Comments Add Comment

कर्मचारी भर्ना गर्न प्रदेश २ सरकारको स्वीकृति

लोकसेवाले माग्यो दरबन्दी विवरण

प्रदेश २ मन्त्रिपरिषद बैठकको फाइल तस्वीर ।

४ कात्तिक, जनकपुरधाम । प्रदेश २ सरकारले कर्मचारी भर्ना गर्न प्रदेश लोकसेवा आयोगलाई स्वीकृति दिएको तीन साता बितिसकेको छ । १२ असोजमा बसेको प्रदेश मन्त्रिपरिषद बैठकले स्वास्थ्य र इन्जिनियरिङ सेवामा सातौं तहसम्मको लागि भर्ना लिन स्वीकृति दिएको थियो ।

तर, आयोगले अहिलेसम्म काम अघि बढाएको छैन । प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेन्द्र यादवले सरकारले भर्ना गर्न भने पनि रिक्त दरबन्दी सम्बन्धी विवरण हालसम्म नबुझाएको बताए । ‘सरकारले स्वीकृति दिएकै दिन रिक्त दरबन्दी सम्बन्धी विवरण बुझाउन हामीले सरकारलाई पत्राचार गरिसकेका छौं’ उनले भने, ‘तर हालसम्म प्राप्त भइसकेको छैन ।’

रिक्त दरबन्दी सम्बन्धी विवरण आउनेवित्तिकै विज्ञापन प्रकाशन गरेर काम शुरु गर्ने उनले बताए ।

सरकारले स्वीकृति दिएपछि आफूहरु विज्ञापन प्रकाशन गर्न तयार रहेको बताउँछन् । ‘हामीले नियमावली, निर्देशिका, पाठ्यक्रम सबै तयारी गरिसकेका छौं’ अध्यक्ष यादवले भने, ‘तर सरकारले नै गर्नुपर्ने काम गर्न नसक्दा हामी खाली बस्न बाध्य छौं ।’

प्रदेश सरकारका मुख्य सचिव अर्जुनप्रसाद पोखरेल भने रिक्त दरबन्दीको विवरण संकलन भइरहेको बताउँछन् । इन्जिनियरिङ सेवाको रिक्त दरबन्दीका लागि भौतिक पूर्वाधार विकास मन्त्रालय र स्वास्थ्य सेवाको रिक्त दरबन्दीको विवरण संकलन गर्न सामाजिक विकास मन्त्रालयलाई भनिसकिएको बताए । ‘मन्त्रालयमा काम भइरहेको छ’ पोखरेलले भने, ‘चाँडै यो विवरण हामी आयोगलाई बुझाउँछौं ।’

प्रदेशमा प्राविधिक इन्जिनियरिङ र स्वास्थ्यतर्फको कुल दरबन्दीमध्ये ४० प्रतिशत रिक्त रहेको पोखरेलको भनाइ छ । यद्यपी कुल दरबन्दीको संख्या पनि आफूहरु यकिन गरिरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment