Comments Add Comment

चितवनका थारू समुदायले यो वर्ष झाम्टा नाच ननाच्ने

फाइल तस्वीर

२१ भदौ, चितवन । चितवनका थारु समुदायले यस वर्ष जितिया पर्वका अवसरमा सामूहिक झाम्टा नाच ननाच्ने भएका छन् ।

कोरोना भाइरसको संक्रमण जिल्लामा बढिरहेको भन्दै थारु कल्याणकारिणी सभा चितवनले जितियाका अवसरमा सामूहिकरुपमा पर्व नमनाउन भनेको छ ।

थारु कल्याणकारिणी सभा चितवनले एक विज्ञप्ति जारी गरी कार्यविधि लागू भएको घोषणा गर्दै जितियासहित आउँदा चाडपर्वहरु घरमै बसेर मनाउन आग्रह गरेको छ ।

जितियासहित एमोसा, दशैं तिहारका बेला हुने सोहराई पूजामा पनि घरपरिवारमै सीमित हुन भनिएको छ ।

सभाले थारू समुदायले मनाउने चाडपर्वहरुलाई व्यवस्थित पार्न भन्दैं कार्यविधि नै तयार गरेको छ ।

कार्यविधिमा थारु महिलाहरुको चाड जितियामा सामूहिक झाम्टा नाच र सामूहिक कथा सुन्ने काम यसपटक नगर्न भनिएको छ ।

थारूहरूले भदौ २५ गते जितिया पर्व मनाउँदैछन् । जितियाका अवसरमा थारू महिलाहरूले गाउँघरका दिदीबहिनीहरू एक ठाउँमा भेला भएर झाम्टा पार्ने, व्रत बसेका महिलाहरुले जितबहानको सामूहिकरूपमा कथा सुन्ने प्रचलन रहिआएको छ ।

थारु कल्याणकारिणी सभा चितवनका सभापति ललितकुमार चौधरीले सामूहिक क्रियाकलाप गर्दा कोरोना भाइरसको संक्रमण बढ्न सक्ने देखिएकोले यस वर्ष सावधानी अपनाउन ‘चितोनिया थारु समुदायको चाडपर्व कार्यविधि-२०७७’ नामक कार्यविधि ल्याइएको बताए ।

कार्यविधि जिल्लाका अगुवाहरुमार्फत संघसंस्था तथा व्यक्तिहरुलाई पठाइएको छ । ‘थारू संस्कृतिको संरक्षण गर्दै परम्पराको पनि जगर्नो गर्ने गरी घर घरमा नै बसेर जितिया मनाउन भनेका छौं’ सभापति चौधरीले भने, ‘जीवन रहे त जितिया अर्को वर्ष भब्यरुपमा मनाउन पनि पाइन्छ नि ।’ यस वर्ष विक्रम बाबा मेलामा पनि सामान्य रीत मात्रैं पूरा गर्ने गरी मनाइने सभापति चौधरीले बताए ।

आफ्नो मनोकांक्षा पूरा गर्ने उद्देश्यले भाकल गर्न चैत्र शुक्लपक्षको प्रतिपदादेखि पूणिर्मासम्म १५ दिन चितवन राष्ट्रिय निकुञ्जको भित्र कसरामा बिक्रम बाबाको मेला लाग्छ । नवमीका दिन माडीमा गोदक मेला र भारतको डेवाढ भन्ने ठाउँमा पनि सहोदरा मेला लाग्ने गर्दछ ।

चितवनको समथर भूभागमा झण्डै ७० हजारको हाराहारीमा थारु समुदायको बसोवास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment