Comments Add Comment

प्रचण्डलाई भेटेपछि ओली गम्भीर, वामदेव राति नै बालुवाटार गए

१७ भदौ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले राष्ट्रियसभामा जाने ईच्छा दोहोर्‍याएपछि प्रधानमन्त्री केपी शर्मा ओली अप्ठ्यारोमा परेका छन् ।

आफूलाई परेको अप्ठ्यारोलाई पार लगाउन प्रधानमन्त्री ओलीले बुधबार साँझ बालुवाटारमा अर्का अध्यक्ष प्रचण्डसँग छलफल गरेका थिए । तर, कुनै निश्कर्ष निस्किएन ।

प्रचण्डसँगको छलफलपछि प्रधानमन्त्री ओलीले बुधबार राति नै बामदेव गौतमसँग बालुवाटार ‘गोप्य’ छलफल गरेका छन् ।

बालुवाटारमा विहीबार बिहान ११ बजे नेकपा सचिवालयको बैठक बस्दैछ । यो बैठकले राष्ट्रियसभाको रिक्त सीटमा कसलाई पठाउने भन्नेबारे निर्णय गर्नेछ ।

प्रधानमन्त्री ओली राष्ट्रियसभाको रिक्त सीटमा अर्थमन्त्री डा. युवराज खतिवडालाई लैजान चाहन्छन् । तर, उपाध्यक्ष गौतमले आफूलाई मनोनित गर्नुपर्ने भन्दै प्रधानमन्त्रीको ईच्छामा तगारो हालिदिएका छन् ।

राष्ट्रियसभामा अहिले एउटा सीट रिक्त छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने यो सीटमा डा. खतिवडालाई नै निरन्तरता दिने र अर्थमन्त्रालय उनैको जिम्मा लगाउने प्रधानमन्त्री ओलीको चाहना देखिन्छ । तर, राष्ट्रियसभाको यो सीटमा उपाध्यक्ष गौतमले दाबी गरेपछि प्रधानमन्त्री ओली तनावमा छन् ।

विहीबार साँझको भेटमा प्रधानमन्त्री ओलीले प्रचण्डसँग डा. खतिवडालाई नै राष्ट्रियसभामा पठाऔं भन्ने प्रस्ताव गरेका थिए । तर, प्रचण्डले वामदेवलाई टार्न नसकिने प्रतिक्रिया दिएपछि प्रधानमन्त्री एकाएक गम्भीर देखिएको स्रोतले बतायो ।

प्रधानमन्त्रीको निर्विकल्प रोजाइ खतिवडा

अर्थमन्त्री डा. खतिवडालाई यही भदौ २० गतेभित्र राष्ट्रियसभामा मनोनित गरिएन भने सोही दिनदेखि संविधानतः उनको मन्त्री पद समाप्त हुनेछ ।

अर्थमन्त्री खतिवडा अढाइ वर्ष पहिले अर्थमन्त्री बनेको केही समयपछि राष्ट्रियसभामा मनोनित भएका थिए । तर, गोला प्रथाबाट कार्यकाल तय गर्दा उनको भागमा दुर्भाग्यवस दुईवर्षे कार्यकालको गोलो पर्‍यो । सोही कारणले गत फागुन २० गते उनको सांसद पद सकियो ।

प्रधानमन्त्री ओलीले फागुनमै खतिवडालाई राष्ट्रियसभामा पुनः नियुक्त गर्न खोजेका थिए । तर, त्यसबेला सचिवालय बैठकको बहुमतले वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय गरेपछि खतिवडाको पुनःनियुक्ति रोकियो । त्यसैबेलादेखि राष्ट्रियसभामा एक सीट खाली रहँदै आएको छ ।
फागुनमा राष्ट्रियसभामा पुनःनियुक्त हुन नपाए पनि डा. खतिवडा ‘सांसद नभएको व्यक्ति ६ महिनासम्म मन्त्री बन्न पाउने’ संविधानको प्रावधानअन्तरगत अर्थमन्त्रीमा पुनः नियुक्त भए । तर, उनको यो ६ महिने कार्यकाल पनि यही शनिबार सकिँदैछ ।

अर्थतन्त्र बुझेको र विषय विज्ञ भएकाले डा. खतिवडालाई नै अर्थमन्त्री बनाएर आफ्नो पाँच वर्षे कार्यकाल पूरा गर्ने सोचाइमा प्रधानमन्त्री ओली देखिन्छन् । तर, ठीक यही बेलामा वामदेव गौतम ‘कवाफमा हड्डी’ बनेर उभिएका छन् ।

यो पनि पढ्नुहोस मलाई राष्ट्रियसभामा लैजाने निर्णय कार्यान्वयन होस् : वामदेव गौतम

गत फागुनमै बसेको सचिवालय बैठकले निर्णय गरिसकेको हुनाले आफूले राष्ट्रियसभामा जान पाउनुपर्ने वामदेवको दाबी छ । तर, प्रधानमन्त्री ओली भने डा. खतिवडालाई नै सिफारिस गर्ने पक्षमा दृढ छन् ।

उपाध्यक्ष गौतमले राष्ट्रियसभा सदस्यमा मात्रै होइन, उपप्रधानमन्त्रीसहित अर्थमन्त्रीमा समेत दाबी गरेको बालुवाटार स्रोत बताउँछ । गौतमले प्रधानमन्त्री ओलीलाई भेटेर भनेका छन्, म अर्थ मन्त्रालय खतिवडाले भन्दा राम्रोसँग चलाएर देखाइदिन्छु ।

बामदेव ‘फ्याक्टर’

नेकपा नेताहरुका अनुसार गत माघ ९ मा राष्ट्रियसभा सदस्यहरुको निर्वाचन हुनुअघि प्रधानमन्त्री ओलीसमेतले वामदेव गौतम र नारायणकाजी श्रेष्ठलाई राष्ट्रियसभाको उम्मदेवार बनाउने प्रस्ताव ल्याएका थिए । त्यो प्रस्तावलाई स्वीकार गरेका श्रेष्ठ अहिले राष्ट्रियसभा सदस्य बनिसकेका छन् ।

तर, गौतमले चाहिँ म प्रधानमन्त्री बन्छु, राष्ट्रियसभा सदस्य बन्दिनँ भनेका थिए । संविधान संशोधन गरेर राष्ट्रियसभाको सांसद बन्ने पाउने व्यवस्था गर्ने हो भने मात्र राष्ट्रियसभामा जाने वामदेवले अडान राखेका थिए । तर, प्रधानमन्त्री ओली वामदेवका लागि संविधान संशोधन गर्न तयार भएनन् ।

यहीवीचमा प्रधानमन्त्री ओलीसँग रिसाएका वामदेव गौतम प्रचण्ड-माधव खेमातिर लागे । र, वामदेवकै कारण ९ सदस्यीय सचिवालयमा प्रधानमन्त्री ओली अल्पमतमा परे ।

सचिवालयमा आफ्नो पक्षमा बबुहमत जुटाउने प्रयास स्वरुप प्रधानमन्त्री ओलीले नेता गौतमसँग सघन छलफलहरु गरे । त्यसपछि नेता गौतमलाई उपचुनाव लगाएर प्रतिनिधिसभामा ल्याउने र प्रधानमन्त्री बनाउने आश्वासान ओलीले दिएको नेता गौतमले बताउने गरेका छन् ।

प्रधानमन्त्री मात्र नभई पार्टी अध्यक्षसमेत बनाउने ओलीको आश्वासनपछि नेता गौतमले प्रचण्ड-माधवको कित्ता छाडे र फेरि ओलीकै कित्तामा समाहित भए । सचिवालयमा गुमेको ओलीको बहुमत फेरि आर्जन भयो ।

तर, वामदेवलाई प्रधानमन्त्री बनाउने केपी ओलीको आश्वासन पूरा भएन । कसैलाई खाली गराएर प्रतिनिधिसभाको चुनाव लडाउने प्रस्ताव पनि ‘उपयुक्त समय आएपछि’ भन्दै टार्ने काम भयो । यद्यपि त्यो उपयुक्त समय कोरोना महामारी सकिएपछि आउने ओली पक्षका नेताहरु बताउँछन् ।

र, यही कारणले नेता गौतम फेरि प्रधानमन्त्री ओलीसँग चिढिए । अन्ततः उनले भदौ १५ गते प्रधानमन्त्री ओलीलाई भेटेर भनिदिए,’म प्रतिनिधिसभामा लड्दिनँ, राष्ट्रियसभामा जान्छु र उपप्रधानमन्त्री तथा अर्थमन्त्री बन्छु ।

अन्तिमसम्म फकाउने प्रयास

त्यसो त प्रधानमन्त्री ओलीले वामदेव गौतमलाई कुनै न कुनै आश्वास दिएर फकाउने प्रयास जारी राखेको स्रोत बताउँछ । कुनै पनि आश्वासन वा प्रलोभनमा परेर वामदेव फकिन सक्ने केपी ओली पक्षका नेताहरु विश्वासमा छन् ।

बालुवाटार स्रोतका अनुसार भदौ १२ यता वामदेव गौतम र प्रधानमन्त्री ओलीवीच सघन छलफलहरु भइरहेका छन् । बुधबार रातिको भेट त्यसैको निरन्तरता हो ।

भदौ १३ गतेको भेटमा प्रधानमन्त्री ओलीले डोल्पाबाट प्रतिनिधिसभाको चुनाव लड्न गौतमलाई प्रस्ताव गरेको स्रोतले बतायो । गौतम ‘म सोच्छु’ भनेर बालुवाटारबाट फर्केका थिए । तर, उनले भदौ १५ गते प्रधानमन्त्रीलाई भनिदिए, अब प्रतिनिधिसभाको चुनाव लड्दिनँ, मलाई राष्ट्रियसभामा लानुपर्दछ र उपप्रधानमन्त्री तथा अर्थमन्त्री बनाउनुपर्दछ ।

ओली पक्षले वामदेवलाई महाधिवेशनपछि पार्टी अध्यक्ष बनाउने यसअघि नै आश्वासन दिइसकेको छ । त्यसैगरी प्रतिनिधिसभामा ल्याएर प्रधानमन्त्री नै बनाउने आश्वासन पनि दिइएकै हो । अब बाँकी एउटा आश्वासन छ, गौतम पत्नी तुलसा थापालाई मन्त्री बनाउने ।

के अब वामदेव गौतमले कुनै न कुनै आश्वासनमा भर परेर राष्ट्रियसभाको दाबी छाड्लान् ? सम्भवतः यसको ढुंगो विहीबारको सचिवालय बैठकबाटै लाग्ने छ ।

यो पनि पढ्नुहोस वामदेवको विरासत : चम्किलो विगत, धमिलो वर्तमान

माधव नेपाल पक्षका नेताहरु चाहिँ वामदेव गौतमको भनाइको भर गर्न नसकिने बताउँछन् । राष्ट्रियसभामा नगई छाड्दिनँ भनेका गौतमले प्रधानमन्त्री ओलीसँग बार्गेनिङ गरिरहेको हुन सक्ने प्रचण्ड-माधव खेमाका नेताहरुको बुझाइ छ ।

वामदेवको यही स्वाभावका कारण उनलाई फकाउन सकिन्छ भन्ने विश्वासमा प्रधानमन्त्री ओली देखिन्छन् ।

सचिवालयले के गर्ला ?

बिहीबार बस्ने भनिएको सचिलालय बैठकमा उपाध्यक्ष गौतमले राष्ट्रियसभामा नगई छाडि्दनँ भन्ने अडान राखिरहे भने नाइँ भन्न नसकिने प्रचण्ड-माधव पक्षका नेताहरु बताउँछन् ।

सचिवालयस्तरका एक नेताले अनलाइनखबरसँग भने, ‘वामदेवजी सिनियर नेता हुनुहुन्छ, पहिले पनि सचिवालयले निर्णय गरिसकेको अवस्थामा उहाँले मै जान्छु भन्नुभयो भने हुँदैन भन्न सकिँदैन ।’

यस्तो स्थितिमा ९ सदस्यीय सचिवालयमा महासचिव विष्णु पौडेलसमेत वामदेवकै पक्षमा उभिने सम्भावना रहेकाले प्रधानमन्त्री ओलीको समर्थनमा बढीमा ईश्वर पोखरेल र रामबहादुर थापा, तीनजना मात्रै हुने सम्भावना छ ।

त्यो स्थितिमा प्रधानमन्त्री ओलीले पार्टीको निर्णय मान्ने हो भने युवराज खतिवडाको साटो वामदेव गौतमलाई नै राष्ट्रियसभामा सिफारिस गर्नुपर्ने हुन सक्छ ।

प्रधानमन्त्री ओली डा. खतिवडाकै पक्षमा दृढ रहे भने विहीबार बस्ने भनिएको बैठक रोकिन पनि सक्ने पनि नेकपा नेताहरु बताउँछन् ।

दीपक भट्टले उचालेको आरोप

त्यसो त ओली पक्षका केही नेताहरुले चाहिँ विचौलियाका रुपमा चर्चित दीपक भट्टले वामदेव गौतमलाई उचालेर राष्ट्रियसमा सदस्य बन्न लगाएको र अर्थमन्त्री दाबी गर्न लगाएको केपी ओली पक्षका केही नेताहरुले गाइँगुइँ गर्न थालेका छन् ।

दीपक भट्टका साथमा पूर्वएमाले र पूर्वमाओवादीका दुईजना नेतासमेत बैठक बसेर वामदेवलाई राष्ट्रियसभामा जान्छु भन्न लगाएको ओली पक्षका एक नेताले अनलाइनखबरलाई बताए ।

दीपक भट्टका दाजु सुशील भट्ट यसअघि नै लगानी बोर्डमा सिईओ बनिसकेका छन् । र, यसमा प्रधानमन्त्री ओलीको नै जोडबल दिएको थियो । अहिले चाहिँ ओली पक्षले दीपक भट्टराई वामदेव गौतमसँग जोडेर भित्रभित्रै प्रचार थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment