Comments Add Comment

वीरगञ्ज हेल्थ केयर कोभिड अस्पतालमा संक्रमित संख्या शून्य

अब जनरल सेवा सञ्चालनको तयारी

२४ भदौं, वीरगञ्ज । पर्सामा कोरोना संक्रमितको संख्या घट्न थालेपछि वीरगञ्ज हेल्थ केयर अस्थायी कोभिड अस्पताल बन्द गर्ने तयारी थालिएको छ । १ सय २० बेड क्षमताको उक्त कोभिड अस्पताललाई अब जनरल सेवा सञ्चालन गर्ने तयारी छ ।

संक्रमितको संख्या शून्यमा झरेकोले अस्पतालमा पुनः जनरल सेवा सञ्चालन गर्ने तयारी थालिएको सञ्चालक डा. अबुलहैस अन्सारीले जानकारी दिए ।

‘साउन १५ गते यता कोरोना संक्रमित भर्ना भएका छैनन् । सरोकारवालासँगको समन्वय गरिरहेका छौं । असोज १ गतेबाट जनरल सेवा शुरु गर्छौ’ उनले भने ‘अस्पताललाई खाली राख्नु भन्दा नियमित सेवाहरु पुनः सुरु गर्ने तयारी थालेका छौं । फ्युमिकेसनको काम शुरु गरिसकेका छौं ।’

डा. अन्सारीले १५ बेडको सेमी आइसोलेसन सेन्टर बनाएर कोरोना शंकास्पद बिरामीलाई पनि सेवा दिने हिसाबले अस्पताल सञ्चालन हुने बताए । ‘वीरगञ्जमा अब कोभिडसँगसँगै जनरल सेवा दिने अस्पतालको आवश्यकता बढेको छ’ उनले भने ‘विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसारकै व्यवस्था मिलाएर सेवा दिन्छौं ।’

हेल्थ केयरबाट मंगलबार अन्तिम पटक मंगलबार १५ जना संक्रमित कोरोनामुक्त भई डिस्चार्ज भएका थिए । कोभिड अस्पताल भएको पाँच हप्तामा हेल्थ केयरमा २ सय ४९ जनाको उपचार भएको छ । १ सय जना भन्दा बढी आईसीयुमा राखेर उपचार गरिएको छ । संक्रमितमध्ये ५० जना जतिलाई रेमडिसिभिर चलाइयो भने उपचारका क्रममा १६ जनाको मृत्यु भएको छ ।

पर्सामा साउनको पहिलो साताबाट कोरोना संक्रमितको संख्या एक्कासी बढेको हो । स्थानीय प्रशासनले वीरगञ्ज हेल्थ केयरलाई साउन १५ गते अस्थायी कोभिड अस्पताल बनाउन सिफारिस गरेको थियो । त्यसको दुईदिनपछि भदौ १७ गते कोभिड अस्पताल बनाउन सम्झौता भएको थियो ।

वीरगञ्जमा साउन १० गतेदेखि निषेधाज्ञा लगाइएको छ । पछिल्ला दिनमा थोरै संख्यामा मात्रै संक्रमित भेटिन थालेका छन् । संक्रमित भेटिने भन्दा कोरोनामुक्त भएर जाने क्रम बढेको र लक्षण बिनाका संक्रमितलाई होम आइसोलेसनमा छन् । सामुदायिक आइसोलेसन सेन्टरहरु पनि खाली हुने क्रममा छन् ।

एसोसिएसन अफ प्राइभेट हस्पिटल नेपाल (अफिन) को तर्फबाट प्रस्ताव गरिएको आशाराम अस्पताल र नेशनल मेडिकल कलेजले तयार पारेको बाबा होटल आइसोलेसन सेन्टर सञ्चालनमा आउनै बाँकी छन् ।

जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनय श्रीवास्तवले अब उक्त अस्पताललाई के गर्ने भन्ने विषयमा जिल्ला संकट व्यवस्थापन केन्द्रले निर्णय गर्ने बताए ।

२२ हजार २ सय ५४ जनाको स्वाब संकलन गरी परीक्षण गरिएकोमा पर्सामा २ हजार ४ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये १ हजार ५ सय ८१ जना कोरोनामुक्त भई घर फर्केका छन् भने ४२ जनाको मृत्यु भएको छ ।

बुधबार मात्रै ४२ जना कोरोनामुक्त भएका छन् । ७० बेडको गण्डक कोभिड अस्पतालमा ४२ जना उपचाररत छन् । जसमध्ये ७ जना आईसीयूमा छन् । होम आइसोलेसनमा रहेका संक्रमितको संख्या ४१ मात्रै छ । होटल, स्कुल तथा धर्मशालाका सामुदायिक आइसोलेसन सेन्टरमा केही संक्रमित रहेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment