Comments Add Comment

वीरगञ्जमा आधुनिक शवदाह स्थल निर्माण हुने

२६ भदौ, वीरगञ्ज । वीरगञ्ज स्थित सिर्सिया नदी किनारमा व्यवस्थित तथा आधुनिक शवदाह स्थल निर्माण गरिने भएको छ । वीरगञ्ज– १३ स्थित रामजानकी मठ नजिकै सिर्सिया नदी किनारमा शवदाह स्थल निर्माण गर्न लागिएको हो ।

विश्वभरी फैलिएको कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेहरुको संख्या बढीरहेको अवस्थामा मृतकको शव व्यवस्थापनमा विभिन्न समस्या देखिँदै आएको छ । यस्ता समस्या समाधानमा सामुदायिक शवदाह स्थल उपयोगी हुने विश्वास लिइएको छ । कोराना संक्रमणबाट मृत्यु भएका मानिसको शव व्यवस्थापन गर्ने क्रममा पटक पटक स्थानीय र प्रहरीबीच झडप समेत भएका छन् । स्थानीयको अवरोधका कारण तनाब उत्पन्न हुँदा प्रहरीले हवाई फायर समेत गरेका थिए ।

जुनसुकै अवस्थामा मानिसको मृत्यु भएपनि धार्मिक परम्पराअनुसार ससम्मान अन्तिम संस्कार गर्न पाऊन् भन्नका लागि सामुदायिक शवदाह स्थल बनाउन लागिएको ग्रिन सिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले जानकारी दिए ।

‘रामजानकी मन्दिर छेउमा ४४ कठ्ठा ऐलानी जमिन रहेछ, वीरगञ्ज महानगरपालिकासँगको समन्वयमा त्यहीं शवदाह स्थल बनाउने निर्णय गरेका छौं,’ उनले भने, ‘सरोकारवाला राजी भएको अवस्थामा विद्युतीय शवदाह गृह समेत त्यहीं निर्माण गर्न सकिन्छ ।’

जिल्ला प्रहरी कार्यालय पर्साकी प्रमुख प्रहरी उपरीक्षक गंगा पन्तसहितको टोलीले शवदाह गृह निर्माणका लागि छलफल समेत गरिसकेको छ । शवदाह गृह निर्माणका लागि राजकुमार दारुकाले सम्पूर्ण आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

दारुकाकै संयोजकत्वमा घाटको व्यवस्थापन तथा निर्माणका १७ सदस्यीय निर्माण तथा व्यवस्थापन समिति गठन गरिएको छ । वीरगञ्ज– ११ का वडाध्यक्ष प्रधुम्न सेढाईं, वडा नम्बर १३ का अध्यक्ष तुफान फारुक अन्सारी लगायतले पनि शवदाह स्थल निर्माण क्षेत्रको अवलोकन गरेका छन् । सबैको सहमतिमा विवादरहित ढंगले रामजानकी मन्दिर नजिकै सिर्सिया नदी किनारमा सामुदायिक आर्यघाट बनाउन लागिएको वीरगञ्ज– ११ का अध्यक्ष सेढाईंले बताए ।

‘अशोक बाटिकामा शवदाह स्थलले मात्रै धान्ने अवस्था छैन, रामजानकी मन्दिरसँगै सिर्सिया नदीको किनारमा ऐलानी जमिन देखियो,’ उनले भने, ‘नयाँ शवदाह स्थल बनाउन उपयुक्त ठाउँ हुन्छ भनेर दाताको सहयोगमा काम पनि सुरु भइसकेको छ ।’

प्रदेश सरकारले पहिलेदेखि नै जमिन दिएको खण्डमा विद्युतीय शवदाहगृह बनाउने आश्वास दिएको छ भने प्रदेश सभा सदस्य ओमप्रकाश शर्माले पनि विद्युतीय शवदाह गृह बनाउन आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment