Comments Add Comment

कुलमानको पक्षमा कलाकारः राति ५ मिनेट बत्ती निभाएर दबाब दिने अभियान

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा कुलमान घिसिङले ४ बर्ष बिताए । उनकै कार्यकालमा नेपाल लोडसेडिङमुक्त भयो । १८ घन्टा लामो अन्धकारबाट नेपाल र नेपाली जनतालाई मुक्ति दिएका कुलमानको कार्यकाल सकिएसँगै उनलाई पुनः प्राधिकरणमा नियुक्ति गर्नुपर्ने आवाज जनस्तरबाट सुनिन थालेको छ ।

कुलमानलाई आज बस्ने मन्त्रिपरिषद्को बैठकले पुनः नियुक्ति गर्ने अपेक्षा आम नागरिकको छ । कुलमानको पुनः नियुक्तिका लागि कलाकारहरुले पनि दबाब दिइरहेका छन् । केही हप्ता अगाडि कुलमानलाई पुनः नियुक्त गर्नुपर्ने भन्दै कलाकार हरिवंश आचार्य, नायिका करिश्मा मानन्धर लगायतका दर्जन कलाकारले आवाज उठाएका थिए ।

उनै, कुलमानलाई पुनः नियुक्तीको माग गर्दै कलाकार दीपकराज गिरीले आजबाट हरेक साँझ बेलुकी आठ बजेपछि ५ मिनेट बत्ती निभाएर ऐक्यबद्धता जनाउन अपील गरेका छन् । सामाजिक संजालमा दीपक लेख्छन्–‘आदरणीय साथीहरु । कुलमानजीको पुनः नियुक्तिका लागि जन दबाब स्वरुप आजबाट हरेक साँझ आठ बजे ५ मिनेट बत्ती निभाएर ऐक्यवद्धता प्रकट गरौं ।’

यस्तै, निर्देशक प्रदीप भट्टराइले पनि हरेक दिन आठ बजेपछि ५ मिनेट बत्ती निभाउन अपील गरेका छन् । उनले ‘नराम्रा पटक पटक, राम्रा किन एक पटक ?’ भन्ने प्रश्न सोझ्याउँदै यो अभियानमा सहभागी हुन सबैसँग अपिल गरेका छन् ।

दीपक र प्रदीपको यो कुरालाई धेरै जनताले समर्थन गर्दै अभियानमा सहभागी हुन अपिलसमेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment