Comments Add Comment

कथा : क्यानभासभित्र

यो मन्दिर परिसर कुनै क्यानभासजस्तो लाग्छ । यहाँ अनेक पात्रहरू अनेक रङ पोतिरहन्छन् । थपिँदै जान्छ रङ, कोरिँदै जान्छ एक गतिशील चित्र । समयजस्तो कुनै अर्को चित्रकार, अहँ सायद छैन ।

मन्दिरमा प्यासीहरू आउँछन्, सपनाका रङ पोखेर जान्छन् । भिखारी अभावका रङ पोत्छन् । धनीहरू सम्पन्नताको रङ, पापी पापका र धर्मीहरूका धर्मका रङ पोत्छन् । मन्दिर परिसरमै बगेको छ, एक पवित्र खोला जसको किनारमा लाश जल्छन् । लाश जल्दै गर्दा मन्दिर परिसरको जंगलमा भेटिन्छ गर्भ निर्माणमा जुटेको जोडी । सूर्यास्तको आरती भजन गुन्जिँदै गर्दा, ग्राहक नपाएकी नगरबधु मन्दिर परिसरको कुनामा गफिँदै हुन्छे, कुनै युवकसँग गरिरहन्छे कुमारित्वको व्याख्या । संसारै बयान गर्नसक्ने यो क्यानभासमा केही पात्रहरू छोइन्छन्, उनीहरू चलायमान बन्छन् ।

प्रिय पाठक, यो क्यानभास चिहाऔं । अनि केही पात्र छोऔं है !

ऊ… । मन्दिर परिसरको पूर्वी किनार । त्यहाँ बुढी औंलाजस्तो अलग्गै देखिन्छ रातो रङको शौचालय । त्यो शौचालय मात्रै होइन, त्योसँगै सुत्नेकोठा छ, त्यसैले त्यो वासस्थान पनि हो । त्यहाँ बस्छे एकजना बुढी आइमाई, दमको रोगीसरि खोकिरहन्छे । डाक्टरले खोकेको देखे, पक्का दम हो भनिसक्थ्यो । ऊसँगै बस्छन् दुई किशोरी । तेह्र–चौध्र वर्षका, सरिता र प्रियङ्का । उनीहरू मिलिजुली शौचालय सफा गर्छन् । उनीहरूको हुलिया वर्षौं पुरानो गुन्द्रिजस्तो देखिन्छ । जीर्ण र फोहोर ।

यो मन्दिरको पश्चिमी किनार हुँदै मूलबाटो हिँडेको छ । पहिले यही बाटोमा महाराजको बग्गी दौडिन्थ्यो । घोडाका टाप बज्थे । अहिले साइरन बजाउँदै झण्डावाल गाडीको ताँती दौडिन्छ । उत्तरतिर थुम्कोमा जंगल र दक्षिणतिर दर्जनौं पूजा सामग्रीका पसल छन् । सरिता–प्रियङ्काका लागि यो सीमित परिसर ब्रह्माण्ड हो । उनीहरू त्यही शौचालसँगैको कोठामा जन्मेको विश्वास गर्छन् । यही मन्दिरमा सास छोड्नुको विकल्प दैख्दैनन् । उसो त सरिता र प्रियङ्का एउटै पाठेघरमा हुर्केका होईनन् । फेरि पनि आफूलाई दिदीबहिनी भन्छन् । आफ्नो ‘बाऊ’ एउटै भएको अनुमान गर्छन्, ‘हाम्रो बाउ साँढे नै त थियो होला है ?’

लाज– उनीहरूले सफा गर्ने शौचालयसँगै पखालिसक्यो । जीवन; मन्दिरको धुपबत्ती, सौचालयको गन्ध, पूजा–पसलका सामग्री वरीपरी घुमिरहन्छ । पहिले उनीहरू एक फोहोरी आइमाईसँग बस्थे । जो सरितालाई साख्कै छोरी भन्थी । दुबैजनाकी ‘आमा’ थिई ऊ । यद्यपि, आइमाईले कहिल्यै ममताको किरण चुहाइन । प्रियङ्का आजभोलि शंकामय गुनासो पोखिरहन्छे, ‘म काली कुरूप भएकीले साथीको छोरी भनी होली, है ?’

आमाको आत्महत्याका केही वर्षपछि मात्रै प्राण–घातक रोगबारे थाहा पाए । अनौठो भने मानेनन् । किनकि आईमाई सुत्ने कुनातर्फबाट तालीको आवाज सुन्दै हुर्किएका थिए । अझ कति रात भूतको शंकामा आवाज उठाए, ‘आमा ! आमा !’ त्यस्तो बेला आइमाई हतारिँदै बोल्थी, ‘उता पल्टिएर चुपचाप् सुत । भोली पाँच रुपैयाँ दिम्ला ।’

त्यो भ्रमको पर्दा एक पूर्णिमाको रातले च्यातिदियो । कुनै पुरुष र ताली बज्नुको कारण प्रष्ट देखे । त्यो अनौठो दृश्य बालमनमा रहर बनेर बसेछ । मन्दिरमै हुर्कंदै गरेको लङ्गडो कालेलाई भोलिपल्टै बोलाएर कोठामा ल्याए । आमाले जस्तै ताली बजाउन खोजे पालैपालो । मन्दिरमा सयौं ‘टुङ–टुङ’ बजिसक्दा पनि उनीहरू सफल भएनन् ।

आमाले आत्महत्या गर्दा सात–आठ वर्षका हुँदा हुन् उनीहरू । प्राण छोड्नुअघि आईमाईले दुबैलाई अगाडि राखेर सम्झाई, ‘छोरीहरू हो ! सधैं एक–अर्काको सहारा बन्नू । झगडा नगर्नू । आजको दिनपछि तिमीहरूलाई सम्झाउन कोही आउने छैन । आज केही सुनाउँछु, कुनै दिन बुझ्नेछौ । सधैं मनखुशीले बाँच्नू । मार्न मन लागे मार्नू, मर्न मन लागे मर्नू । चोर्न–लुट्न, जे इच्छा लाग्छ, गर्नू । तिमीहरू यस्तो दलदलमा छौ जहाँ नैतिकताको पाठ धमिराले खाइसकेको धुरी बराबर हो । तिमीहरूलाई रछ्यानमा हुर्काएर सुनौला सपना देखाउनु ठिक हुन सक्तैन । त्यो कुनै सराप बराबर हुन्छ । नाङ्गै हिँड्न मन लागे नाङ्गै हिँड्नू । चोकमा सुत्न मन लागे चोकमै सुत्नू । यो शहर तिमीहरूकै हो । क्याकटसका लागि मरूभूमि र माछाको लागि पानी असल हुन्छ । आफूलाई असल लागेको गर्नू ।’

आमाको कुरामा टाउको हल्लाइरहे । खासमा ती बालिकालाई असुरक्षाको डर थिएन । त्यही कोठामा सुत्न पाउने कुरामा ढुक्क थिए, पिपलको फेद र शिवलिंगबाट उठाएका सिक्काले भोक टर्ने कुरामा शंका थिएन । आइमाई हुनु–नहुनुको भिन्नता थिएन उनीहरूलाई । ‘हुन्छ मर्नू’ त भनेनन्, त्यसो नगर्न पनि भनेन् ।

मृत्युमुखमा ऊ छोरीहरूलाई हेर्दै मुस्कुराई । उनीहरूले पनि आमालाई जीवनकै पहिलो र अन्तिम मुस्कान फर्काए । आईमाईको मुस्कुराईरहेको ओठको चेप हुँदै सेतो फिज रसाउँदै गयो । ऊ एकछिन आफ्नै गला थामेर छटपटाई । उसको काँपिरहेको एक हात सरिताको गाला मुसारिरह्यो । प्रियङ्का चाहन्थी उसको गाला पनि सुम्सुम्याइओस् । तर, त्यो समय नआउँदै आईमाई चिसो भई ।

बच्चीहरूको बिजोग देखेर मन्दिरका पुरोहितहरूले आँशु झारे, दर्शनमा आएका भक्तजनहरू ‘च्व..च्व’ गरे । त्यहाँका स्थायी भिकारीहरू रोए । सरिता–प्रियङ्काले कसैको आँशुको अर्थ बुझेनन् । न त उनीहरूका आँखामा आँशु आयो ।

अब त बेग्लै छ जीवनको लय । आजभोलि काले खोच्याउँदै उनीहरूको पिछा गर्छ । सर्प भ्यागुत्तोको पछि लागेझैँ । सानोको ‘ताली’वाला किस्साले गिज्याइरहन्छ । मन्दिर परिसरमा झाडु लगाउँदा कहिले झाडुले घोच्न खोज्छ । काले पहिलेजस्तो कमजोर छैन । गोधुलीको मौका पारेर उनीहरूको छाती थिचिदिन्छ । कहिल्यै उनीहरूलाई भित्तामा चप्काउँछ । सरिता–प्रियङ्का पनि मौका मिल्नासाथ कालेको गुप्ताङ्गमा घुँडाले हानेर घायल बनाइदिन्छन् ।

कालेलाई कहिलेकाहीँँ दिमागी ‘सद्मा’ लाग्छ । त्यस्तो बेला नबढारेर, झाडु–नाच नाच्छ ऊ । कहिले मूर्तिबाट भगवान बाहिरिएको वर्णन गर्छ । कहिले आफू नै महादेव भन्दै हिँड्छ । अनि, मन्दिर परिसरमा देखिने पुजारीदेखि भिखारीसम्म नग्न देखेर खितखिताउँछ । जब ऊ ‘शिव–बुटी’ तान्छ, उसको दिमाग ‘माथि–को–तल’ हुन्छ । त्यस्तो बेला घन्टौंसम्म घन्टी बजाउन सक्छ, यत्तिकै । कालेलाई ‘सद्मा लागेको’ बेला सरिता–प्रियङ्का उसको अगाडि पर्न चाहान्नन् ।

उनीहरूलाई रक्सी लागेको बेला भने कालेभन्दा उग्र बन्छन्, ‘ओए काले याँ आ । मोरोले ताली बजाउनै सकेन ।’

खोच्याएको अभिनय गरेर कालेको मजाक उडाउँछन् । घरी आफ्नै गुप्ताङ्गतिर इशारा गर्छन् । काले रिसले पागल बन्छ । ऊ खोच्याउँदै उनीहरूलाई लखेट्ने प्रयास गर्छ । चिच्याउँदै चुनौति दिइरहन्छ, ‘ओए भालुहरू, एक–एक गरी आओ…।’

कालेको आमा चकारी मन्दिरको घन्टीको ध्वनीसँगै अलप भैदिन्छ ।

०००

सरिता–प्रियङ्काको अधिकांश समय पूजा सामाग्री पसल चहार्दै बित्छ– मस्किँदै, कहिले आँखा झिम्क्याउने पसलेलाई ‘ई खा’ भन्दै । कहिले गाली खाँदै कहिले गाली दिँदै ।

एक पसले छ, जो सरितालाई खुइलिएको माला दिन्छ । सेतो ‘प्रसाद’ चाख्न दिन्छ । दश–बीस रुपैयाँ थमाउँछ कहिलेकाहीँँ । त्यसको बदलामा ऊ सरिताको कोठामा पस्छ र छाती थिच्छ । अन्यभन्दा त्यै पसले नजिकको लाग्छ सरितालाई । प्रियङ्का यही कुरामा दिदीसँग ईश्र्या गर्छे । ऊ चाहन्छे उसलाई पनि दश–बीस रुपैयाँ दिने मानिस मिलोस् । तर, उसलाई आफ्नै समथल छातीदेखि ग्लानी हुन्छ ।

एक पसले छ, जो सरितालाई खुइलिएको माला दिन्छ । सेतो ‘प्रसाद’ चाख्न दिन्छ । दश–बीस रुपैयाँ थमाउँछ कहिलेकाहीँँ । त्यसको बदलामा ऊ सरिताको कोठामा पस्छ…

यो दिनचर्या चलिरहेको क्यानभासमा मौसमले फेरिन्छ । पाठक महोदय, यही सालको यही जाडोको कुरा गर्न आएको हुँ ।

जाडो सुरु हुँदा खासै मतलब भएन । जब जाडोले च्याप्न थाल्यो, त्यसपछि सरिता–प्रियङ्काले अघिल्लो पटकका लुगा खोतले । पहिले नै छोटा भएका लुगामा यो पटक शरीर छिरेनन् । पुराना कपडाका लागि केही पसलेलाई गुहारे, तर आश्वासनमात्र पाए । जाडो भने बलियो हुँदै गयो ।

त्यही बन्धक समयको छटपटिमा, कुनै चमत्कार भएझैं, सरिता नौलो आवरणमा देखा पर्छे । नौलो ज्याकेट, नौलो प्यान्ट र नौलो जुत्ता । पुरानो घरमा नयाँ रङ लगाएजस्तो अन्तर देखियो । खुसीले सरिताको हिँडाइमा चञ्चलता थपिन्छ । चिनेको पसलनेर ऊ अडिँदै हिँड्छे । उसलाई फोहोरी, खाते, मगन्ते भन्ने रूद्राक्ष व्यापारीको छोरालाई त्यो दिन कराएर भनि, ‘ओए लोभी बाहुन ! चिनिस् ?’

दश–बीस रूपैयाँ दिने पसलेले उसलाई ‘हिरोइन’ भन्छ । त्यो दिन उसले सयको नोट थमाएर पहिलोपटक आफ्नो पसलको गोदामभित्र लैजान्छ । तर, ग्राहकको आवाजले माहोल तुहिन्छ । सरिता त्यहाँ रोकिन्न ।

त्यसदिन उसलाई संसारै फेरिएझैं लाग्छ । रैथाने केटाहरूलाई हेरिराख्ने हिम्मत गर्छे । आफू सुन्दर देखिएकोमा उसलाई शंका लाग्दैन । कारण, काले पनि समय र मानिसहरूको मतलब नगरी झम्टिन खोजिरहन्छ बारम्बार । मन्दिर टहल्ने केटाहरू उसलाई दोहोर्‍याएर हेरिरहन्छन् । पश्चिमतिरको मूल सडकमा बजेको चर्को साईरन मन्दिरको घन्टीजस्तै लाग्छ । त्यो दिन उसले झण्डावाल गाडीभित्र बसेका सुकिलाहरूतिर ध्यान दिन्छे । उसलाई गाडीभित्र बसेकाले कस्तो नै कपडा लगाएका होलान् भन्ने जाग्छ । तर, कालो सिसाभित्र केही देख्दिन ।

मन्दिर अघिल्तिर पिपलको फेदमा, सिक्का टिप्दै गरेकी प्रियङ्कालाई देख्छे । दौड्दै उसको अगाडि उभिन्छे । मस्किँदै भन्छे, ‘ओए रन्डी चिनिस् ?’

प्रियङ्का चित खान्छे । शिरदेखि पाउसम्म नियाल्छे अनि आश्चर्यभाव र अलमल्लको स्वर भन्छे, ‘काँबाट ल्याइस ? चोरिस कि क्या हो ?’

सरिता झनै उजेली देखिन्छे । धक्कु लगाउँछे, ‘जेसुकै होस्, तँलाई बाल ? बरू भन, सुहा’छ, छैन ?’

‘लास्टै सुहा’छ !’

प्रियङ्कालाई ती लुगा छुन मन लाग्छ । फोहोर हातले छुन हिम्मत गर्दिन । आफ्नो तारिफ उसको हाउभाउमै पाएपछि सरिता त्यहाँबाट तुरून्तै हिड्छे ।

त्यो साँझ सरिता अन्तै खाना खान्छे, ठिकठाकको होटलमा । झिलिमिली शहरका गल्ली घुम्दै अबेर कोठामा पुग्छे । उसलाई शौचालय गन्हाउँछ । आफू बस्ने कोठा र भुईंको ओछ्यान फोहोर देख्छे । भित्ताहरू देखेर घिनाउँछे, जहाँ कालेले कोइलाले लिंग र योनीको चित्र कोरेको छ, ठाउँठाउँमा ।

प्रियङ्काले सोध्छे, ‘चुरोट खान्छेस् ?’

‘कुन चुरोट ?’

‘कुन हुन्छ ? त्यै पाइलट ।’

‘ला ! यो सूर्य ।’

सरिता ओछ्यानमा सुर्य चुरोटको डिब्बा फ्याँक्छे । प्रियङ्काले महङ्गो चुरोट सल्काउन ढिला गर्दिनँ । समय–समयमा सरितालाई पहिले कहिल्यै नदेखेझैं हेर्छे । सरिताले कपडा फेरेर ओछ्यानमा पल्टिँदासम्म दर्जन पटक सोध्छे, ‘काँबाट ल्याईस् के कपडा ? भन्दैमा के जान्छ ?’

सरिता वास्ता गर्दिन । छेउमा सुतेकी वृद्धा फेरि लहरै खोक्न थाल्छे । बेग्लै आपत्ति छ उसको, ‘रन्डीहरू बाहिर गएर खाउँ तिमीहरूको हड्डी । मलाई दम चढ्छ भन्ने था छैन ?’

वृद्धाको कुरा उनीहरू नसुनेझैं गरिदिन्छन् । आफ्नै सुरमा धुँवा उडाउँदै गफिइरहन्छन् ।

प्रियङ्काले कपडाको कुरा नछाडेपछि सरिता कुनै कथा भने जसरी रहस्य उघार्छे, ‘चोकको फुटपाथमा जाडोका कपडाहरू हेर्दै गैराथेँ । साहुजीले भन्यो, ज्याकेटस्याकेट के चाहियो ? रोज है सरिता ।’

उसले बेलिबिस्तार लगाई, ‘फुलेको बुढो थियो । मेरो नामसमेत थाहा थियो बे । ह्याँ मन्दिरमा आइरन्छ रे । अनि, मैले झर्किंदै भनें, फ्रिमा दिने हो ? पैसा हुनुपर्‍यो नि किन्न त । उसले फ्रिमा दिने लुगा कोठामै छन्, जाने त ? भन्यो । उसकै कोठाबाट ज्याकेट, पाइन्ट, जुत्ता र चुरोट पनि ल्याएँ । सबै अचानक भयो, बुझिस् !’

‘कोठामा केई त गरेन ?’

‘नाइँ केई गरेन । पूजामात्र गर्‍यो । सबै कुरा भन्नैपर्ने यो रन्डीलाई । भो अब सुत् ।’

सरिता झर्किदै नौरङ्गी टाले–सिरकभित्र लुक्छे । तर, प्रियङ्का निदाउन सक्तिन । बरू मध्रातमा सरिताका लुगा ट्राई गर्छे । एकछिन कोठामा डुल्छे । ती लुगा हल्का खुकुला भएको महसुस गर्छे ऊ । छाती उठेका भए ठिक्क हुने लख पनि काट्छे ।

सरिता बिहान प्रियङ्कालाई कोठामा पाउँदिन । लुगा चोरेर लगि कि, घाँटी तन्काएर हेर्छे ह्याङ्गरतिर । लुगा यथावत झुन्डिएका हुन्छन् । अघिल्लो दिनभन्दा बढी सुन्दर लाग्छन् लुगाहरू । मनमनै गुन्छे– आज सैलुनमा गएर ठूलो ऐना हेर्नुपर्ला… ।

त्यो दिनभर सरिता पसलेहरूसँगै गफिन्छे । ऐना हेर्न पटक–पटक सैलुन छिर्छे । उसलाई त्यो जन्मेदेखिकै सबैभन्दा छोटो दिन लाग्छ । उसले दिनभर प्रियङ्कालाई पनि सम्झिन्न । प्रियङ्का साँझमा मात्रै झुल्किन्छे । निकै थकित देखिएकी हुन्छे ऊ । पुग्नेबित्तिकै अनौठो आग्रह पोख्छे, ‘दिदी, मलाई’नि त्यो बुढोसँग भेट गराइदे न ।’

सरिता कारूणीक आग्रहको मर्म बुझ्दिन । चर्को गरी भन्छे, ‘आफैं खोज् न, त्यो बूढो मात्रै छ र !’

‘तेरै तरिकाले आज चार–पाँच जनासँग विचार गरें । सबैले नराम्ररी हकारे यार । तँ त भाग्यमानी रैछेस् । हेर्, आज केही खाकै छैन ।’

भाग्यमानी भनेको सरितालाई खुब मनपर्छ । पत्यार पनि लाग्छ । त्यसैले ऊ अलिक उदार बन्छे, ‘रोक ! म चस्मा ल्याइहालौं । अनि भेटाइदिऊँला !’

प्रियङ्का सरितालाई थप पगाल्न खोज्छे, ‘आमाले सधैं एक–अर्कालाई सहयोग गर्नू भनेको तैंले भुलिस् ?’

‘मलाई त्यो रन्डीलाई नसम्झा है । दुईचार दिन पर्खे भन्दैछु ।’ सरिता झर्किन्छे । प्रियङकासँग चुप लाग्नु बाहेकको विकल्प हुँदैन ।

०००

केही दिनको अन्तरालपछि सरिता मन्दिर परिसरको क्यानभासमा ‘रेवन’ चस्मामा झुल्किन्छे । पहिलो पटक सरिताको प्राप्तिलाई आफ्नै ठान्छे प्रियङ्का । हतारिँदै उसको अगाडि उभिन्छे । चस्माको तारिफ गरेर खास कुरा सोध्छे, ‘ओए ! मेरो बारे कुरा गरिस् ?’

‘पर्सि बोला’छ ।’

त्यसपछिको हर सेकेन्ड सरितालाई मनपर्ने खालका कुराहरू गर्छे ऊ । सरिताको पुच्छर बनेर हिँडिरहन्छे । मन्दिरको भगवानभन्दा सरितालाई विधाता देख्छे ऊ ।

पर्सि बिहान प्रियङ्का छिट्टै ब्युँझिएर नुहाईधुवाई गर्छे । मूर्ति अगाडि उभिएर कामना गर्छे– मसँग बढी खुसी भएर ज्याकेट, पाइन्ट, जुत्ता र चस्मा एकैचोटी देओस् । यत्ति काम बनाइदेऊ, भगवान ।

प्रियङ्काले जीवनमा पहिलो पटक बिहानै नुहाईधुवाई र भगवानसँग कामना गरिसक्दा सरिता ब्युझेकी हुँदिनँ । प्रियङ्कासित ब्युँझाउने हिम्मत पनि हुँदैन । त्यही मेसोमा तेस्रो पटक ऐना हेर्छे । आफ्नै अनुहार देखेर निराश हुन्छे ऊ– काली भुतिनी भन्ने हो कि ! भाग्य र रुप दुबै यो राँडीले ल्यार आएकी रै’छ ।

नकारात्मक सोचले उसमा झन् बढी हतार थपिन्छ । सरितालाई व्युझाउँने सोच तीव्र हँुदै जान्छ । सरिता रिसाउँछे भन्ने डरसमेत थपिँदै जान्छ । ओछ्यानमा पल्टिएरै सरिता ब्युँझिने समय पर्खिन्छे ।

सरिता उठ्नेबित्तिकै प्रियङ्का सम्झाउन खोज्छे, ‘तँलाई था छ, आज…।’

‘था’छ, था’छ ।’

सूर्य ढल्किसकेको छ । रातो पोतिएका बादलका थुम्काहरू छन् क्षितिजमा । त्यही बेला रातो ज्याकेटसहित प्रियङ्का मन्दिर परिसरमा देखापर्छे । कुनै जीर्ण घर आधा रङ्गाएजस्ती देखिएकी हुन्छे ऊ । दुई तीघ्राबीच घाउ चस्किरहेझैं पाइला चालिरहन्छे । अनुहार भने बहुतै ढुक्क देखिएको हुन्छ । आफैंभित्र खुसीलाई थुन्छे, सरितालेझैं चञ्चलता देखाउदिन । कसैलाई सोध्दिन– ‘ओए मलाई चिनिस् ?’

मन्दिरको गेटनेरै नरिवल बेच्ने बिट्टुले जिस्क्याउँछ, ‘अरे प्रियङ्का, आज बिलकुल प्रियङ्का चोपडा भइछस् त !

ऊ बिट्टुतर्फ फर्किन्छे, ‘हिरोइन् ? …होला खुब !’

‘ऊ त पहिले विश्वसुन्दरी हो । बादमा हिरोइन् ।’

उसलाई प्रियङ्का नामकी हिरोइन छ भन्ने थाहा थियो । तर, विश्वसुन्दरी पनि हो, थाहा थिएन । खैर, बिट्टुको तारिफले मख्ख पर्छे ।

मन्दिर छेउको शिवलिङ्गबाट पैसा उठाउँदै गरेकी सरितालाई देखेर प्रियङ्का जोडले बोलाउँथे । उनीहरू आम्नेसाम्ने उभिन्छन् । प्रियङ्काको नयाँ ज्याकेट छुदै सरिता भन्छे, ‘यत्ति मात्र ल्याइस् ?’

सरिताकोे कुराको कुनै मतलब नगरी प्रियङ्का उसका हातहरू समाउँछे । बिलम्ब नगरी सरिताको गालामा म्वाँई खान्छे, ‘आखिर दिदी, दिदी नै हो ।’

प्रियङ्काका आँखाहरू टम्म परेको तालझैं देखिन्छन् ।

त्यही समय कालेले सरितालाई ताकेर जोडले हानेको सिक्का प्रियङ्का र सरिताको अनुहारबीचबाट सिक्का रोडतिर हुत्तिन्छ । संयोगवश सिक्का साइरन बजाउँदै कुदेको झण्डावाल गाडीको झ्यालमा ठोक्किन्छ, जुन कालेबाहेक कसैले थाहा पाउन्नन् । निकै अगाडी पुगिसकेको झन्डावाल गाडी हेर्दै काले चिच्याउँछ, ‘महाराजको बग्गी । श्रीश्रीश्रीश्रीको बग्गी… ।’

मन्दिरका नियमित मानिसलाई कालेको सद्मा सामान्य लाग्छ । केही नौला भक्तजनले उसलाई फर्कीफर्की हेर्छन् । सरिता–प्रियङ्काको गफ कालेतिर मोडिन्छ । सरिता सोध्छे, ‘के भयो काले ?’

काले चिच्याउँदै सुनाउँछ, ‘मैले हानेको सिक्का लागेर झण्डावाला गाडी बग्गी भयो ।’

सुन्ने जति गललल हाँस्छन् । काले गाडी गएको दिशातिर हेदै फतफताउँछ, ‘ऊ घोडाको टाप यहाँसम्मै सुनिन्छ त । मेरै सिक्का लागेर बग्गी गाडी भयो ।’

नजिकैको बिट्टुले सम्झउँछ, ‘अघि गाडी बग्गी भयो भनेको होइनस् ।’

‘हो त, के भनें र मैले । गाडी बग्गी भयो ।’

बिट्टु अर्कोतिर फर्केर हाँस्छ । काले हतार–हतार खोच्याउँदै गाडी गएकै दिशातिर लाग्छ ।

०००

यो चलायमान क्यानभासमा हरेक चिज दौडिरहन्छन् यसैगरी । जुन पात्र छोयो, उसकै कहानी बग्छ । प्रिय पाठक, कुनै पात्र छुन चाहनुहुन्छ ? बिट्ठु, रोगी बुढी, भिखारी वा साइरनवाला गाडीभित्रको अनुहार ? लौ छोइदिनुस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment