Comments Add Comment

प्रदेश ५ का ६ अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरिने

२ असोज, बुटवल । प्रदेश ५ सरकारले प्रदेशका ६ वटा जिल्ला अस्पताललाई स्तरोन्नति गरी ५० शय्याको बनाउने निर्णय गरेको छ । मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले रुकुम पूर्व, रोल्पा, कपिलवस्तु, अर्घाखाँची, पाल्पा र भीम अस्पताल भैरहवालाई स्तरोन्नति गर्ने निर्णय गरेको हो ।

बैठकले भीम अस्पताल र कपिलवस्तु जिल्ला अस्पतालमा ७१ जना र अर्घाखाँची, रुकुम पूर्व, रोल्पा, अर्घाखाँची र पाल्पा जिल्ला अस्पतालका लागि ६० जनाको दरबन्दी स्वीकृत गर्ने निर्णय समेत गरेको सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले जानकारी दिए ।

बैठकले शवबहान खरिदका लागि प्रदेशका विभिन्न ६ वटा पालिकालाई कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषबाट १५ लाख रुपैयाँका दरले ९० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय समेत गरेको छ । शवबहानका लागि रकम पाउने पालिकाहरुमा प्यूठान नगरपालिका, गुलरिया नगरपालिका, सिस्ने गाउँपालिका, रोल्पा नगरपालिका, सन्धीखर्क नगरपालिका र रामग्राम नगरपालिका छन् ।

बैठकले गुल्मीको रेसुङगा नगरपालिका र हाकिञ्ज परिषद, बेलायतबीच भगिनी सम्बन्ध कायम गर्न नेपाल सरकारमा सिफारिस पठाउने, रोल्पाको त्रिवेणी गाउँपालिकाको वडा संख्या र सीमाना हेरफेर गरी क्रम मिलान गर्ने सम्बन्धमा सम्बन्धित गाउँपालिकाबाट प्राप्त प्रस्ताव नेपाल सरकार समक्ष पठाउन स्वीकृति प्रदान गर्ने निर्णय पनि गरेको छ ।

यस्तै असोज ३ गते संविधान दिवसका दिन घोषणा गरिने पदक सिफारिस स्वीकृत गर्ने निर्णय पनि बैठकले गरेको छ । पदक प्राप्त गर्नेहरुको नाम असोज ३ गते आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश राजपत्रमा प्रकाशन गर्ने छ ।

बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा प्रदेश मामिला सूचना केन्द्रका लागि मन्त्रालय र जिल्लास्थित कार्यालयका लागि १९ जनाको अस्थायी दरबन्दी स्वीकृत गरेको छ । बैठकले नेपाल स्वास्थ्य सेवा अन्तर्गत ११ औं तहका डेण्टल सर्जन डा. वर्षा थापालाई लुम्बिनी प्रादेशिक अस्पतालमा कामकाजमा खटाउने निर्णय समेत गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment