Comments Add Comment

फिल्म क्षेत्रका ७ संस्थाको शैलीः कहिले मिडियालाई, कहिले दर्शकलाई चेतावनी

नेपाली चलचित्र क्षेत्रले यो समयमा गर्नुपर्ने बहस के होला ? कोरोनाले आक्रान्त बनेको चलचित्र क्षेत्रलाई कसरी अगाडि बढाउने भन्ने विषयमा बहस गर्नुपर्ने समय हो, यो । तर यो बेलामा चलचित्र क्षेत्रले के कुरामा बहस गरिरहेको छ ?

चलचित्रसँग सम्बन्धित ७ संस्थाको पछिल्ला २ वक्तव्य  हेर्दा उनीहरू कतातर्फ हिँडिरहेका छन् भन्ने प्रष्ट हुन्छ । केही समय अगाडि कलाकारलाई गाली आएको भन्दै ७ संस्था एक भएर विज्ञप्ति निकाले । जसमा उनीहरूले दर्शकलाई सोझो भाषामा धम्की दिए । नेपालमा भए प्रहरी लगाएर समात्ने, विदेशमा भए परराष्ट्र मन्त्रालयममार्फत कानुनी कदम चाल्ने धम्की उनीहरूको थियो ।

दर्शकलाई सभ्य भाषामा चलचित्रकर्मीको आलोचना गर्नका लागि आग्रह गर्नुपर्ने हो । तर उनीहरूले कानुनी कारबाहीको धम्की दिए ।

अहिले फेरि अर्को प्रकरण चुलिएको छ । सञ्चारकर्मी प्रकाश सुवेदीले टेलिभिजनमा नायिकाहरूलाई लक्षित गर्दै बोलेको कुराले केही समय अगाडि माहोल ततायो । जसको आलोचना चलचित्रकर्मी, पत्रकार र दर्शक सबैले गरे । उनले टेलिभिजनबाट माफी पनि मागे । एक पटक होइन, लाखौ पटक माफी माग्छु भन्दै उनले हात जोडे । नायिका पूजा शर्माले आफूलाई लक्षित गरेर प्रकाशले बोलेको भन्दै विभिन्न संस्थामा उजुरी दिइन् ।

शुक्रबार ७ संस्थाका अध्यक्षले हस्ताक्षर गर्दै विज्ञप्ति निकाले । विज्ञप्तिमा प्रकाशले सञ्चालन गर्दैै आएका २ कार्यक्रममा सहभागी नहुन चलचित्रकर्मीलाई अनुरोध गरिएको छ । उनीहरूले प्रकाशसँग वार्ता वा कानुनी उपचारबाट यो मुद्दा समाधान नभएसम्म कार्यक्रममा सहभागी नहुन भने । जसको अहिले चर्को विरोध भइरहेको छ ।

विभिन्न ७ संस्थाले आफ्ना सदस्यहरूलाई संस्थाको आचारसंहिता पालना गर्न निर्देशन दिएका छन् । यसको अर्थ, प्रकाशले सञ्चालन गर्दै आएका २ वटा कार्यक्रममा सहभागी भए उक्त चलचित्रकर्मीले संस्थाको आचारसंहिता उल्लङ्घन गरेको हुनेछ र उनीहरू कारबाहीको भागिदार हुनेछन् । यी संस्थाहरूको यो कदमको चलचित्रकर्मीहरूले नै विरोध गरिरहेका छन् ।

चलचित्र कलाकार संघको अगुवाइमा नेपाल चलचित्र निर्माता संघ, चलचित्र संघ, चलचित्र निर्देशक समाज, चलचित्र प्राविधिक संघ, चलचित्र नृत्यकार संघ, चलचित्र द्वन्द्व समाजले विज्ञप्ति जारी गरेका हुन् ।

कुनै पनि समस्याको समाधान वार्ताबाट गर्न सकिन्छ । वार्ताबाट समाधान हुने कुरालाई उचालेर कुनै मिडियाकर्मी र कार्यक्रमलाई नै बहिष्कार गरौं भनेर ७ संस्था लाग्नु आफैँमा दु:खद् कुरा हो । यसले चलचित्र क्षेत्रलाई अगाडि बढ्न मद्दत गर्दैन ।

७ संस्थाको यो नीतिले चलचित्र क्षेत्रलाई कता लैजाला ? ७ वटा संस्थाले यसलाई समाधान गर्ने बाटो खोज्ने हो या उचाल्ने ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment