Comments Add Comment

संगीतलाई पैसाले किन्नु गलत होः अमृत क्षेत्री

गायक अमृत क्षेत्री र गायिका मेलिना राइको आवाजमा समावेश ‘जहाजै चढेर’ गीत सार्वजनिक भएको केही समय भयो । यो गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका छन् ।

गायक अमृत क्षेत्री २ दशकदेखि सांगीतिक क्षेत्रमा सक्रिय छन् । २ दशकदेखि सांगीतक क्षेत्रमा लागेका क्षेत्री ओझेल परेको गुनासो उनका फ्यानले गर्छन् । तर, क्षेत्री सांगीतिक क्षेत्रमा केही समय हिट हुने र सेलाउने गीतसंगीत भन्दा पनि दर्शकले लामो समयसम्म संझिने गीत सार्वजनिक गर्न आवश्यक रहेको बताउँछन् ।

‘जहाजै चढेर’ गीतको बिषयमा उनले भने–‘म आफै पनि आर्मी पृष्ठभूमी भएको परिवारबाट आएको हुँ । पर्वतमा रहँदा लोकसंगीतमा बढी रमाएको थिएँ । परदेशीको कथा भन्न मलाई खुबै मन लाग्थ्यो । जहाजै चढेर विदेशमा रहेका नेपालीहरुको कथा हो । लकडाउनका कारण आफ्नो मायालुलाई भेट्न नपाएका प्रेमिल जोडीको कथा यसले भन्छ ।’

गीतको भिडियोको निर्माणबाट पनि उनी खुशी छन् । दयाहाङ राई जस्ता सफल कलाकार, निकेश खड्का जस्ता सफल निर्देशकसँगको सहकार्यमा थिएटर शैलीमा यो गीतको भिडियो तयार भएको छ ।
नेपालमा अहिले भाइरल गीतको बोलबाला छ । अमृत भने यस्ता खालका गीत केही समयमै हराउने भन्दै लामो समयसम्म दर्शकले संझिने गीत बनाउन आफू सधै लागिपर्ने बताउँछन् । उनले भने–‘सायद अहिले ट्रेन्डिङ र भ्यूजका लागि गीत गाउने चलन छ । तर, मैले पछि सम्मलाई हुने सिर्जना गरेको छु । म यहाँ संगीत क्षेत्रलाई केही गरौं भनेर आएको हुँ । भाइरल भएर केही समयमै तल झर्नु भन्दा राम्रोसँग गाएर अगाडि बढ्नुपर्छ भन्ने सोच मेरो छ । सबैले भाइरलको लागि मात्र सोच्नु हुँदैन, १० बर्षपछिका लागि पनि सोच्नुपर्छ ।’

तर, कहिलेकाही राम्रो गीत भन्दा भाइरल गीतको चर्चा बजारमा बढी हुँदा आफू जस्ता सर्जक निराश हुने क्षेत्रीको तर्क छ । उनले भने–‘यस्तो कुराले निराश त बनाउँछ नी । राम्रो कुरालाई सबैतिरबाट समर्थन हुनुपर्छ भन्ने मलाई लाग्छ । कहिलेकाही भिडले गर्दा राम्रो चिज थिचिन पुग्छ । दर्शकसम्म ती गीतहरु पुग्न पाए भने त पक्कै राम्रो प्रतिक्रिया आउँछ नै ।’

अमृत संगीत क्षेत्रले आफूलाई धेरै कुरा सिकाएको र दिएको बताउँछन् । आफूले सानैदेखिको सपना यो क्षेत्रबाट पुरा गर्न पाएको भन्दै उनले भोली विदेश जान नपरोस् भनेर आफू यो क्षेत्रमा सक्रिय भएको बताए । उनले संचालन गरिरहेको सुरसाला एकेडेमीले थुप्रै प्रतिभाहरुलाई जन्माइसकेको छ । प्रेम परियार, आयुष केसी, प्रितम आचार्य जस्ता प्रतिभा उनकै एकेडेमीबाट जन्मिएका हुन् ।

वि.सं २०६१ सालबाट यो क्षेत्रमा लागेका अमृत गीत निकालेरै त यो क्षेत्रमा बाच्न नसकिने बताउँछन् । उनी भन्छन्–‘जहाजै चढेरसम्म आइपुग्दा वास्तवमा एल्बम बेचेर, स्टेज शो मात्र गरेर त पुगेको छैन । मैले संगीत प्रशिक्षणको काम पनि गरेको छु । यसबाट भने म बाँचिरहेको छु ।’

अहिले गीत बनाउन भन्दा भिडियो मेकिङ गर्न महंगो पर्न जान्छ । उनी भन्छन्–‘संगीत त श्रवण गर्ने कुरा हो । दृश्यले गीतलाई केही मात्रामा समर्थन मात्र गर्छ । भिडियो महंगो हुँदा सर्जकले गीत निकाल्न नसक्ने अवस्था पनि आउँदैछ । एकपटक लगानी गरिदिने मानिस भए त ठिकै हो, होइन भने समस्या पर्छ । पैसाले संगीत भन्दा पनि संगीत बनेपछि मात्र पैसा चाहिन्छ । तर, संगीतलाई नै पैसाले किन्नु गलत हो ।’

अमृत आफ्नो योजना सुनाउँदै भन्छन्–‘मलाइ जहाजै चढेर बोलको गीतलाई संसारभरका नेपालीमाझ पुर्याउनुछ । सधै भावूक गीतमात्र बनाएर पनि हुँदैन । केही रोमान्टिक गीतहरु बनाउने योजनामा छु । दर्शकले मलाई तपाई अगाडि आउनुपर्यो भन्नुभएको छ, यसैले २–३ महिनाको अन्तरमा गीत निकाल्ने योजनामा छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment