्थात, सामाजिक गतिलाई ‘कार्य’ र ‘कारण’ मा वा क्रिया र प्रतिकृयामा आधारित एकलरेखीय गणितमा हेर्न मिल्दैन । साथै सामाजिक परिघटनाहरुलाई ‘स्थानीय परिघटना’ मान्न पनि मिल्दैन । सूक्ष्म अर्थमा समाजको गति अगणितीय हुन्छ र ब्रहण्डीय लयसँग अभिन्न हुन्छ । त्यसैले यो अस्थानीय (ननलोकल) अविभाज्य र बहुआयामिक हुन्छ ।

सामाजिक द्वैत तत्वहरु अन्तरसम्बन्धित र परिपूरक भएका कारण आपसमा रुपान्तरण भइरहन्छन् । एक समयको ‘कारण’, ‘कार्य’ मा फेरिन्छ, ‘कार्य’, ‘कारण’ मा फेरिन्छ । आधार, उपरी संरचनामा फेरिन्छ, उपरी संचरना आधारमा फेरिन्छ । क्रान्ति, शान्तिमा फेरिन्छ । शान्ति क्रान्तिमा फेरिन्छ । क्रान्तिकारी, सुधारवादीमा फेरिन्छ । सुधारवादी, क्रान्तिकारीमा फेरिन्छ ।

समाजमा यस प्रकारका घटनाका चक्रहरु हुन्छन् । तर, समाजले कहिल्यै एकलरेखीय वा गणितीय यात्रा गर्दैन । त्यसैले समाजको एकलरेखीय परिपथमा आधारित राजनीतिक अभिष्ट आफैंमा अप्राकृतिक र अवैज्ञानिक निश्कर्ष हो । हामीले राजनीतिमा युगानुकुल ‘प्रकृया’ को न्यूनतम मापदण्ड बनाउन सक्छौं । तर, सुनिश्चित ‘संरचना’ को किटान गर्न सक्दैनौं । किनकि समाजमा ‘वैज्ञानिक निर्धारणवाद’ का नियम हुबहु लागु हुँदैनन् ।

चार, राजनीतिमा नियम र संयोग, दुबैका खेल हुन्छन् । जसका कारण समाजको गति बोधगम्य हुँदैन । समाजमा मूलतः तीनखाले चरित्रका घटनाहरु देखा पर्दछन् । राजनीतिको कर्तव्य तिनीहरुलाई तीनखालकै व्यवहार गर्नु हो ।

पहिलो खालका घटनालाई ‘अनिवार्य’ घटना भन्न सकिन्छ, जुन घटनालाई हाम्रो प्रयत्नद्धारा बदल्न सकिँदैन । जस्तो कि– प्रकृतिमा रात र दिन हुने कुरा, मौसम परिवर्तन हुने कुरा । समाजमा सामाजिक विविधता हुने कुरा, आदि । यस्ता घटनालाई हामीले हाम्रो प्रयत्नले टार्न सक्दैनौं । यस्ता घटनालाई राजनीतिले विना शर्त स्वीकार गर्नुपर्छ । राजनीतिमा यस्ता घटनालाई अस्वीकार गरियो भने गलत हुन्छ ।

दोस्रो खालका घटनालाई ‘अर्धअनिवार्य’ घटना भन्न सकिन्छ । जस्तो कि– प्रकृतिमा कुनै महामारी फैलनु । समाजमा अन्याय र विभेद बढ्नु, आदि । यस्ता घटनालाई मानवीय प्रयत्नद्वारा बदल्न सकिन्छ । यस्ता घटनालाई हामीले सचेतन प्रयत्नद्वारा बदल्ने प्रयत्न गर्नुपर्छ । राजनीतिमा यस्ता घटनालाई चुपचाप स्वीकार गरियो भने गलत हुन्छ ।

तेस्रोखालका घटना ‘सांयोगिक’ घटना भन्न सकिन्छ । जस्तो कि– प्रकृतिमा कुनै खास दिन पानी पर्नु । समाजमा कुनै खास व्यक्ति कुनै खास अवधिमाशासन सत्तामा शक्तिशाली बन्नु, आदि । यस्ता घटनाहरुमा धेरैवटा संयोगले काम गरेका हुन्छन् । त्यसैलेयस्ता घटना कुनै सुनिश्चित नियममा घटित हुँदैनन् । हामीलाई यस्ता घटना कहिले कसरी घटित हुन्छन् वा हुँदैनन् भन्ने थाहा हुँदैन । त्यसैले यस्ता घटनालाई हामीले जागृत भावले हेर्न मात्र सक्छौं । यसमा स्वीकार वा अस्वीकारको प्रसंग नै आउँदैन ।

यसरी राजनीतिको आधुनिक प्याराडाइमले भन्छ, सामाजिक घटनालाई यान्त्रिक गणितमा हेर्नुहुँदैन, जीवन्त र ब्रह्माण्डीय परिघटनाका रुपमा हेर्नुपर्छ  । राजनीतिक नेतृत्वले समाजमा मूलतः तीनखालका भुमिका निभाउनुपर्छ ।

ख) सामाजिक मूल्य मान्यता : राजनीतिको आधुनिक प्याराडाइमले असीमित ‘आर्थिक वृद्धि’ र ‘उच्च भौतिक विकास’ गर्ने वित्तिकै समाज उन्नत हुन्छ भन्दैन, बरु यस्तो लोभी र स्वार्थी सोचले समाजमा संकट पैदा हुन्छ भन्छ ।

‘मै खाउँ मै लाउँ’ भन्ने सोच व्यक्ति वा राज्य दुबैका लागि हानिकारक छ । यो संसारमा सजिव र निर्जिव, मानव र गैरमानव, सबैखाले तत्वहरु एउटै सञ्जालमा आवद्ध छन्, कुनै एउटालाई असर पर्दा सारा सञ्जाल प्रभावित हुन्छ । त्यसैले व्यक्ति वा राज्य, दुवैले अति उत्पादन, अति उपभोग, अति विकासको महत्वाकांक्षा र लोभबृत्तिमा आधारित सामाजिक नीति लिनु हुँदैन । यसले व्यक्ति, प्रकृति, र समाज सबैलाई हानी गर्छ ।

यसको सट्टा राज्य र राजनीतिले अपरिग्रह, सहअस्तित्व, सहकार्य, आत्मिक आनन्द र गुणतत्वसहितको जीवनको सामाजिक मूल्यलाई आत्मसाथ गर्नुपर्छ । प्रकृतिसँग संघर्ष, सामाजिक संघर्ष र प्रकृतिसँग विजय होइन, प्रकृतिसँग सहकार्य र सामाजिक सहकार्यको सामाजिक मूल्यमा बाँच्नुपर्छ ।

राज्य वा राजनीतिले अनावश्यक महत्वाकांक्षामा दौडिने होइन, आफ्ना सदस्यहरुको आवश्यकताको परिपूर्ति र सामाजिक सम्बन्धहरुको सन्तुलित व्यवस्थापनमा नै आफूलाई सीमित गर्नुपर्छ भन्ने मानिन्छ ।

व्यक्तिको हकमा आधुनिक प्याराडाइमले भन्छ, राजनीति स्वयंले व्यक्तिलाई मुक्ति वा स्वतन्त्रता दिन सक्दैन । किनकि मुक्ति वा स्वतन्त्रता व्यक्तिको वैयक्तिक विषय हो । राज्य वा राजनीतिले व्यक्तिको आवश्यकता परिपूर्ति गरिदिएर उसको ‘मुक्ति’ को साधन वा सहयोगी बन्न सक्छ । तर, मुक्ति वा स्वतन्त्रता आत्मिक अनुभूतिको विषय भएकाले यसका लागि व्यक्ति स्वयंले मेहनत गर्नुपर्छ । अर्थात, राजनीतिव्यक्तिको अभौतिक सुख (आत्मिक सुख) प्राप्तीको साधन मात्र बन्न सक्छ, साध्य बन्न सक्दैन।

भौतिक आवश्यकता पूरा हुँदैमा व्यक्तिभित्र मुक्ति वा स्वतन्त्रताको अनुभूति विकास नहुन सक्छ । यसका लागि त व्यक्ति स्वयंमा सही जीवन दृष्टिकोण जरुरी हुन्छ । त्यस प्रकारको जीवन दृष्टिकोण स्वयंको बोधबाट मात्र प्राप्त हुन्छ । आफूभित्रको गुणधर्मको प्रस्फुटनबाट मात्र प्राप्त हुन्छ । त्यसैले आधुनिक प्याराडाइमले भन्छ, समस्या बाहिर र आफूभित्र, दुवैतिर हुन्छ, समाधान पनि बाहिर र आफैं भित्र, दुवै तिरबाट मात्र सम्भव हुन्छ ।

यदि नागरिकहरु आधारभूत अधिकार र आवश्यकताबाट बञ्चित भइरहेका छन् भने त्यो राज्य वा राजनीतिको दोष हो । यदि आधारभूत अधिकार र आवश्यकताको परिपूर्ति हुँदा वा हुने परिवेश हुँदा पनि व्यक्ति दुःखी छ भने त्यो व्यक्ति स्वयंको दोष हो ।

ग) प्रविधि : राजनीतिको आधुनिक प्याराडाइमा सामाजिक द्वैतलाई निषेध होइन, गतिशिल सन्तुलनमा राख्ने प्रयत्न गरिन्छ । सामाजिक द्वैतहरु विपरीत तत्व होइनन्, यिनीहरु अलग–थलग छैनन् र आपसमा निषेध पनि हुँदैनन् । सामाजिक द्वैत, प्रकट हुँदा संयुक्त प्रकट हुन्छन् र लोप हुँदा संयुक्त लोप हुन्छन् । त्यसैले व्यक्ति र राज्य, निजी धन र सामूहिक धन, शासक जाति र शासित जाति, क्रान्ति र सुधार, सदाचार र भ्रष्टाचार आदि संयुक्त छन् । यिनीहरुमध्ये कुनै एकलाई मेटाउने र कुनै एकलाई बचाउने कुरा अप्राकृतिक हो । किनकि व्यक्ति र समाज आफैंमा द्वैत तत्व हुन् ।

त्यसैले सवाल सामाजिक द्वैतलाई बचाउने वा मेटाउने हुँदै होइन, बरु यिनीहरु दुवैको उपयोग गर्ने हो, सन्तुलित बनाउने हो ।

साथै, व्यक्ति, प्रकृति र समाज, यी तीनवटै अवयवलाई आफ्नो मौलिकतामा जिउने वातावरण पैदा गर्ने हो । जब यी तीनवटै तत्वहरु (व्यक्ति, प्रकृति र समाज) आफ्नो मौलिक नियममा संचालित हुन्छन्, तब समाज स्वतः उन्नत हुन्छ । जब यी तीन तत्वहरु आफ्नो मौलिक नियमबाट च्यूत हुन्छन् वा च्यूत पारिन्छन्, तब सामाजिक जीवनमा समस्या आउँछ  । त्यसैले मौलिक समाज, गुणधर्मसहितको जीवन र गतिशील सन्तुलन नै आधुनिक प्याराडाइम वाला राजनीतिको मूल मन्त्र हो ।

अन्त्यमा,

आज वैकल्पिक राजनीतिका नाममा नेपालमा जे भइरहेको छ, त्यो शास्त्रीय चिन्तनकै गोलचक्कर हो । यदि राजनीतिलाई साँच्चै ‘वैकल्पिक राजनीति’ बनाउने हो भने यसका अभियन्ताहरुले सर्वप्रथम शास्त्रीय चिन्तनको ‘मायाजाल’ बाट मुक्त हुन सक्नुपर्छ । नत्र वैकल्पिक राजनीतिका नाममा भएका जस्तासुकै गतिविधिले पनि पुरानै प्रवृत्तिको पुनरावृत्ति गर्ने कुरा सुनिश्चित छ ।

यति चर्चा गरिसकेपछि पाठकहरुमा एउटा जिज्ञासा उठेको हुनुपर्छ, यस्तोखालको राजनीतिलाई के नाम दिने ?

यहाँ यस सम्बन्धमा एउटा प्रस्ताव गरौं– आधुनिक प्याराडाइममा आधारित राजनीतिलाई ‘जैविक राजनीति’ भन्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment