Comments Add Comment

के डोनाल्ड ट्रम्प नोबेल शान्ति पुरस्कारका लायक छन् ?

विगतमा हिटलर पनि परेका थिए मनोनयनमा

२६ भदौ, काठमाडौं । कोरोनाको महामारीले गर्दा लामो समयदेखि कुण्ठित अवस्थामा बाँचिरहेका विश्वभरका मानिसहरुले एउटा चर्चाको विषय पाएका छन् । नोबेल शान्ति पुरस्कारका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सिफारिस ।

अमेरिकामा राष्ट्रपति चुनाव आउन दुई महिना बाँकी हुँदा ट्रम्पलाई फुरुक्क पार्ने समाचार बुधबार सार्वजनिक भएको हो । उनी फेरि अमेरिकाको राष्ट्रपतिमा दोस्रो कार्यकालका लागि लालायित छन् । नोबेल शान्ति पुरस्कारले आफ्नो बिग्रँदो छवि उजिल्याउने र चुनावमा प्रभाव पार्न सक्ने उनको आशा छ ।

आफू नोबेलको मनोनयनमा परेको समाचार र सन्देशहरु आधा घन्टामा १७ पटकसम्म टि्वट/रिटि्वट गर्नुले पनि ट्रम्प कति उत्साहित छन् भन्ने अनुमान लगाउन सकिन्छ । ‘बरु यति लामो समय किन लाग्यो ?’ भनेर एक व्यक्तिले गरेको टि्वटलाई पनि उनले रिटि्वट गर्न भ्याए ।

ह्वाइट हाउसका प्रेस सेक्रेटरी केलीग म्याक एनानीले बुधबारको प्रेसमिटमा यो विषयलाई उधुम महत्व दिइन् । उनले ट्रम्प यो पुरस्कारको पूर्ण हकदार भएको जोडदार गफ हाँकिन् । हिजै ह्वाइट हाउसले पुरस्कार नै जिते जसरी औपचारिक विज्ञप्ति निकालेरै खुशी मनायो ।

गत सेप्टेम्बरमा आफूलाई अहिलेसम्म पुरस्कार नदिएको भनेर ट्रम्पले नर्वेली नोबेल कमिटीमाथि प्रश्न उठाएका थिए । उनले भनेका थिए, ‘मैले धेरै कारणले नोबल पुरस्कार पाउन सक्थेँ, यदि उनीहरुले निस्पक्ष निर्णय गरेको भए । तर उनीहरु गर्दैनन् ।’

उनले यो पनि भनेका थिए, ‘उनीहरुले ओबामा (पूर्वअमेरिकी राष्ट्रपति बाराक ओबामा)लाई राष्ट्रपति भए लगत्तै पुरस्कार दिए । तर, त्यो केका लागि थियो भन्ने ओबामालाई थाहा छैन ।’

नोबेल पुरस्कारका लागि ट्रम्प मनोनयनमा परेको यो पहिलोपटक भने होइन । यसअघि सन् २०१८ मा पनि उनी सिफारिसमा परेका थिए । उत्तर कोरियालाई निशस्त्रीकरण गराउन सफल भएको भन्दै उनलाई मनोनित गरिए पनि पुरस्कार भने पाएनन् । यसपालिचाहिँ ‘इजरायल र युएईबीच भएको शान्ति सम्झौतामा निर्णायक भूमिका खेलेको’ भनेर उनको सिफारिस भएको छ ।

यो पनि पढ्नुहोस नोबेल शान्ति पुरस्कारका लागि ट्रम्प मनोनित

नोबेल पुरस्कारको इतिहास हेर्दा ट्रम्पले पुरस्कार पाउँदैनन् भनेर ठोकुवा गर्न पनि सकिँदैन । उनीभन्दा अगाडि चार जना अमेरिकी राष्ट्रपतिले नोबेल शान्ति पुरस्कार जितिसकेका छन् सन् १९०६ मा थियोडोर रुजवेल्ट, १९२० मा वुड्रो विल्सन, २००२ मा जिमी कार्टर र सन् २००९ मा बाराक ओबामा नोबेल बिजेता बनेका थिए ।

थप तीनजना राष्ट्रपति नोबेल पुरस्कारका लागि मनोनित भएका थिए । उनीहरुमा विलियम हावर्ड टेफ्ट, हर्बर्ट हुवर र फ्रेंकलिन रुजवेेल्ट छन्, जसले पुरस्कार भने जित्न सकेनन् ।

सिफारिसकर्ता भन्छन् : ट्रम्प सबै मापदण्डमा फिट

नर्वेका एक दक्षिणपन्थी नेता क्रिस्चियन टायब्रिङ जेड्डीले ट्रम्पको नाम सिफारिस गरेका हुन् । नोबेल शान्ति पुरस्कारका लागि सबै हिसाबले ट्रम्पको ‘क्राइटएरिया’ पुग्ने उनको दाबी छ ।

अमेरिकी टीभी च्यानल फक्स न्युजलाई दिएको अन्तरवार्तामा उनले भनेका छन्, ‘मलाई लाग्छ दुई देशबीच शान्ति कायम गर्ने दिशामा ट्रम्पले शान्ति पुरस्कारका लागि नामांकित अरु सबै मानिसहरुभन्दा बढी काम गरेका छन् । अल्फ्रेड नोबेलले यस पुरस्कारका लागि तोक्नुभएका तीनवटै मापदण्डमा उहाँ खरो उत्रिनुभएको छ ।’

यो सम्झौताले इजरायल र थुप्रै अरब मुलुकहरुबीच दिगो शान्तिको लागि ढोका खोल्ने उनको दावी छ । जेड्डीले आफू ट्रम्पको समर्थक भने नभएको बताएका छन् । नोबेलको कमिटीले ट्रम्पका केही हर्कतहरुलाई ध्यान नदिई उनको योगदानलाई हेरेर निर्णय लिनुपर्ने उनको माग छ ।

अन्तरवार्तामा जेड्डीले भनेका छन्, ‘अमेरिकी राष्ट्रपतिहरुले या त युद्ध सुरु गर्ने या अन्तर्राष्ट्रिय सशस्त्र द्वन्द्वमा अमेरिकालाई मुछ्ने ३९ वर्षदेखिको सिलसिलालाई ट्रम्पले तोड्नुभयो । उहाँभन्दा अगाडि जिम्मी कार्टर मात्रै यो बाटोमा हिँड्नुभएको थियो जो स्वयम् नोबेल पुरस्कार बिजेता हुनुहुन्छ ।’

उनै जेड्डीले सन् २०१८ मा पनि अर्का विधायकसित मिलेर ट्रम्पलाई नोबेल पुरस्कारमा मनोनयन गरेका थिए । त्यसबेला उत्तर कोरियाली नेता किम जोङ उनसँग ट्रम्पले सिंगापुरमा पहिलो भेटवार्ता गरेका थिए, जसमा दुई नेताबीच कोरियाली प्रायद्वीपको पूर्ण निशस्त्रिकरण गर्ने विषयमा संयुक्त सहमतिपत्रमा हस्ताक्षर भएको थियो ।

त्यसबेला दक्षिण कोरियाली राष्ट्रपति मुन जाय-इनले समेत ट्रम्पले नोबेल शान्ति पुरस्कार जित्नुपर्ने मत राखेका थिए । त्यसको प्रत्यूत्तरमा ट्रम्पले मुनको भनाइ ‘एकदमै राम्रो, र ‘औधि प्रेमपूर्ण’ भन्दै धन्यवाद दिएका थिए ।

मनोनयनको खुकुलो प्रावधान

नोबेल पुरस्कारका लागि ट्रम्प मनोनयनमा पर्नु धेरै ठूलो कुरा भने होइन, जति उनले मानिरहेका छन् । प्रत्येक वर्ष सयौं व्यक्ति नोबेल पुरस्कारको मनोनयनमा परेका हुन्छन् । मनोनयनका प्रावधानहरु खुकुला छन् ।

नोबेलका लागि कुनै पनि राष्ट्र, राष्ट्रप्रमुख र राष्ट्रियस्तरको नेताले नाम सिफारिस गर्न सक्ने व्यवस्था छ । यसैगरी, विश्वविद्यालयका प्राध्यापकहरु, विदेशी नीति संस्थानका निर्देशक, नोबेल पुरस्कारका पूर्वविजेता तथा नर्वे नोबेल समितिका सदस्यहरुले पनि नाम प्रस्ताव गर्न सक्छन् । यसका लागि नोबेलबाट कुनै लिखित आमन्त्रणको पनि आवश्यकता हुँदैन ।

नोबेल पुरस्कारमा कसलाई मनोनयन गर्न सकिने ठोस मापदण्ड पनि छैन । माथि उल्लेखित सम्भावित प्रस्तावकहरुले सही ठहर्याएका जसलाई पनि मनोनित गर्न सक्छन् । यही खुकुलो व्यवस्थाले गर्दा नोबेल पुरस्कारको मनोनयनमा थरिथरि मानिसहरु अटाउने गरेका छन् । उदाहरणका लागि सन् १९३९ मा जर्मन तानाशाह एडोल्फ हिटलरसमेत मनोनित भएका थिए । स्वीडेनका एक सांसदले उनलाई मनोनित गरेका थिए, तर पछि नाम फिर्ता लिए ।

नोबेल शान्ति पुरस्कारमा ट्रम्पको दोस्रोपटक मनोनयनलाई पनि धेरैले आश्चर्यजनक मानेका छन् । अमेरिकाको इतिहासमै ‘बहुलठ्ठी’ र ‘अनुदार’ राष्ट्रपति भनेर चिनिएका उनी दुईपटक मनोनयनमा पर्नुलाई आलोचकहरुले पचाउन सकेका छैनन् । अमेरिकामा पनि यसबारे विभाजित मत छ ।

जुन वर्षको पुरस्कारका लागि नामांकन गरिएको हो, त्यसको १ फेब्रुअरीभन्दा अगाडि प्रस्ताव गरिएका नामहरु प्रतिस्पर्धाका लागि स्वीकार गरिन्छ । नोबेल पुरस्कार २०२० का लागि ३ सय १८ जना मनोनित भएका छन् । विजेताहरुको घोषणा हुन बाँकी छ । ट्रम्पको मनोनयन २०२१ का लागि हो । नर्बेको नोबल कमिटीले मनोनित व्यक्तिहरुको विषयमा सार्वजनिक जानकारी दिँदैन ।

ट्रम्पको दावेदारी कति बलियो ?

ट्रम्प राष्ट्रपति पदमा निर्वाचित भएदेखि नै निरन्तर विवादित र आलोचित रहे । एक राष्ट्रपतिका रुपमा उनले अमेरिकीहरुलाई एक ठाउँमा ल्याउने भन्दा पनि विभाजित गर्न भूमिका खेले । आफ्नो कार्यकालमा उनले गरेका अनगिन्ति निर्णयहरु असफल भएका छन् ।

पछिल्लो समयमा कोरोना भाइरसको प्रकोपलाई सामना गर्ने सवालमा ट्रम्पले सही रणनीति लिन सकेनन् । फलस्वरुप अहिले कोरोना प्रभावित मुलुकको सुचीमा अमेरिका एक नम्बरमा छ । विश्व राजनीतिमा ट्रम्पले खेलेका भूमिका पनि स्मरणीय छैन ।

उनको कार्यकालमा अमेरिकाको विश्व महाशक्ति छवि स्खलित बनेको धेरैको बुझाई छ । अमेरिकाको अर्थतन्त्र पनि खस्केको छ । अन्धभक्त बाहेक कुनै पनि तटस्थ अमेरिकीले ट्रम्पको पाँच वर्षे कार्यकाललाई सफल भन्न सक्दैन ।

कुटनीतिमा ट्रम्प असफल छन् । उत्तर कोरियासँग उनले संवाद थाले पनि त्यसलाई कुनै निस्कर्षमा पुर्याउन सकेनन् । उत्तर कोरियाको निशस्त्रीकरण कागजमा सिमित भयो । चीनसँगको अमेरिकाको सम्वन्ध निरन्तर कटुतापूर्ण बनिरहेको छ । आफ्नै पकडभित्रको देश भारत पनि ट्रम्पसँग खुशी छैन । ट्रम्पको अकुटनीतिक अभिव्यक्ति र अपरिपक्व शैलीले धेरै देशहरुलाई चिढ्याइरहेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) बाट अमेरिकालाई बाहिर निकाल्ने आवेशपूर्ण निर्णय लिएर उनले संयुक्त राष्ट्रसंघसँग समेतसम्वन्ध बिगारेका छन् ।

यी त भए शासकीय अयोग्यताका विषयहरु । नोबेल शान्ति पुरस्कारमा यी विषयहरुलाई नजरअन्दाज गरेर विश्व शान्तिमा ट्रम्पले निभाएको भूमिकालाई मात्रै हेर्छ भन्ने मानौं । मनोनयनकर्ताले इजरायल र यूएईबीचको सम्झौतामा ट्रम्पको मुख्य भूमिका रहेको र यसैका आधारमा उनी नोबेल पूरस्कारकालागि योग्य भएको जिकिर गरेका छन् । त्यसो भए त्यो सम्झौता कति महत्वको थियो भन्ने प्रश्न आउँछ ।

गत अगष्टमा इजरायल र संयुक्त अरब इमरेट्सले पारस्परिक सम्वन्ध सुधारका लागि शान्ति सम्झौता गरेका थिए, जसलाई ट्रम्प प्रशासनले आफ्नो पहलमा भएको भनेको छ । योसम्झौतामार्फत इजरायलले पश्चिमी किनारामा आफ्नो नियन्त्रणमा रहेको भूमिका केही हिस्सा छोड्न तयार भएको थियो । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र अबुधावीका युवराज मोहम्मद बिन जायदले ट्रम्पसँग संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेका थिए ।

समर्थकहरुले यसलाई ट्रम्पको ठूलो जितका रुपमा प्रचार गरेका छन् । ट्रम्पले भूराजनीतिकरुपमा महत्वपूर्ण सम्झौता गरेर विश्वस्तरमा अमेरिकाको बलियो भूमिका स्थापित गर्न सक्छन् भन्ने यसबाट प्रमाणित भएको उनीहरुको तर्क छ । नोबेलका मनोनयनकर्ताले पनि इजरायल र यूएईबीच सम्झौता गराएको जस ट्रम्पलाई दिएका छन् ।

निश्चय पनि यो एउटा महत्वपूर्ण सम्झौता हो । सन् १९४८ मा इजरायलको स्वतन्त्रता घोषणायता इजरायल-अरब राष्ट्रबीच भएको यो तेस्रो सम्झौता हो भने इजरायल र खाडी-अरब राष्ट्रबीचको पहिलो । तर, महत्वपूर्ण कुरा के छ भने यो सम्झौताको एउटा साझेदार प्यालेस्टाइन हुनुपर्ने हो । तर, प्यालेस्टाइनले सम्झौतालाई मान्यता दिएको छैन । त्यही भएर आलोचकहरुले यसलाई एउटा पब्लिसिटी स्टन्ट मात्रै मानेका छन् ।

उक्त सम्झौताले दुई देशबीचको सम्वन्धलाई अर्थपूर्णरुपमा रुपान्तरण नगर्ने विश्लेषकहरु बताउँछन् । प्यालेस्टिनियन राष्ट्रपति मोहम्मद अब्बासले यो सम्झौतालाई ‘प्यालेस्टाइनमाथिको धोकाधडी’ को संज्ञा दिएका छन् । अब नोबेल कमिटीले यो सम्झौतालाई कसरी व्याख्या गर्छ भन्ने कुराले ट्रम्पले पुरस्कार पाउने नपाउने निर्धारण गर्न सक्छ ।

ती ओबामा, यी ट्रम्प

नोबेल पुरस्कार विजेताको छनोट अपारदर्शी र राजनीतिकरुपमा प्रेरित हुने गरेको आरोप पनि लाग्दै आएको छ । कतिपयले यसमा पैसाको चलखेल हुने दावी पनि गरेका छन् ।

विगतमा भएका केही निर्णयहरुले यस्तो आरोपलाई बल पुर्याउँछन् । सन् २००९ मा अमेरिकाकै राष्ट्रपति बाराक ओबामालाई नोबेल शान्ति पुरस्कार दिइयो । उनले ‘अन्तर्राष्ट्रिय कुटनीतिलाई विस्तार गर्न र जनताहरुबीचको समन्वय विकास गर्न असाधारण भूमिका खेलेको’ नोबेल कमिटीको ठहर थियो । तर, विश्लेषकहरुले त्यसलाई हास्यास्पद भनेका थिए ।

विश्व महाशक्तिलाई खुशी पार्नका लागि ओबामालाई सो पुरस्कार दिइएको आरोप लागेको थियो । किनकी नोबेल पुरस्कारकै हकदार हुने गरी ओबामाले विश्वस्तरमा कुनै ठोस भूमिका खेलेका थिएनन् । उनी राष्ट्रपतिको कुर्सीमा बसेको नौ महिना मात्र भएको थियो । त्यसैले उनको छनोटलाई राजनीतिक रुपमा अभिप्रेरित र अपरिपक्व निर्णय भनेर निकै आलोचना गरियो ।
हालका राष्ट्रपति ट्रम्पले सन् २०१३ मा टि्वट गर्दै ओबामालाई दिइएको नोबेल पुरस्कार रद्द गर्नुपर्ने बताएका थिए ।

त्यसबेला उनले लेखेका थिए, ‘हालै बाहिर आएको पुस्तकका अनुसार हाम्रा नोबेल पुरस्कार विजेता राष्ट्रपतिले भन्नुभएको रहेछ, म मान्छे मार्न एकदमै खप्पिस छु । के ओस्लो (नर्वेको राजधानी) ले उनको पुरस्कार रद्द गर्न सक्छ ?’

नोबेल कमिटीका पूर्व सेक्रेटरी गेइर लुन्डेस्टाडले पछि भनेका थिए, ओबामालाई परस्कार दिएकोमा मलाई पछुतो छ । ओबामाकै धेरै समर्थकहरुले समेत यसलाई गलत मानेका थिए । ओबामा स्वयम्ले पनि आफूले ठोस योगदान गरिनसकेको प्रतिक्रिया दिएका थिए । उनले नोबेलको पुरस्कार राशी १४ लाख अमेरिकी डलर च्यारिटीलाई प्रदान गरे ।

नोबेल शान्ति पुरस्कार विश्वमै सबैभन्दा प्रतिष्ठित पुरस्कार मानिन्छ । विगतमा मार्टिंन लुथर किङ, नेल्सन मण्डेला, मदर टेरेसाजस्ता महान हस्तिले पाएको यो पुरस्कारका लागि विख्यात व्यक्तिहरु लोभिन्छन् । यद्यपि, बारम्बार भइरहने त्रुटीपूर्ण निर्णयले गर्दा नोबेल पुरस्कारको गरिमा घट्दै गइरहेको छ ।

नर्वेको संसदले नियुक्त गर्ने पाँच सदस्यिय निर्णायक मण्डलले विभिन्न विधामा पुरस्कार जित्ने विजेताहरुको छनोट गर्ने गर्छ । सन् २०२१ को विजेता त्यही वर्षको अक्टोबर महिनामा घोषणा गरिने छ । बाँकी कौतुहल मेट्न त्यसै दिनको प्रतिक्षा गर्नुपर्ने हुन्छ ।
ट्रम्पको मनोनयन हुनुभन्दा अगाडि गरिएको एउटा अनलाइन सर्भेक्षणले ट्रम्पले नोबेल पुरस्कार जित्ने सम्भावना मात्र १ प्रतिशत देखाएको थियो । जबकि मनोनयनपछि यो सम्भावना ५ प्रतिशतमा उक्लिएको छ । माइक्रोसफ्टका संस्थापक बिल गेट्को सम्भावना पनि ट्रम्पकै हाराहारीमा देखिएको छ । साथै, अमेरिकाको राष्ट्रपति चुनावमा आउने नतिजाले पनि यो पुरस्कारमा उनको दावेदारीलाई फरक पार्न सक्छ ।

सर्भेक्षणले नोबेल शान्ति पुरस्कारको सबैभन्दा बलियो दावेदार न्यूजिल्याण्डका प्रधानमन्त्री जासिन्दा आर्डर्नलाई मानेको छ । उनको सम्भावना २० प्रतिशत रहेको सर्भेक्षणले देखाएको छ । आफ्नो देशमा कोरोनाभाइरसको नियन्त्रणमा प्रभावकारी भूमिका खेलेको भनेर उनी विश्वव्यापीरुपमा प्रशंसित बनेकी थिइन् ।

(एजेन्सीहरुको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
चिरञ्जीवी पौडेल

झण्डै डेढ दशकदेखि पत्रकारितामा सक्रिय पौडेल अनलाइनखबर डटकमका एसोसिएट एडिटर हुन् ।

ट्रेन्डिङ

Advertisment