Comments Add Comment

तनहुँ प्रहरीको निशानामा फरार अभियुक्त, एकैदिन २५ जना पक्राउ

५ असोज, पोखरा । तनहुँको भानु नगरपालिका वडा नम्बर १३ का सुरेन्द्रकुमार श्रेष्ठको विवाह भएलगत्तै भागम्भाग सुरु भयो । भानु सम्जुरका २६ वर्षीय सुरेन्द्रकुमारले सहमतिमै भए पनि नाबालिका विवाह गर्दा उनीविरुद्ध मुद्दा पर्‍यो ।

तनहुँ जिल्ला अदालतले १७ फागुन २०७३ मा सुरेन्द्रलाई दोषी ठहर गर्दै १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवानाको सजाय सुनायो । सुरेन्द्रले न कैद सजाय भुक्तान गरे, न जरिवाना तिरे । उनी फरार भए । फरार भएको ४ वर्षपछि जिल्ला प्रहरी कार्यालय तनहुँले कैद तथा जरिवाना भुक्तानका लागि आइतबार उनलाई पक्राउ गरेको छ ।

तनहुँ बन्दिपुर गाउँपालिका वडा नम्बर १ भन्सार बस्ने बर्लमिन भन्ने बहरुल अमिन मियाविरुद्ध लागु औषध कारोबारको मुद्दा पर्‍यो । जिल्ला अदालत तनहुँले १४ चैत २०७६ मा मियालाई दोषी करार गर्दै १ वर्ष २ महिना कैद र ५२ हजार रुपैयाँ जरिवाना तोक्यो ।

अदालतको फैसलाअनुसार सजाय र जरिवाना भुक्तान नगरी मिया फरार भए । विभिन्न ठाउँमा लुकिछिपी बसिरहेको अवस्थामा आइतबार तनहुँ प्रहरीको नजरमा परे । बाँकी कैद सजाय तथा वरिवाना भुक्तानका लागि मिया पनि पक्राउ परेका छन् ।

यी त २ उदाहरणमात्रै हुन् पछिल्लो समय तनहुँ प्रहरीले अदालतको फैसलाको अपहेलना गर्ने फरार अभियुक्तहरुलाई धमाधम पक्राउ गरिरहेको छ । अदालतले दोषी ठहर गरेका फरार अभियुक्तहरुलाई पक्राउ गर्ने अभियान नै चलाएको तनहुँ प्रहरी प्रमुख एसपी अरुण पौडेलले बताए । तनहुँ प्रहरीले आइतबारमात्र विभिन्न समयमा अदालतबाट दोषी ठहर भएर फरार रहेका २५ जना अभियुक्तलाई पक्राउ गरेको पौडेलले जानकारी दिए ।

विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका तथा अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगोसमेत तिर्न बाँकी भएका व्यक्तिहरुको खोजी गर्ने अभियान नै चलाएको तनहुँ प्रहरीले हप्ता दिन अघिमात्र एकैदिन ३५ जनालाई पक्राउ गरेको थियो ।

‘विभिन्न अपराधमा संलग्न रही फरार अभियुक्तमाथि हामीले एक्सन लिइरहेका छौं,’ एसपी पौडेलले भने, ‘अपराध गरेर, अदालतले दोषी हो भनेर कारबाहीको फैसला सुनाइसकेर पनि अभियुक्त खुलेआम समाजमा हिँड्नु न्यायको उपहास हुनु हो । न्यायप्रति जनताको विश्वास जगाउन पनि प्रहरीले अभियान चलाएको हो ।’

फरार अभियुक्त पक्राउ गर्न विशेष प्रहरी ठोली नै खडा गरिएको तनहुँ प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । ‘अभियुक्तसम्म पुग्नलाई प्रहरीको विशेष टोली नै खटिइरहेको छ । कतै साथी बनेर, त कतै ग्राहक बनेर अभियुक्तलाई पक्राउ गरिएको छ,’ प्रवक्ता तिमिल्सिनाले भने, ‘यस्ता अभियुक्तहरुको लिस्ट नै तयार पारेर कानुनी दायरामा ल्याउन तनहुँ प्रहरी लागिपरेको छ ।’

देखिँदा सानै कसुर वा थोरै रकम जरिवाना भुक्तान किन नहोस्, अदालतको फैसलाको अपहेलना गर्न नपाइने एसपी पौडेलको भनाइ छ । १ दिन कैद वा १ रुपैयाँ जरिवाना नै किन नहोस् त्यो भुक्तान गर्नैपर्ने एसपी पौडेलले बताए ।

‘कुनै पनि हालतमा अदालतको अपहेलना र कानुनको उल्लंघन गर्नु हुँदैन । दाषीले सजाय पाउनै पर्छ,’ एसपी पौडेलले भने, ‘यस्ता व्यक्ति समाजमा खुलेआम हिँड्दा प्रहरी प्रशासन र न्यायलयमाथि जनाको विश्वास घट्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment