Comments Add Comment
संस्मरण :

अनुवादको ‘ओडिसी’ यात्रा

साहित्यका धेरै विधा र भेद छन् । म भने धेरै कवितामा रमाएको छु । यो मेरो आराधनाको मन्दिरझैं बनेको छ ।

जब मैले अङ्ग्रेजी भाषामा केही आत्मविश्वास पाएँ यही भाषामा जिब्रो नचाएर स्कुले केटाकेटीलाई ज्ञान बाँडी उल्लेख्य वर्षहरू बिताएँ । अब पढ्ने पढाउनेसँगै यो भाषालाई मेरो आराधनाको मन्दिरतिर पनि लैजान थालेँ अनुवादमार्फत ।

जुन कविताले मन अति छोएको हुन्थ्यो त्यसलाई म अंग्रेजीकरण गरिहाल्थेँ । यस दौरान मैले कृष्णभुषण बलका केही कविता अति उत्सुक हुँदै अनुवाद गरेको थिएँ । बलको एक कविता जो उनको अनुदित कृतिको शीर्षक कविता पनि बनेको छ त्यो ‘नदी किनारको पूर्णीमा’ थियो ।

यो कविताका शब्द र वाक्यहरू अति नै कोमल थिए । बिहानी घाम परेको पातमा टप्केका शीतका थोपाहरू झैं मनमोहक थियो ।

जून, नदीको पानी, हावा, बादल, चरा, पहाडजस्ता बिम्बहरू बालकहरूले खेल्ने लुकामारीजस्तो गरी राखिएका थिए कृष्ण दाइको कवितामा । त्यतिबेलै मलाई के बोध भयो भने अनुवाद गर्दा डाक्टरले आँखाको नानीको शल्य गरेजस्तो गरी सावधानी अपनाई शब्द चलाउनु पर्दोरहेछ । अलिकति यताउता परे त्यो कवितालाई चोट लाग्न सक्ने रहेछ । कविताको आत्मालाई दुख्ने रहेछ ।

कृष्णभूषण दाइका अरू केही विलक्षण कविताहरू पनि थिए जस्तै कि ‘त्यो दिन हजुरआमाको पनि चोला उठ्यो’ । त्यो पनि मैले उत्साहित हुँदै अनुवाद गरें ।

त्यही समय अनुवाद गरिएका अरू कवितामध्ये अभी सुवेदीको ‘म बोल्छु’, ईश्वरवल्लभको ‘प्रस्थानतिर’, शारदा शर्माको ‘म झरें भने अर्को फुल्छ’ अविनाश श्रेष्ठको ‘जङ्गल एक सलिलकी’ थिए ।

त्यसयता यो सूचीमा सयौं कविता थपिए । यी सबै जम्मा गरेर पुस्तक निकाल्ने योजना पनि बन्छ बेलाबेला । तर त्यसको लागि सान्दर्भिक समयको खोजीमा हुन्छु म । समय आउला भनी सोच्छु ।

पत्रिका लेटर प्रेसमा छापिन्थ्यो र त्यो थियो सहरको मध्यभागको भित्री गल्लीमा रहेको यट्खा टोलमा । म न्युरोड हुदै धाउँथेँ त्यहाँ । हिँड्दाहिँड्दा थाकेर स्वयम्भूका जस्ता अर्धमुदित आँखाहरू लिएर कहिले मध्यान्ह त कहिले बेलुका पुग्थेँ यट्खा टोलको लक्ष्मी प्रेस ।

म रमाएर अनुवाद कर्ममा लागेको अर्को गद्य हो– परशु प्रधानको ‘टोकियोमा सानो बुद्ध’ । यो अंग्रेजीमा प्रकाशित कथा संग्रहको शीर्षकथा पनि हो । यो पुस्तकको सम्पादन गरें जो बङ्गलादेशको ढाकाबाट ‘बोइपोत्रो प्रकाशन’ले प्रकाशित गर्‍यो । यसले मलाई ढाकासम्म पुर्‍यायो ।

ढाकामा नेपाली राजदूतलगायत अन्य विशिष्ट व्यक्तित्व उपस्थित विमोचन कार्यक्रममा मलाई नेपाली साहित्यमाथि एक कार्यपत्र प्रस्तुत गर्न लगाइएको थियो । कार्यक्रममा कृष्णभूषण दाइले एउटा छोटो कविता सुनाउनु भयो । मुक्तक जस्तो थियो ‘विराटनगर’ शिर्षकको त्यो कविता । उहाँले कविता त नेपालीमा सुनाउनु भयो तर मञ्चबाटै अब यसको अंग्रेजी भर्सन चाहिँ मुकुल दाहालबाट सुन्नुहोला भनिदिनुभयो ।

आकस्मिक अनुरोधले म हच्किएँ । किनकि यो कविताको अनुवाद गर्ने मनसाय वा पूर्वतयारी केही थिएन । म अप्ठेरो मान्दै मञ्चमा गई जेजस्तो आयो भनिदिएँ । आज रमाइलो लाग्छ यो स्मरण गर्दा । छोटो कविता भएकाले त्यसको अनुवादमा गल्ती हुने सम्भावना पनि कम नै थियो ।

बल दाइ र म होटेलको एउटै कोठा बसी कला–साहित्यका कुरा गरेको मधुर स्मरण पनि छ । उहाँ अहिले हामीसँग नभएकोे पत्याउनै गारो हुन्छ ।

परशु प्रधानको एउटा अत्यन्त मर्मश्पर्शी कथा छ ‘छिडी भरीको आकाश’ । यसमा गरिबीको जिवन्त चित्रण छ तर यसको शिर्षक अनुवाद गर्न निकै मुस्किल भएको सम्झना हुन्छ । अनुवाद गर्दा भाषिक चयनमा धेरै महत्त्वपूर्ण निर्णयहरू हरफ–हरफमा गर्नुपर्ने हुन्छ । मौलिक कृतिका स्वभाव र माटोको गन्धलाई कसरी सँगै लैजाने चिन्ता रहिरहन्छ । पछि मैले ‘छिँडी’ (घरको तल्लो तला) शब्दलाई जस्ताको त्यस्तै राखी फुटनोटमा यसको व्याख्या राखेको थिएँ ।

अनुवाद कर्ममा लागेका पुराना दिन सम्झिँदा म सहयात्री मोहम्म दहारून अन्सारीलाई सम्झन्छु । उहाँसँग भेट नभएको धेरै भयो । बेलाबेला सोच्छु – के गर्दै हुनुहोला ? ५० र ५१ सालतिरको कुरा हो एउटा केटौले उत्साह र रुमानी सपनाको किनारा समाउँदै एकदिन भन्नुभयो– ‘मुकुल, एउटा अनुवादको पत्रिका चलाऊँ ?’

उहाँले थप्नुभयो, ‘तपाईँ मलाई साथ दिने सही मान्छे हुनुहुन्छ । तपाईं फूलटाइम लाग्नोस्, म बिहान–बेलुका र स्कूल नभएको दिन दिउँसो पनि हुन्छु ।’

अन्सारी सर बेलुका पाटन क्याम्पसमा अंग्रेजी लेक्चर गर्नुहुन्थ्यो । दिउँसो निजी विद्यालयतिर दौडनुहुन्थ्यो । परिवार थियो, हुर्केका छोरा–छोरी थिए । परिवारको गाडा तानिरहनुपर्ने उहाँको जीवनको सर्त थियो ।

म अविवाहित फिरन्ता थिएँ । विभिन्न निजी स्कूलतिर पढाउन कुद्दाकुद्दा रगडिएर पाइतालाको छाला पातलो भएको अवस्था थियो । र त्यही बेला कलंकीभन्दा अलि माथिको एउटा निजी स्कूलले समयमा तलब नदिई बेइमानीको सिर्कनाले मस्तिष्कभरि सुम्लैसुम्ला उठाएर बिरामीजस्तो भएको अवस्था थियो । त्यो जागिर छोडेर कालकुट विष निली समाधीमा बसेका भगवान् शिवजस्तो भई बसेको थिएँ । त्यसैले अन्सारी सरको कुरामा एउटा अनौठो आकर्षण पाएँ र त्यो सपनाको रथ तान्न उहाँको हल बनी नारिन तयार भएँ ।

अनुवादप्रधान साहित्यक मासिकको नाम हामीले ‘नेपाल लेटर्स’ राख्यौं । यसको सम्पादकमा म र प्रधान सम्पादकमा अन्सारी रहनुभयो । बिना कुनै ‘आर्थिक फन्ड’ यो यात्रा सुरु गर्‍यौं । मलाई केही अनुभव थियो शैलेन्द्र साकार दाइको साथमा ‘चिन्तन’ साहित्यिक पत्रिकामा काम गर्दाको । यी यात्राहरू कुनै आर्थिक वैभवको भूमिमा नभएर नितान्त साहित्यक प्रेमको आधारमा तय गरिएका थिए ।

नेपाल लेटर्सको सम्पादन र प्रकाशनको यात्रा ‘ट्रोजन युद्ध’पछि समुद्रमा भौंतारिएको ओडिसीको जस्तो थियो । प्रत्येक महिना कठिनाइका छालहरूले परपर फ्याँकिरहन्थे । म पौडिरहँन्थेँ । यसका बहुल आयामहरूलाई युवा काँधमा बोकेर हिड्थें । अदम्य साहस र सहनशीलताले यसलाई एक निश्चित दिशामा निर्देशित गर्दथ्यो ।

पत्रिका लेटर प्रेसमा छापिन्थ्यो । त्यो थियो मध्यसहरको भित्री गल्लीमा रहेको यट्खा टोलमा । म न्युरोड हुदै धाउँथेँ त्यहाँ । हिँड्दा–हिँड्दा थाकेर स्वयम्भूका जस्ता अर्धमुदित आँखाहरू लिएर कहिले मध्यान्ह त कहिले बेलुका पुग्थेँ यट्खा टोलको लक्ष्मी प्रेस । त्यसका मालिक थिए दुईचार दाँत फुक्लिसकेका खपटे अनुहार भएका केही वृद्धजस्तो देखिने व्यक्ति ।

तर उनी गजबका फुर्तिला लाग्थे । मलाई देख्नेबित्तिकै उनको अनुहार उज्यालो हुन्थ्यो, उनका दुवै आँखामा केही नाचेजस्तो लाग्थ्यो । उनी फटाफट बोल्थे, अङ्ग्रेजीको केही ज्ञान भएको झल्को दिलाउन प्रयास गर्थे । चिया मगाइहाल्थे । एउटा मिठो स्मृति छ त्यहाँ धाउँदाको । जुनप्रकारले लेटर प्रेसमा पत्रिका छापिन्थ्यो त्यो मलाई अत्यन्त रोचक लाग्थ्यो । त्यो प्रेसभित्र काम गर्ने कर्मचारीहरू बिजुली चम्केको गतिमा एकएक अक्षर टिपेर शब्दहरू बनाउँथै ।

पत्रिकामा छापिएका रचनाहरूका हरेक अक्षर उनीहरूका औलाहरूले छोइएका हुन्थे । प्रविधिको आगमन र हस्तक्षेपले त्यस्ता प्रेसहरू इतिहासका कुनातिर सिमित रहन धपाइए । अहिले लक्ष्मी प्रेस एक आधुनिक प्रेसमा रूपान्तरण भइसक्यो कि ? अनुमान गर्छु । डार्बीनको ‘सर्भाइभल अफ दि फिटेस्ट’को वैज्ञानिक नियमअनुसार त्यसै भएको हुनुपर्दछ ।

साहित्यका रचनाहरूको अनुवाद गर्नु, प्रेसमा लिएर गएर प्रुफ हेर्नु, प्रेससँग आर्थिक लेनदेनकको हिसाब गर्नु, आर्थिक श्रोतको लागि विज्ञापनको खोजी गर्नु, पत्रिका तयारी भएपछि पसलमा वितरण गर्नु, बिक्री भएपछि पैसा उठाउनु, यी थिए पत्रिका प्रकाशनका बहुआयामहरू ।

विज्ञापन ज्यादै कम पाइन्थ्यो, त्यो पनि अनेक प्रयासपछि । यसले लगानीको एउटा सानो अंशमात्र बहन गर्थ्यो । बिक्रीबाट उठ्ने रकम नगन्य हुन्थ्यो । प्रेसलाई तिर्न बाँकी रकम अन्सारी सरले आफ्नै बैङ्क अकाउन्टको बचत खुरुखुरू निकाल्दै दिनुहुन्थ्यो । योचाहिँ अलि तर्साउने पक्ष थियो । यो पत्रकारिताको तिर्सनाले अन्सारी सरको घर नचर्कियोस् भन्ने भावनाले म छटपटिन्थेँ ।

मैले यसका छ अङ्कमा शारीरिक र बौद्धिक श्रम दिएँ । पत्रिका आर्थिक रूपमा आत्मनिर्भर हुँने कुनै सङ्केत थिएन । त्यसपछि मेरो व्यक्तिगत परिस्थिति पनि परिवर्तन भयो । पारिवारिक जिम्मेवारीले मलाई थिच्यो र मैले आफ्नो संलग्नता स्थगित गरेँ । अन्सारी सर एक्लैले अरू एक–दुई अंकहरू निकाल्नुभयो । यसरी यो पत्रिकाको छोटो यात्रा टुङ्गियो ।

जति प्रकाशित भए, ती अकंहरूले नेपाली साहित्यका रचनाहरूलाई बोक्ने प्रयास गर्यो । यो नितान्त भिन्न किसिमको प्रकाशन थियो । यसलाई निरन्तरता दिइनुपथ्र्यो । यस्तो प्रकाशनमा राज्यको हात हुनुपर्ने कुरा आज म निश्चिन्त भएर भन्न सक्छु । त्यो नहुँदा एउटा अलि ठूलो समूहको क्रियाशीलता हुनुपथ्र्याे । यसो भएको भए त्यो ज्योती झ्याप्पै निभ्ने थिएन । सम्झन्छु− हामी सपनामा जस्तो बिहान, बेलुका, दिनमा, घरमा, हिँड्दा हिँड्दै थाकेको अवस्थामा सडकको छेउमा बसेर अनुवाद गरिरहन्थ्यौं ।

इन्द्रबहादुर राईको कथा ‘चपरासी’ रत्नपार्कको बेञ्चमा बसी अनुवाद गरेको सम्झन्छु । यो एउटा कालजयी कथा हो जसमा राईका अरू आख्यानहरुमा जस्तै आफ्नो नितान्त निजीभाषिका लवज छ । उहाँले एउटा निम्नमध्यम वर्गीय पात्रको पारिवारिक र मानसिक दशाको चित्र उठाउनुभएको छ । त्यसलाई आफ्नो लेखनले ब्युँझाउनुभएको छ ।

लेखनका यी गुणहरू र रचनाको महत्तालाई जुरूक्कै उठाएर अर्को भाषामा लैजान चुनौतीपूर्ण रहन्छ । दार्जीलिङमा बोलिने नेपाली भाषाको जुन रङ छ त्यो त चुहिनै हाल्छ जति नै निपुण अनुवादक भए पनि । रपनि, पात्रहरू र कथा जान्छ नयाँ भाषाको यात्रामा । त्यसैले होला दक्षिण कोरियाली उपन्यासकार हान काङको प्रसिद्ध उपन्यास ‘द भेजिटेरियन’ अनुवाद गरेकी डिबोरा स्मिथ भन्छिन्, ‘हान काङ एक उदार लेखक हुन् जो अनुवादलाई सिर्जनात्मक लेखन नै मान्छिन् र उनको अनुदित पुस्तकलाई आफ्नोमात्र पुस्तक नभनी अनुवादकलाई समेत समान सम्मान दिँदै ‘हाम्रो’ पुस्तक भन्छिन् ।’

कविता अनुवाद गर्दा मूल भाषा र अनुवाद गरिने भाषा (टार्गेट ल्यांगवेज) का सामथ्र्यबीच ओहोरदोहोर गर्नुपर्ने हुन्छ । भाषाबीच मित लगाइदिने मात्र हैन, मनको, भावनाको, संस्कार–संस्कृतिको तहसम्म पुगेर तिनीहरूलाई जोड्ने काम हो यो । मलाई हरेक कविताको अनुवाद गर्दा यस्तो महसुस हुन्छ ।

फेरि साहित्यिक पत्रकारितामा फर्कन्छु । व्यक्तिगत वा निजी तवरमा प्रकाशन गरिएका नेपाल लेटर्सजस्ता हरेक पत्रिकाहरूको यात्रा ओडिसीको समुद्री यात्राजस्ता हुन् । ती चुनौतीका समुद्री तुफानसँग लड्दै अगाडि बढिरहेका हुन्छन् ।

‘रचना’ र ‘अभिव्यक्ति’जस्ता पत्रिकाहरू छन्, जसले समयका तुफानलाई संयम र अठोटले जितेका छन् । यो लाममा नेपाल लेटर्स उभिन सकेन । यद्यपि, अन्सारी सर र मलाई ‘नेपाल लेटर्स यात्रा’ले अमूल्य पाठ सिकायो ।

मलाई आज लाग्छ– हामीले छापेका रचानालाई त्यहाँबाट उठाएर पुनः संग्रहित र प्रकाशित गरी विश्व यात्रामा पठाउन जरुरी छ । म र मजस्तै अनुवाद कर्ममा मग्न हुने चाहने साथी फेरि उठ्न आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment