Comments Add Comment

‘कोरोनाको जोखिम मोलेरै एन्जिओप्लाष्टी गर्दै आएका छौं’

प्रा.डा. श्यामराज रेग्मी

२६ भदौ, चितवन । मुटुको एन्जिओप्लाष्टी गर्ने प्रा.डा. श्यामराज रेग्मी चितवन मेडिकल कलेजको मेडिसिन विभाग प्रमुख हुन् । प्रा.डा. रेग्मीका अनुसार नेपालमा कोरोना कहर सुरु भएयता १३४ जनाको एन्जियोग्राफी र ८९ जनाको एन्जिओप्लाष्टी गरेर जीवन बचाइएको छ । तीमध्ये  एकजना कोरोना संक्रमित बिरामीको समेत एन्जिओप्लाष्टी गरिएको डा. रेग्मीले जानकारी दिए । यो अवधिमा १७ जनामा स्थायी पेशमेकर र ७ जनामा अस्थायी राखिएको छ ।

अनलाइनखबरसँग कुरा गर्दै डा. रेग्मीले मुटुमा रगत जाने र आउने नशा बन्द भएर आउने बिरामीलाई जोगाउनुपर्ने दायित्व एकातिर छ भने बिरामीको उपचार गर्ने क्रममा आफैँ संक्रमित हुने जोखिम पनि उत्तिकै रहेको बताए ।

उनले एन्जियोग्राम र एन्जिओप्लाष्टी गरेर जीवन बचाउनुपर्ने दायित्व सबैभन्दा महत्वपूर्ण भएकाले दायित्वका अघिल्तिर कोरोनाको संक्रमणलाई कम प्राथमिकता दिएर काम गरेको बताए । उनले भने, ‘बिरामी छट्पटाउँदै आउनुहुन्छ, पहिलो काम उहाँको ज्यान बचाउने नै हुन्छ, बिरामीमा कोरोना छ की छैन थाहा हुने कुरा पनि भएन, पीसीआर परीक्षण गर्नेतिर लाग्ने हो भने बिरामीको ज्यान जान्छ, संक्रमण सरे सर्ला भनेर जोखिम मोलेर नै एन्जिओप्लाष्टी गरिरहेका छौं ।’

प्रा.डा. श्यामराज रेग्मी भन्छन्- कुनै–कुनै मुट सम्बन्धी समस्यामा पीसीआर टेस्ट गरेर काम गर्न सकिने भए पनि नशा पूर्ण ब्लक भएका बिरामीमा कोरोना नतिजा पर्खिने कुरा हुँदैन

उनको नेतृत्वमा एक मात्रै एन्जिओप्लाष्टी गर्ने टिम छ । डा. रेग्मी भन्छन् ‘हामीसँग एउटा मात्रै एन्जिओप्लाष्टी गर्ने टिम छ, हामी नै संक्रमित भएर आइसोलेसनमा जानुपर्ने अवस्था आउँदा अन्य बिरामीले उपचार नपाएर मर्ने पो हो की भन्ने डर छ तर अप्सन छैन, टिम एउटै छ ।’

उनको टिममा अहिले एसोसियट प्रोफेसर डा.सुधीर रेग्मी, डा. विष्णुमणि धितालसहित ६ जना फेलोसिप विद्यार्थी छन् । सबै जना एमडी गरेर कार्डियोलोजीको तालिम लिँदैछन् । बिरामी आउँदा रातिमा समेत जुनसुकै बेला उठेर उनी नेतृत्वको टिम बिरामीको ज्यान बचाउन खटिन्छ ।

कोरोनाको आशंकामा धेरै डराएर उपचार नगर्दा बचाउन सकिने बिरामीको ज्यान जान सक्ने तर्फ सबैभन्दा बढी आफूहरु सचेत रहेको उनले बताए । ‘कोरोना बिरामीलाई हामीले सार्न पनि सक्छौं, बिरामीबाट हामीमा सर्न पनि सक्छ यो खतरा त सधैं रहन्छ नै,’ डा. रेग्मीले भने, ‘धेरै सुरो भएर उपचार गर्न खोज्दा आफू लगायत क्याथ–ल्याब टिम, सिसियु टिम र घरपरिवार जोखिममा पर्न सक्छन् दुवै परिस्थितिलाई विचार गर्छौं ।’ चिकित्साकर्मीमा पनि उच्च रक्तचाप, मधुमेह, दम, कलेजो, मिर्गाैला जस्ता इम्युनिटी कम पार्ने रोग हुन सक्छन्, जसलाई कोरोनाले छिटो संक्रमण गर्ने भएकाले विषेश सावधानी अपनाउने गरिएको डा. रेग्मीले बताए ।

उनका अनुसार पहिला पनि मुटु सम्बन्धी रोग छ भने कोरोनाको संक्रमणले बढी दुःख दिन सक्छ । कुनै–कुनै मुट सम्बन्धी समस्यामा पीसीआर टेस्ट गरेर काम गर्न सकिने भए पनि पूर्ण ब्लक हुने बिरामीमा कोरोना परीक्षण गर्न पर्खिने कुरा नै नआउने डा. रेग्मीको भनाइ छ । रेग्मी भन्छन् ‘पीसीआर टेस्ट गर्न ६/७ घण्टा लाग्छ त्यतिञ्जेल त बिरामीको ज्यान गइसक्छ ।’

डा. रेग्मीका अनुसार, कोरोना मात्रैले मात्र होइन, अन्य धेरै प्रकारका भाइरसले मुटुको मांसपेशी तहमा असर गर्छ । एक सर्वेक्षण अनुसार कोरोना भाइरसले ६५ वर्षमाथिका हर्ट–अट्याक सम्बन्धी रोग भएका मानिसलाई बढी कडा लक्षण देखाएको पाइयो । यस्ता रोगीको संख्या करिब ४० प्रतिशत देखिन्छ ।

उनी भन्छन्, ‘कोरोनाले प्रमुख रुपमा फोक्सोमा असर गर्ने भए पनि यसले खासगरी पहिल्यै कुनै मुटु रोग भएका बिरामीमा मुटु रोगको लक्षण बढाएको पाइयो, मृत्युदर १० प्रतिशतभन्दा बढी देखियो ।’ कोरोनाले मुटुको बाहिरी भागमा पानी जम्ने, कोषहरु मारिदिने, रगत बहने नशाहरुमा असर ‘भास्कुलाइटिस’ गरिदिने खतरा हुने डा. रेग्मीले बताए ।

अर्कोतिर कोरोनाले सबैभन्दा बढी फोक्सोमा असर गर्छ । फोक्सोसँगै मुटुको काम पनि जोडिएको हुनाले कोरोना संक्रमितको उपचार गर्दा धेरैमा मुटु रोगको उपचार पनि जोडिएको हुने डा. रेग्मीको भनाइ छ । कोरोना संक्रमण पत्ता लगाउने पीसीआर टेस्ट भविष्यमा एलाइजा जस्तो कुनै सहज टेस्ट उपलब्ध भएमा आकस्मिक उपचारमा सहज पुग्ने डा. रेग्मीले बताए ।

चितवनमा १० वर्ष, हजारभन्दा बढीको एन्जियोप्लाष्टिक

प्रा.डा. श्यामराज रेग्मीले चितवन मेडिकल कलेजमा एन्जिओप्लाष्टी सेवा सुरु गरेको १० वर्ष बित्यो । काठमाडौंको गंगालाल हृदयरोग अस्पतालको जागिर छाडेर उनी २०६९ सालमा चितवनमा केही गर्ने अठोट लिएर आए । त्यतिबेला राजधानी काठमाडौंमा मात्रै मुटुको एन्जिओप्लाष्टी हुन्थ्यो ।

धेरैजसो मुटुका आकस्मिक बिरामीहरू काठमाडौं पुग्न नपाउँदै अकालमै ज्यान गुमाउन बाध्य थिए । कुनै घरमा त, कुनै बाटोमै वितेका खबरहरु पनि सुन्ने गरिन्छ ।  हेलिकोप्टरमा जाने पहुँच सबैको हुन्थेन । एम्बुलेन्समा जाँदा अस्पताल पुगिने/नपुगिने ठेगान थिएन ।

त्यसैले, डा. रेग्मीले सबैलाई पायक पर्ने समथर र सडक पहुँचसमेत भएको चितवन रोजे । चितवन मेडिकल कलेजमा आफैंले बसेर सेटअप तयार गरे । पहिलो दिनबाट आफैं खटे । त्यतिबेला काठमाडौं बाहिर कार्डियोलोजी क्याथल्याब ठूलो कुरा थियो ।

एक वर्षमा क्याथल्याब सुरु भयो । बिरामीहरु पनि उल्लेख्य रूपमा आए । पूर्वमा धनुषा, महोत्तरी, सर्लाही, सिरहादेखि पश्चिममा दाङ, कपिलवस्तु प्युठानसम्मका बिरामीहरूलाई ज्यान जोगाउन आफूहरू सफल भएको डा. रेग्मीले बताए ।

‘पहुँच हुनेहरू त काठमाडौं मात्रै किन दिल्ली वा सिंगापुर पनि जान्छन्, तर नहुने र गरिब विपिन्नहरूलाई पनि बाँच्ने अधिकार छ भनेर चितवनमा एन्जिओप्लाष्टी सुरु गर्यौं,’ डा. रेग्मी भन्छन्, ‘धेरैलाई नयाँ जीवन दिएका छौं, विश्वास र माया बटुलेका छौं ।’

चितवन मेडिकल कलेजमा हालसम्म करिब एक हजार मुटुरोगीमा १७ सय स्टेन राखिसकिएको छ । एउटा नसामा दुई–तीनवटा तथा कसैकोमा तीनवटा नसामा अलग–अलग स्टेन पनि राख्ने गरिन्छ । बिरामीको मुटुको नशाको ब्लकेज हेरेर तीन वटासम्म नशा खोल्ने गरिएको डा. रेग्मीले जानकारी दिए । यसलाई पूर्ण डिभास्कुलाइरजेसन भनिन्छ । विश्वमा अहिले यो चलन चलेको डा. रेग्मी बताउँछन् ।

ओपन हार्ट सर्जरी तीनबाट नशा ब्लक हुँदा गर्ने गरिन्छ । यसमा जोखिम र मृत्युदर पनि बढी रहेको डा. रेग्मीले बताए । उनी भन्छन्, ‘पछिल्लो समयमा ओपन हार्ट सर्जरीभन्दा एन्जिओप्लाष्टी गर्ने चलन नै बढी चल्न थालेको छ । बिरामीको छाती चिर्न नपर्ने हुँदा बिरामीहरु पनि यसप्रति आकर्षित छन् ।’

चितवन मेडिकल कलेजमा ब्याकअप सर्जरी छैन । तर, अब चाँडै नै खोल्ने तयारीमा रहेको डा. रेग्मीले जानकारी दिए । ‘दुईभन्दा बढी नशामा ब्लक भएमा, एकै नशामा लामो ब्लक भएमा सर्जरी आवश्यक छ, प्वालहरू टाल्न ओपन हर्ट सर्जरीमा सहज हुन्छ,’ उनी भन्छन्, ‘कतिपय केस यति अफ्ठ्यारो हुन्छ कि, ओपन हर्ट सर्जरी गर्दा र एन्जिओप्लाष्टी गरेर पनि बचाउन सकिन्न, एक सयमा एक–दुई जनामा त्यस्तो पनि हुन्छ ।’

पहिले ओपन हर्ट सर्जरी नभएसम्म क्याथ ल्याब नखोल्ने भन्ने धारणा थियो । सन् २००७ मा ओपन हर्ट सर्जरीविना पनि क्याथ ल्याब गर्ने कुरा सुरू भएको मानिन्छ । ‘नेपालमा हामीले पहिलोपटक यस्तो अभ्यास गरेका हौं, अहिले अन्यत्र पनि गर्न थालेका छन्,’ डा. रेग्मी भन्छन् ।

‘मुटु रोगीलाई दिएको सुविधा थप्नुपर्छ’

मुटुको उपचार आफैंमा महँगो मानिन्छ । सरकारले अहिले विपन्नहरुलाई एक लाख रुपैयाँ उपचारमा सहायता गर्दै आएको छ । भारत सरकारले रगतको नशाभित्र राखिने स्टेनको भाउ घटाउँदा नेपालमा पनि घटेको छ । यसले बिरामीलाई केही राहत दिएको छ । अहिले देशका १७/१८ ठाउँमा क्याथ ल्याब छन् । चितवन मेडिकल कलेजमा सरकारले तोकिदिएको दरमा नै एन्जिओप्लाष्टी गर्ने गरिएको छ ।

सरकारले मुटु रोगीलाई उपचारमा छुट गर्नुअघि एन्जिओग्राफी र एन्जिओप्लाष्टीको रकम करिब ८९ हजार लिने गरिएको थियो । स्टेन चार्ज  लगभग डेढ लाखदेखि १ लाख ८० हजारसम्म पर्दथ्यो । अहिले ७५ हजारको हाराहारीमा स्टेन आउँछ । सरकारले अहिले दिएको एक लाखमा ५० हजार थपिदिए मुटुका बिरामीले लगभग निःशुल्क रुपमा एन्जिओप्लाष्टी गरेर घर जान सक्ने डा. रेग्मी बताउँछन् ।

उनी थप्छन् ‘मुटुको नसा ब्लक भएका नागरिकलाई राज्यले लगानी गर्दा केही बिग्रदैन, अन्य रोगी जस्तो हैन, स्टेन राखेको बिरामीले प्रोडक्टिभ जीवन बाँच्छ, क्वालिटी लाइफ जिउँछ, राज्यलाई पनि उसले योगदान दिन सक्छ ।’

एकपटक स्टेन राखेपछि चिकित्सकले भनेअनुसार नमान्दा एक सयमा एक जनामा फेरि नशा बन्द हुन्छ । सुगरका बिरामीलाई ३/४ वर्षमा फेरि ब्लक हुनसक्छ । कतिपयले भनेको बेलामा औषधी नखाने, छाड्ने, मादक पदार्थ, चुरोट खाने गर्दा पनि फेरि नशा ब्लक हुनसक्ने डा. रेग्मी बताउँछन् । यस्तो बेलामा पुनः स्टेन हालेर खोल्न सकिने उनको भनाइ छ ।

‘लक्षणले कहिलेकाहिँ झुक्याउँछ’

डा. रेग्मीका अनुसार धेरैजसोलाई हर्ट अट्याक (हृदयाघात) रातको विहानीपख हुन्छ । कहिलेकाहीँ हर्ट अट्याकको लक्षणले झुक्याउँदा अकाल मृत्युवरण गर्नुपरेको दुःखद अनुभूति डा. रेग्मीसँग छन् ।

‘नेपालीहरूमा हर्ट एट्याक बेहोस नभइ हुँदैन भन्ने भ्रम छ, ढलेपछि मात्रै स्वीकार गर्ने बानी छ,’ डा. रेग्मी भन्छन्, ‘सुगरका २५ प्रतिशत बिरामीमा लक्षण देखिदैन, इसिजीले नर्मल देखाउँछ तर झुक्याउँछ ।’

लक्षण खासै नदेखिएको अवस्थामा बिरामीले सामान्य रुपमा लिँदा समयमा उपचार पाउने अवस्थालाई पर धकेल्ने र बिरामीको मृत्यु हुने सम्भावना रहने डा. रेग्मी बताउँछन् । उनी भन्छन्, ‘हिँडडुल गर्दा देब्रे छाती असाध्यै दुख्छ र आराम गर्दा हराउँछ, तर मुटुको नशा बन्द भएको हुनसक्छ, इसिजीले पनि झुक्याउँछ, त्यसैले भित्रबाट नै बिरामीलाई शंका गर्नुपर्दछ ।’

शारीरिक ब्यायाम, खानपिन र आनीबानीमा ख्याल गरे मुटुरोगबाट बच्न सकिने डा. रेग्मीको सुझाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment