Comments Add Comment

यो वर्ष भक्तपुरको तलेजुमा बली नदिइने

२० असोज, काठमाडौं । यो वर्ष भक्तपुरमा रहेको तलेजु मन्दिरमा बली नदिइने भएको छ । हरेक वर्ष दशैं अवधिभरमा गुठी संस्थानको तर्फबाट मात्रै ६० वटा बोका, ३१ वटा राँगा र ३० वटा हाँसको बली दिने चलन रहेको सो मन्दिरमा यो वर्ष एउटा पनि बली नदिने निर्णय भएको हो ।

घटस्थापनादेखि कोजाग्रत पूर्णिमाको दिनसम्म तलेजुमा गरिने विशेष पूजामा भक्तजनलाई प्रवेश दिने/नदिनेबारे सरोकारवाला निकायबीच बसेको बैठकले कोरोनाको महामारीका कारण यो वर्ष भक्तजनलाई प्रवेश नदिने निर्णय गरिएको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिए ।

प्रजापतिको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय र महानगरीय प्रहरी परिसरका प्रतिनिधि, गुठी संस्थान भक्तपुरका प्रमुख र तलेजुका पुजारीहरूको उपस्थितिमा सो निर्णय गरिएको हो । प्रजापतिका अनुसार सो पूजामा ४० जना त पुजारी मात्रै हुन्छन् । त्यसमा भक्तजनलाई समेत प्रवेश दिँदा चर्काे भिड हुने भएकोले बली नदिएर नियमित पूजा मात्रै गर्ने निर्णय गरिएको प्रमुख प्रजापतिले जानकारी दिए ।

यसबाहेक अरु मन्दिरमा पनि नगरपालिकाले व्यक्तिगत हितभन्दा पनि सामूहिक हितलाई ध्यानमा राखी पूजा रर जात्रासँग सम्बन्धित सरोकारवालाहरूको राय–सुझाव लिएर मात्र आवश्यक निर्णय गरिरहेको प्रजापतिले जानकारी दिए ।

सकेसम्म भक्तपुर क्षेत्रमा धेरै भिड हुने जात्रा र पर्वलाई सरोकारवालासँग नै छलफल गरेर यस वर्षको लागि नित्यपूजा मात्रै गर्ने व्यवस्था मिलाउनको लागि छलफल जारी रहेको प्रजापतिले जानकारी दिए ।

‘बैठकले विजया दशमीको अवसरमा यस वर्ष भक्तपुरको तलेजु मन्दिर परिसरभित्र हुने कुनै पनि पूजामा बली नदिने र तलेजु भवानीको पूजालाई स्वास्थ्य सुरक्षा मापदण्ड र सामाजिक दुरी कायम गरी विधिपूर्वक सामान्य पूजामा मात्र सीमित गर्ने निर्णय गर्‍यो ।’ प्रजापतिले अनलाइनखबरसँग भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment