Comments Add Comment

न पैसा, न माहोल : खल्लो हुन सक्छ यसपालिको दशैं 

व्यापारी, उपभोक्ता दुवैमा छैन चाडवाडको उत्साह

२६ भदौ, काठमाडौं । नेपालीहरुको सबैभन्दा ठूलो चाड दशैं आउन आजको मितिबाट ४५ दिन बाँकी छ । विगतमा यतिबेला दशैंको चहलपहल सुरु भइसकेको हुने थियो । यसपालि भने कोरोनाका कारण माहोल अर्कै छ ।

काठमाडौं उपत्यकाका बुधबारसम्म त कडा निषेधाज्ञा नै थियो । तीन साता लामो निषेधाज्ञा बिहीबारबाट खुकुलो बनाइयो । केही बन्देजहरुसहित  बजार नियन्त्रितरुपमा खुला गरिएको छ । पसलहरु खोल्न बार तोकिएको छ । के अबका दिनमा बजारमा दशैंको चहलपहल सुरु होला त ?

सरकारले निषेधाज्ञा खुकुलो गरेको कोरोना संक्रमण घटेर होइन । अहिले पनि संक्रमण बढ्दो क्रममा नै छ । लामो समयको निषेधाज्ञाले दैनिक काम गरेर खानुपर्ने बर्गलाई रोजिरोटीमै समस्या आएको थियो । त्यही दवावले गर्दा निषेधाज्ञा खुकुलो बनाइएको हो । निषेधाज्ञा खुल्यो भनेर निस्फक्री हिँडडुल गर्ने अवस्था छैन ।

उपत्यकामा व्यपार-व्यवसायसँगै सार्वजनिक यातायात सञ्चालनलाई पनि सञ्चालनको अनुमति दिइएको छ । चैतमा लकडाउन सुरुभएपछि सार्वजनिक सवारीसाधन सडकमा निस्किन पाएका थिएनन् । अब जोर-विजोर प्रणालीमा चल्न पाउने भएका छन् । यसले शहरभित्रको आवागमन केही खुकुलो बनाएको छ ।

लामो दुरीका सवारीसाधनलाई भने अझै खुला गरिएको छैन । साथै, दशैंमा बाक्लो चहलपहल रोक्न छोटो दुरीका सवारीसाधनमा फेरि बन्द लाग्ने सम्भावना पनि यथावत छ । त्यसैले व्यवसायीहरु यसपाली दशैंमा पहिलेजस्तो व्यापार नहुने कुराले चिन्तित छन् ।

६ महिनासम्म लम्बिएको लकडाउनका कारण देशका उद्योगधन्दाहरु ठप्प बने । धेरैले रोजगार गुमाएका छन् । साना व्यवसायीहरुको पनि उठिवास लागेको छ ।

नियमित तलब खाइरहेका सानो वर्गबाहेक हरेक उपभोक्ताको क्रयशक्तिमा ह्रास आएकाले यसपाली खुलेर दशैं मान्ने मुडमा कोही पनि छैन । धेरै परिवारका लागि दशैं दशा बन्ने निश्चित छ । पहिलेजस्तो दशैंमा महंगा सामानहरु खरिद गर्ने अवस्थामा निकै कम उपभोक्ताहरु छन् ।

अर्कोतर्फ काठमाडौमा भाडामा बसिरहेका मानिसहरु आफ्नो घर फर्किन पाउने नपाउने टुंगो पनि छैन । बाबुआमा गाउँमा र छोराछोरी शहरमा बसेर दशैं मान्नुपर्ने अवस्था हुनसक्छ यसपाली । सरकारले दशैंलाई भनेर लामो दुरीको सवारीसाधन खुला गरेन भने बाबुआमाले छोराछोरीलाई भिडियोमा हेरेर टिको लगाइदिनुको विकल्पन हुन्न । यदि सवारी साधन खुल्यो भने पनि कोरोनाका कारण मानिसहरु ह्वारह्वारी गाउँ पस्नु प्रत्यूत्पादक हुन सक्छ ।

खाद्यान्नको व्यापार शिथिल

दशैंको मुख्य व्यापार मध्येको एक हो खाद्यान्न । मिठो खाने र राम्रो लगाउने पर्वहरु खाद्यान्न व्यवसायीका लागि कमाउने अवसर पनि हुन् । तर यसपाली उनीहरु उत्साही छैनन् ।

खाद्यान्नका खुद्रा व्यवसायीहरु यसपालीको दशैं राम्रो हुने कुनै लक्षण नदेखिएको बताउँछन् । निषेधाज्ञा खुकुलो भए पनि पूर्णरुपमा नहटेकाले व्यापार उकासिने अवस्था नरहेको नेपाल खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठले बताए ।

पसलमा भएका सामान खासै नबिकेको र होलसेलहरु पनि दशैंप्रति उत्साहित नदेखिएको अध्यक्ष श्रेष्ठको भनाई छ । ‘बाहिरका मान्छे काठमाडौं आउन नसक्ने, आएर पनि जाने टुंगो छैन । अर्कोतर्फ यातायात नखुल्दा दशैंप्रति आशा जागेको छैन,’ उनले भने ।

उपभोक्ताको क्रयशक्ति घटेकाले पनि दशैंमा पहिलेजस्तो रौनक नहुने उनको अनुमान छ । सामान नबिकेका कारण थप लगानी गर्न पनि अप्ठ्यारो भएको उनले सुनाए ।

लकडाउन भर्खर सुरु हुँदा खाद्यान्नको व्यापार मारामार भएको थियो । घरभित्र थुनिएका काठमाडौंवासी मिठा-मिठा परिकार खाएर केही दिन बिताए । चामल, पिठो, नून, तेल, मसला लगायतको विक्री पहिलेभन्दा उच्च भयो । तर, अहिले सबै उपभोक्ता सिथिल भएका छन् । लकडाउन ६ महिनासम्म लम्बिँदा सबैको खल्ति रित्तिएको छ । त्यसैले खाद्यान्नको व्यापार ओरालो लागेको हो ।

कपडाका व्यापारी निराश

सामान्य अवस्थामा दशैंका लागि नयाँ कपडा लिन मोफसलका खुद्रा ब्यापारीहरुको न्युरोडमा यतिबेला निकै ठूलो भिड हुन्थ्यो । तर निषेधाज्ञा खुकुलो भएको दोस्रो दिनसम्म यस क्षेत्रका सबै सटरसमेत खुलेका छैनन् । कपडा व्यवसायीका लागि ईतिहासमै सबैभन्दा दुःखको दशैं-तिहार यस वर्ष हुने रञ्जना व्यापार संघका अध्यक्ष अन्जान शाक्यको अनुमान छ ।

गत वर्ष माघमा चीनबाट मगाइएको सामान अझै नेपाल नआएको उनले बताए । ‘दशैं राम्रो लगाउने पर्व हो तर बजारमा नयाँ लुगा छैन, व्यापारी मारमा छन्,’ अध्यक्ष शाक्यले भने । कोरोनाका कारण बैंकको ब्याज र किस्ता तथा भएका सामानसमेत नबिक्ने चिन्ताले व्यपारीहरु पिडित बनेको उनको भनाई छ ।

बस र जहाजको टुंगो छैन

अघिल्ला वर्षलाई सम्झने हो भने दशैं मान्न घर जानुपर्ने यात्रुहरु यतिबेला अगि्रम टिकट बुकिङको चटारोमा हुन्थे । तर लामो दुरीका सवारी साधन तथा आन्तरिक सेवामा हवाई यातायात सञ्चालन हुने कुनै निधो सरकारले अहिलेसम्म गरेको छैन ।

कोभिडका कारण ६ महिनादेखि जसोतसो व्यवसाय धानेर मात्रै बसेका वायु सेवा सञ्चालकहरु असोज १ देखि उड्न नपाए कर्मचारी बिदा गर्ने अवस्थामा पुगेका छन् । ऋण धन गरेर धानेको व्यवसाय दशैंको मुखैमा झनै संकटपूर्ण अवस्थामा आईपुगेको एक व्यवसायीले बताए ।

यद्यपी पर्यटन मन्त्री योगेश भट्टराईले भने १ असोजबाट आन्तरिक उडाउन खुलाउनेबारे तयारी थालिएको बताएका छन् । ‘१ गतेदेखि उडान सुरु हुनेगरी प्रस्ताव मन्त्रालयले सीसीएमसीमा पठाएको छ, एक गते नभए १५ गतेबाट सुचारु गछौँ,’ मन्त्री भट्टराईले भने ।

यतिबेला अगि्रम टिकट बुकिङले मारामार हुने बसपार्क यतिबेला सुनसान छ । असोज १ गतेबाट लामो दुरीको यातायात सञ्चालन गर्न सरकारले पहल नगरे निषेधाज्ञा अवज्ञा गर्ने चेतावनी व्यवसायीहरुले दिएका छन् । सरकारले लामो दुरीको यातायात सञ्चालनबारे कुनै प्रोटोकल नबनाएका कारण अन्यौल कायमै रहेको यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ ।

दशैं लक्षित आयात ठप्प

सामान्य अवस्थामा यतिबेला दशैंकालागि आयात हुने वस्तुले भन्सारमा निकै चाप हुन्थ्यो । तर मुख्य भन्सार कार्यालयहरु सुनसान रहेको भन्सार विभागले जनाएको छ ।

आजको मितिसम्म दशैं लक्षित आयात भन्सार बिन्दुहरुबाट नभएको भन्सार विभागका महानिर्देशक सुमन दाहालले जानकारी दिए ।

‘दशैं लक्षित आयातको चाप भन्सारमा देखिएको छैन, निषेधाज्ञा खुकुलो भएपछि बढ्न सक्ने अपेक्षा गरिएको छ,’ महानिर्देशक दाहालले भने । आयातका लागि थालिने प्रक्रियाहरु समेत अघि दशैकालागि भनेर खासै नभएको विभागले जनाएको छ । अबका दिनमा केही चहल पहल बढ्छ कि भन्ने अपेक्षामा विभाग छ ।

सरकारको तयारी सुरु    

बजार सुनसान भए पनि सरकारी निकायले भने दशैं लक्ष्यित अनुमनको तयारी गरेका छन् । सुपथ मूल्य पसल र चिनी आयातको तयारी पनि अगाडि बढाइएको छ ।

दशैंलक्षित बजार अनुगमनकालागि २० जना थप जनशक्ति मगाइएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ । यस्तै सहुलियत खाद्य पसल तथा चिनीको आयातकालागि प्रक्रिया सुरु गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ ।

दशैंका लागि ३ हजार खसी तथा च्याङ्ग्रा आयात गर्न छलफल अगाडि बढाइएको कम्पनीका प्रमुख कार्यकारी निर्देशक नेत्र प्रसाद सुवेदीले जानकारी दिए । यस्तै भन्सार महशुल छुटमा ल्याईने १० हजार मेटि्रकटन चिनी आयातका लागि पनि प्रक्रिया थालिएको सुवेदीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment