Comments Add Comment

वीरगञ्‍जमा जीवनरक्षक औषधिको अभाव

औषधि उत्पादक संघका कोषाध्यक्ष प्रभात रुंगटा र जीवनरक्षक अस्थालिन औषधि ।

२१ भदौ, वीरगञ्ज । कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेकी नारायणी अस्पतालकी नर्स ऋतुकुमारी सिंह स्वास्थ्यमा समस्या भएपछि कोरोना विशेष अस्पताल वीरगञ्ज हेल्थकेयर अस्पताल भर्ना भइन् । उनलाई अस्थालिन रेस्पिरेटरी सोलुसन चाहियो, तर बजारमा पाइएन  ।

त्यो थाहा पाएपछि वीरगञ्जकै नरेश साहले बुवाका लागि स्टक राखेको औषधि पठाइदिए । र उनी श्रीमान छोरासहित आइतबार डिस्चार्ज भइन् ।

अस्थालिन दमका रोगीहरुले प्रयोग गर्ने औषधि हो । यसले स्वास फेर्नलाई सजिलो गराउने भएकाले कोरोना संक्रमितहरुका लागि पनि प्रयोग गर्ने गरिउको छ । अस्थालिन हालेर वाफ दिँदा आईसीयूमा भएका बिरामीलाई समेत स्वास प्रश्वासमा सहज हुने गरेको उपचारमा संलग्न चिकित्कसको अनुभव छ ।

तर वीरगञ्जमा आस्थालिन मात्र होइन, डेक्सामेथासन, डेरिफाइलिन, ड्रोटाभेरिन, साल्बुटामोल रेस्पिरेटरी सोलुसनलगायतका औषधिको अभाव देखिएको छ ।

पछिला दिनमा पर्सा, बारा जिल्लामा लक्षण भएका र दिर्घ रोगीहरुमा कोरोना संक्रमण देखिएको छ । नारायणी अस्पतालसहित दुईवटा अस्थायी कोभिड अस्पतालमा भर्ना भएका कतिपय कोरोना संक्रमितमा उच्च ज्वरो, स्वास प्रश्वास र खोकीका साथै कडा निमोनिया देखिएको छ । उनीहरुको उपचारमा प्रयोग हुने यस्ता औषधिहरुको अभाव देखिएको चिकित्सकहरु बताउँछन् ।

जीवन रक्षक औषधिहरु सहजै नपाउँदा समस्या हुने गरेको नारायणी अस्थायी कोभिड अस्पताल गण्डकका संयोजक डा. उदयनारायण सिंह बताउँछन् । ‘वीरगञ्जमा लाइफ सेभिङ ड्रग्स पाउन गाह्रो भइरहेको छ, पाइहाले पनि चर्को मुल्य तिर्नुपरेको बिरामीका अफन्तहरुले बताउने गरेका छन्’ उनले भने, यसमा सम्बन्धित निकायले ध्यान दिनुपर्छ । यस्ता औषधिको अभाव हुँदा संक्रमित मात्र नभई अन्य विरामीको समेत जान जोखिममा पर्छ ।’

आस्थालिनको अभाव भएको थाहा पाएपछि उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले वीरगञ्जका विभिन्न औषधि पसलबाट खोजेर १६ थान आस्थालिन जुटाए । ६ थान नारायणीमा र १० थान वीरगञ्ज हेल्थ केयरमा पठाए ।

वीरगञ्जकै पत्रकार अमित अग्रवाल ५ दिनदेखि यो औषधि जुटाउन सक्रिय छन् । सीमावर्ती शहर रक्सौलका मेडिकल सञ्चालकसँग समन्वय गरेपछि सीमासम्म ल्याउने र त्यहाँबाट अस्पतालमा पुर्‍याउने गरेको उनी बताउँछन् । उनले वीरगञ्जका अस्पतालहरुमा ३४ थान, बाराको कलैया अस्पतालमा २० थान र पोखरिया अस्पतालमा १५ थान निःशुल्क उपलब्ध गराएका छन् । ‘वीरगञ्जका नपाएपछि रक्सौलको ऋषि मेडिकलका सञ्चालकलाई जसरी पनि उपलब्ध गराउन अनुरोध गरें’ उनी भन्छन् ‘सीमासम्म उनले ल्याइदिन्छन्, त्यहाँबाट मैले ल्याएर विभिन्न अस्पतालमा उपलब्ध गराएको छु ।’

उद्योग सञ्चालनमा सहजीकरण भएन : औषधि उद्योगी

नेपाल औषधि उत्पादक संघ केन्द्रीय कोषाध्यक्ष एवं प्रदेश अध्यक्ष प्रभात रुंगटा उद्योग सञ्चालनमा स्थानीय प्रशासनले सहजीकरण नगरिदिएको गुनासो गर्छन् । पछिल्ला दिनमा उद्योग सञ्चालनमा प्रशासनले सहजीकरण नगरेको उनी बताउँछन् ।

उद्योगी रुंगटा भन्छन् ‘वीरगञ्जमा १४ वटा, जनकपुरमा ४ वटा उद्योग छ । असारसम्म औषधि उद्योग सञ्चालनमा खासै समस्या थिएन, आंशिक रुपमा चलाएर भएपनि औषधि अभाव हुन दिएका थिएनौं । तर पछिल्ला दिनमा औषधि उद्योग सञ्चालनका लागि कर्मचारी पुर्‍याउनेलगायतका समस्या छ ।’

उद्योग र घर गर्दा समुदायमा पनि कोरोना संक्रमण फैलिने खतरा भएपछि प्रशासनले कडाइ गरेको छ । कर्मचारीहरुलाई राख्नका लागि क्वारेन्टिन र संक्रमित हुँदा राख्न आइसोलेसन सेन्टर भए मात्र उद्योग खोल्नदिने भनिएको छ ।

तर रुंगटा भने औषसध उद्योग दाल चामल, फलाम डण्डीको उद्योग जस्तो नभएको बताएँछन् । ‘सय जना कर्मचारीलाई त राखेर उद्योग चलाउन सकिएला, तर साढे ६ सय जना भएका उद्योगले कसरी व्यवस्था मिलाएर चलाउने ?’ उनले भने ।

त्यही कारण १५ मध्ये ८ वटाले आंशिक र ४ वटा उद्योगले पूर्ण रुपमा उत्पादन बन्द गरेका छन् । तीन वटा उद्योगले भने कर्मचारी पुगे चलाउने, नभए नचलाउने गरेको छ । त्यसमाथि पछिल्ला दिनमा अभाव भएको भनिएको अस्थालिन लगायतका औषधि यहाँ उत्पादन नहुने गरेको रुंगटाले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment