Comments Add Comment

दोश्रो फिल्मको प्रतिक्षा गर्दै धिरजदेखि मलिका

नायिका मलिका महत्तले अभिनय गरेको पहिलो चलचित्र ‘यात्रा’ हो । यो चलचित्रबाट संभावना देखाएकी यी नायिकाले दोश्रो चलचित्रको रुपमा ‘पानी फोटो’मा काम गरिरहेकी थिइन् । तर, यो चलचित्रको काम लकडाउनका कारण रोकियो । जसले गर्दा, दर्शकले यी कलाकारको दोश्रो चलचित्र हेर्नका लागि अझै केही समय कुर्नुपर्नेछ ।

पहिलो चलचित्रमा काम गरेर लामो समयसम्म पर्दामा नदेखिदा कलाकारलाई घाटा लाग्छ । किनकी, आशा गरिएका कलाकारको अर्को चलचित्र आउँदा दर्शकले उनीहरुको कामको मुल्यांकन गर्न पाउँछन् भने उनीहरुलाई पनि अगाडि बढ्न सहज हुन्छ । तर, लामो समयसम्म पर्दाबाट हराउँदा मिडिया हाइप कम हुने र दर्शकले पनि विर्सने संभावना बढी हुन्छ ।

नायक धिरज मगरले अभिनय गरेको पहिलो चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ चर्चामा रह्यो । धिरजलाई पनि दर्शकमाझ यो चलचित्रले उदयमान स्टारको रुपमा चिनायो । तर, घोषणा भएको लामो समसम्म पनि चलचित्र ‘आई एम ट्वान्टी वान’ निर्माण हुन नसक्दा उनलाई घाटा भैरहेको छ । २ बर्ष भन्दा लामो समयदेखि पर्दाबाट टाढा रहेका धिरज दर्शकमाझ कहिले आउँछन् पक्का छैन ।

चलचित्र ‘कृ’मा काम गरेपछि चर्चामा आएकी नायिका अदिती वुढाथोकी पनि लामो समयदेखि पर्दामा आएकी छैनन् । उनले, अभिनय गर्न लागेको दोश्रो चलचित्र लकडाउनका कारण छायांकनमा जान सकेन । अदिती चलचित्रको छायांकन गरेर दर्शकमाझ आउने तयारीमा त थिइन् तर लकडाउनले उनको यो चाहना पुरा हुन सकेन । यसैले पनि अदितीलाई पनि पहिलो चलचित्रबाट पाएको क्रेज गुम्ने हो कि भन्ने डर छ । नायिका शुभेच्छा खड्का अभिनित चलचित्र ‘रणवीर’ रिलिज भएपछि उनले अर्को चलचित्रमा काम गरेकी छैनन् । शुभेच्छाले अब चलचित्रमा काम नै नगर्ने हुन् कि भन्ने टिप्पणी पनि नभएको होइन ।

केही कलाकार त पहिलो चलचित्रबाट असफल भएका कारण दोश्रो चलचित्रमा काम नपाएर हराउँछन् । तर, पहिलो चलचित्रबाट चर्चा पाएर पनि लामो समयसम्म पर्दाबाट कलाकार टाढा रहँदा यसले उनीहरुलाई फाइदा भन्दा घाटा नै बढी हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment