Comments Add Comment

स्वास्थ्यकर्मीको लागि निःशुल्क बस सेवा

नेपाल स्काउट, नेपाल चिकित्सक संघ र हिसानको सहकार्यमा उपत्यकाका विभिन्न अस्पतालमा कार्यरत स्वस्थ्यकर्मीका लागि निःशुल्क बससेवा सञ्चालनमा आएको छ । उपत्यकाभित्रका अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको यातायात सहजताका लागि निःशुल्क बससेवा सुरु गरिएको नेपाल स्काउटका राष्ट्रिय संयोजक तथा हिसानका महासचिव लोकबहादुर भण्डारीले जानकारी दिए । पछिल्लो समय कोरोना संक्रमितको संख्या अत्यधिक बढेको र करिब २ सातादेखि उपत्यकामा लगाइएको निषेधाज्ञालाई मध्यनजर गर्दै स्वास्थ्यकर्मीका लागि अस्पताल आवतजावतका लागि निःशुल्क बससेवा सुरु गरेको हो ।

दुई दिनअघि स्वास्थ्यमन्त्री भानुभक्त ढकालसँग अभियान सञ्चालनका विषयमा आयोजक संस्थाका प्रतिनिधिहरूले छलफल गरेका थिए । छलफलबाट नेपाल स्काउट, नेपाल मेडिकल एसोसियसन, नेपाल नेसनल अस्पताल कलंकी, रोटरी क्बल अफ काठमाडौं हेल्थ प्रोफेसनल्स र उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ नेपाल ९हिसान० लगायतले अभियानलाई अघि बढाएका हु्न् । अस्पतालमा कार्यरत कर्मचारी तथा चिकित्सकको सहजताका लागि हिजोदेखि निःशुल्क बससेवा सुरु गरिएको नेपाल स्काउटले  जनाएको छ ।

अव्यवस्थित सवारी साधनका कारण स्वास्थ्य सेवा दिनका लागि स्वास्थ्यकर्मीमा कुनै बाधा नपरोस् भनेर निःशुल्क बससेवा सुरु गरिएको हो । मंगलबारदेखि सुरु गरिएको यसमा पहिलो चरणमा ३ वटा बसले सेवा दिनेछन् । आवश्यक भएमा बस थप्न सकिने भण्डारीले बताए । सबै बसमा स्काउटका स्वयंसेवकहरू परिचालन गरिनेछ । तालिकाअनुसार बस विहान ६ः३० बजेदेखि ८: ३० बजेसम्म र साँझ ५स्३० बजेदेखि ७: ३० बजेसम्म सञ्चालनमा आउने छन् ।

यी बसहरूले अस्पताल क्षेत्रको रुटबाट सेवा सुरु गर्नेछन् । बाँसबारीबाट सुरु हुने बस टिचिङ, कान्ति बाल अस्पताल, वीर अस्पताल, थापाथलीको प्रसूतिगृह हुँदै पाटन अस्पतालसम्म पुग्नेछ । यस्तै, अर्को रुटमा अन्तर्गत पाटन अस्पतालदेखि सुरु भई थापाथली, आँखा अस्पताल त्रिपुरेश्वर, वीर अस्पताल, कान्ति बाल अस्पताल, टिचिङ अस्पताल हुँदै पुनः बाँसबारीसम्म पुग्नेछ । यसैगरी तेस्रो रुटको बसले चक्रपथ परिक्रमा गर्नेछ ।

बसबारे आवश्यक जानकारी लिनु परेमा वा केही समस्या परे ११४७ हटलाइन नम्बरमा फोन गर्नसमेत सम्बन्धित संस्थाहरूले स्वास्थ्यकर्मीहरूलाई आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment