Comments Add Comment

पशुपति क्षेत्रको आन्दोलनमा पर्यटन मन्त्रालयको चासो

सरोकारवालासँगको छलफलपछि मात्र गुरुयोजना पास गर्ने आश्वासन

२१ असोज, काठमाडौं । पशुपति क्षेत्रमा विगत केही समयदेखि चलिरहेको आन्दोलन रोक्न संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले सक्रियता देखाएको छ ।

मन्त्रालयमा पुगेको गुरुयोजना खारेजीको माग राख्दै चलेको आन्दोलन रोक्न मन्त्रालयले बुधबार पशुपति क्षेत्र संयुक्त संघर्ष समितिका संयोजक कृष्णमान श्रेष्ठलाई पत्र लेखेको हो ।

पत्रमा मन्त्रालयले गुरुयोजना सरोकारवालासँगको गहन छलफलपछि मात्रै स्वीकृत गर्ने आश्वासन दिएको छ ।

मन्त्रालयका उपसचिव दूर्गाप्रसाद भुर्तेलले हस्ताक्षर गरेको सो पत्रमा विज्ञ टोलीले सरोकारवाला निकायसँग सघन छलफल गरी सबैको माग सम्बोधन गरेर मात्रै गुरुयोजना पारित गर्ने आश्वासन दिँदै आन्दोलन स्थगित गर्न आग्रह गरेको छ ।

पछिल्लो पटक आह्वान गरेको ४ दिने आन्दोलनको बुधबार अन्तिम दिन संघर्ष समितिले पशुपति क्षेत्र विकास कोषको कार्यालयमा घेराउ गरेको थियो । उनीहरूले एकपक्षीय हिसाबले ल्याएको गुरुयोजनाको खारेजी, कोषका सदस्यसचिव लगायत पदाधिकारीहरूको राजीनामादेखि पशुपति क्षेत्र विकास कोष नै खारेज गर्नुपर्नेसम्मका माग संघर्ष समितिको छ ।

समितिले कोषले प्रस्ताव गरेको आगमघरको पुजारीले पशुपतिमा पूजा गर्न पाउनुपर्ने, पशुपति क्षेत्रको प्राचीन बस्ती हटाउने जस्ता हरेक बुँदामा व्यक्तिगत स्वार्थ र कमजोरी रहेकोले कोष खारेजीको माग गरेका हुन् ।

गुरुयोजनाको विरोधमा यस अघि नै कोषका पूर्व पदाधिकारीहरूले समेत संयुक्त रूपमा विरोध जनाइसकेका छन् । उनीहरूले विज्ञसँग छलफल नै नगरी एउटा व्यक्तिले तयार पारेको गुरुयोजनाले गुरुयोजनाको मर्म नबोक्ने भन्दै त्यसको खारेजीको माग राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment