Comments Add Comment

टर्कीले आफ्नो फाइटर विमान खसालेको अर्मेनियाको आरोप

१४ असोज, काठमाडौं । टर्कीले आफ्नो फाइटर विमान खसालेको आरोप अर्मेनियाले लगाएको छ । अहिले नागोर्नो–काराबाखको विषयमा अजरबैजानसँग युद्ध चलिरहेको अवस्थामा टर्कीले अर्मेनियाले फाइटर विमान खसाइदिएको हो ।

अर्मेनियाको विदेश मन्त्रालयका अनुसार टर्कीको एफ–१६ फाइटर विमानले आफूहरुको आकाशमा आएर मंगलबार सु–२५ फाइटर विमान खसालिदिएको हो । यो घटनामा विमानका पाइलटको मृत्यु भएको अर्मेनियाले बताएको छ । टर्कीको फाइटर विमान सीमाबाट ६० किलोमिटर भित्र छिरेर आफ्नो विमान खसालेको अर्मेनियाको दाबी छ । यो युद्धमा अजरबैजानको पक्षमा देखिएको टर्कीले भने आरोप अस्वीकार गरेको छ । यो विवादित क्षेत्रमा पछिल्लो तीन दिनदेखि जारी रहेको युद्धमा परी करिब एक सयजनाको मृत्यु भइसकेको छ ।

यो विवादित क्षेत्रलाई अन्तर्राष्ट्रिय समुदायले अजरबैजानको भागको मान्यता दिएका छन् । तर, सन् १९८८–९४ सम्म चलेको युद्धपछि भने यो क्षेत्र अर्मेनियाको नियन्त्रणमा छ । अजरबैजानले स्पष्टरुपमा आफ्नो सेनासँग एफ–१६ विमान नरहेको बताइसकेको छ । तर, टर्कीसँग भने एफ–१६ विमान छ ।

अर्मेनिया र अजरबैजानको बीचमा युद्ध सुरु भएसँगै धेरै मुलुकहरु पक्ष र विपक्षमा देखिएका छन् । अर्मेनिया र अजरबैजान दुवैले भने युद्ध सुरु हुनुमा एकअर्कालाई दोषारोपण गर्दै आएका छन् ।

टर्की स्पष्टरुपमा अजरबैजानको पक्षमा देखिएको छ । अर्मेनियामा रुसको बेस क्याम्प छ । तर, रुसको अजरबैजानसँग पनि मैत्री सम्बन्ध छ । रुसले तत्काल युद्धविरामको लागि आग्रह गरिसकेको छ ।

मंगलबार अर्मेनियाले दिएको जानकारी अनुसार यो युद्धमा अर्मेनियाका ८७ सैनिकको मृत्यु भइसकेको छ भने अजरबैजानको तर्फ १२० जनाको मृत्यु भइसकेको बताएको छ । तर, अजरबैजानले भने आफ्ना सैनिकको मृत्युको विषयमा केही बताएको छैन । अजरबैजानले अहिलेसम्म युद्धमा १२ सर्वसाधारण मारिएको मात्र पुष्टि गरेको छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment