Comments Add Comment

ऋणी र बैंकबीच सहजीकरण गर्न ‘सापटी सेवा’

१ असोज, काठमाडौं । ऋणी र बैंक तथा वित्तीय संस्थाबीच सहजीकरण गर्ने ‘सापटी सेवा’ सञ्चालनमा आएको छ । व्यापार–व्यवसाय गर्न तथा विभन्न कामका लागि ऋण चाहिन्छ तर सहजै ऋण पाउन भने गाह्रो छ । यसका लागि ऋण दिने र लिनेबीच सहजीकरण गरिदिने काम ‘सापटी सेवा’ ले गर्ने जनाएको छ ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाबाट कर्जा निकाल्न निकै गाह्रो छ । भनेका बेला कागजपत्र तयार नहुने तथा बैंक तथा वित्तीय संस्थाका विभिन्न सर्त र नियमका कारण सेवाग्राहीले कर्जा निकाल्न झन्झट बेहोर्दै आएका छन् ।

यस्तो समस्या सानादेखि ठूला कर्जा दिने संस्थासम्ममै छ । त्यसैले व्यापार व्यवसाय चलाउन, घर तथा गाडी खरिदका लागि कर्जा लिन तथा नयाँ उद्योग खोल्न आवश्यक कर्जा लिन जानुअघि ऋणीहरूले अनावश्यक झन्झटका कारण धेरैपटक सोच्नुपर्ने अवस्था छ । अधिकांशले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएरै उद्योग व्यवसाय गर्छन् ।

आवश्यक धरौटी राख्छु भन्दा पनि धेरैले सहज रूपमाकर्जा पाइरहेका हुँदैनन् । ऋणी र निक्षेपकर्ताकै कारण बैंक तथा वित्तीय संस्था सञ्चालन हुन्छन् । नेपालमा अहिलेसम्म ऋणी र बैंक तथा वित्तीय संस्थाबीच सहजीकरण गरिदिएर कर्जा निकाल्ने अभ्यास सुरु भइसकेको छैन । विदेशमा यस्तो अभ्यास धेरै पहिलादेखि हुँदै आएको छ ।

यसको सहजीकरण सापटी सेवाले गर्ने जनाएको छ । सापटी सेवा यो एक कम्पनी हो । विदेशी अभ्यास र प्रविधिलाई पछ्याएर ‘सापटी सेवा’ कम्पनीको स्थापना गरिएको हो ।

कम्पनीले दिएको जानकारी अनुसार यसले बैंक तथा वित्तीय संस्था तथा ऋणीबीच पुलको काम गर्छ ।संस्थाले प्रचलित ऐन नियमअनुसार सम्बन्धित निकायको स्वीकृति लिनुपर्ने भए लिई विभिन्न बैंक तथा वित्तीय संस्थासँग साझेदारी, सहकार्य गरी व्यक्तिगत एवं संस्थागत कर्जा प्रवाह गर्न सहयोग पु¥याउने दावी गरेको छ ।

साथै, प्रचलित कानुन बमोजिम कर्जा लिन आवश्यक पर्ने पूर्वतयारीसम्बन्धी सेवाहरू, व्यापारिक प्रस्ताव, व्यावसायिक योजना, वित्तीय प्रक्षेपण, बजार सम्भाव्यतालगायत अन्य सुरुदेखि अन्तिमसम्मका सम्पूर्ण सेवा व्यक्तिगत एवं संस्थागतस्तरमा प्रदान गर्ने, सहजीकरण गराउने यस कम्पनीको उद्देश्य छ ।

बैंक तथा वित्तीय संस्थासँग कर्जा लिन चाहनेले ‘सापटी सेवा’को वेबसाइटमा गएर आफूले चाहेको संस्थाका लागि अनलाइन फारम भर्न सक्नेछन् । वेबसाइटमा विभिन्न बैंक तथा वित्तीय संस्थाका अधिकतमदेखि न्यूनतम कर्जा तथा सावाँ–ब्याजबारे उल्लेख गरिएको हुनेछ ।

त्यसकै आधारमा सेवाग्राहीले फारम भरी कर्जा लिन चाहेमा ‘सापटी सेवा’ले सहजीकरण गर्नेछ । यसले ऋण लिन चाहनेहरुका लागि निकै सहयोगी भूमिका खेल्ने कम्पनीको दावी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment