Comments Add Comment

‘सोचे झै जिन्दगी’का गायक-गायिका किन भिडे ? कसरी मिले ?

१६ कात्तिक, काठमाडौं । यस वर्षको सुपरहिट लोकगीत ‘सोचे झैं जिन्दगी रैनछ’ का गायक र गायिकाबीच चर्किएको कपिराइटसम्बन्धी विवाद सहमतिमा टुंगिएको छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको रोहबरमा शनिबार भएको लामो छलफलपछि उनीहरुबीच मेलमिलाप भएको हो ।

खेम सेच्चुरी र मधु क्षेत्रीको आवाजमा रहेको ‘सोच झैं जिन्दगी रैनछ’ बोलको गीत तीजलाई लक्षित गर्दै चार महिना अगाडि यूट्यूवमा रिलिज गरिएको थियो । गीतले नसोचेको सफलता पायो । यसका डान्स स्टेपहरु भाइरल नै भए । जब गीतले छोटो समयमा करोड क्लवमा प्रवेश पायो, अनि उब्जियो कपिराइटको विवाद ।

गीतकी प्रोड्यूसर र गायिका मधुले यूट्युवबाट भएको आम्दानीको हिसाबकिताब खेमले आफूलाई देखाउन नमानेको आरोप लगाइन् । खेमले चाहिँ सर्जकका नाताले गीतको सर्वाधिकार आफूमा रहेको दाबी गरे । यो गीत खेमकै यूट्यूव च्यानलबाट अपलोड भएको थियो । युट्युवको भिडियो टाइटलमा ‘मधु क्षेत्रीको काइयो र ऐना’ उल्लेख छ भने भिडियो विवरणमा मधुलाई गायिकाको रुपमा मात्रै क्रेडिट दिइएको छ । कपिराइट खेम सेन्चुरीसँग रहेको उल्लेख छ । तर, गीतमा सम्पूर्ण खर्च आफूले गरेकाले यसको कपिराइट आफूसँग हुने मधुको दाबी पनि बलियो थियो ।

विवाद चर्किँदै गएपछि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका पूर्व र वर्तमान पदाधिकारीहरुले अनौपचारिक छलफलको माध्यमबाट गायक-गायिकालाई सहमतिमा ल्याए । दुवैले गीतमा आ-आफ्नो तर्फबाट भएको खर्च फिर्ता पाउने र अबको एक वर्षसम्म यूट्यूवबाट भएको आम्दानीको बराबर हिस्सा बाँड्ने सहमति थियो । त्यस बमोजिम यूट्यूवबाट भएको आम्दानीबाट दुवैले आआफ्नो खर्च फिर्ता लिए । गीतमा दुवैको स्वामित्व कायम रहने गरी उनीहरुले सहमति गरेका थिए ।

यसरी साम्य भएको विवाद फेरि ब्यूँतियो, जब यूनिसेफ नेपालले खेमलाई एउटा सन्देशमुलक गीत निर्माणको प्रस्ताव गर्यो । ‘सोचे झै जिन्दगी…’ को भाकामा कोरोनाविरुद्धको सन्देशमुलक गीत निर्माण गर्ने प्रस्ताव आएपछि खेमले मधुसँग सल्लाह गरे । मधु पनि सहमत भइन् । खेम र मधुको स्वरमा ‘सोचे झैं कोरोना रैनछ’ बोलको सन्देशमुलक गीत रेकर्ड गराइयो । उक्त गीतको सुटिङलगायतका कामहरु बाँकी नै रहँदा खेम कोरोना संक्रमित भए । यता मधुले आफूलाई काठमाडौंमा सेटल हुन पैसा अत्यावश्यक भएको भन्दै खेमलाई लगातार ताकेता गरिन् । उनले खेमबाट आफू अन्यायमा परेको भन्दै विभिन्न यूट्यूव च्यानलमा आक्रामक अन्तरवार्ताहरु पनि दिइन् ।

यसबाट रुष्ट बनेका खेमले यूनिसेफका लागि रेकर्ड गराइसकेको गीतबाट मधुको स्वर हटाएर दुश्मनीलाई नयाँ उचाइमा पुर्‍याइदिए । मधुको आवाज हटाएर उनले सम्झना भण्डारीको स्वरमा गीत पुन रेकर्ड गराए । गीतको रेकर्डिङ तथा सुटिङका लागि भएको खर्चवापत यूनिसेफबाट उनले दुई लाख ३० हजार रुपैयाँ भुक्तानी लिए ।

खेमको यो कदमले मधुलाई थप आक्रोशित बनायो । आफूलाई काम गराएर एक पैसा पारिश्रमिक नदिएको, आफ्नो रेकर्ड भइसकेको स्वर हटाएको जस्ता विषय उठाउँदै उनले मिडियावाजी गरिन् । खेमले पनि त्यसको प्रतिक्रियामा मिडियावाजी सुरु गरे । एउटा अन्तरवार्तामा खेमले एक व्यक्तिसँग आफ्नो नाम जोडेको भन्दै मधुले साइबर क्राइममा उजुरी गर्नेसमेत तयारी गरिन् । यसरी विवादले उग्र रुप लिएपछि लोकदोहोरी प्रतिष्ठानका निवर्तमान अध्यक्ष बद्री पंगेनीले उनीहरुबीच मेलमिलापका लागि पहल गरेका थिए । उनकै समन्वयमा शनिबार लोक दोहोरी प्रतिष्ठानको कार्यालयमा वार्ता भएको हो ।

के भयो सहमति ?

हिजोको वार्ता ६ घन्टासम्म चलेको थियो । यस क्रममा दुवैले एक-अर्कासित मन माझामाझ गर्दै क्षमायाचनासमेत गरेका थिए । खेमका विरुद्ध मिडियावाजी गरेकोमा मधुले माफी मागिन् भने यूनिसेफको गीतबाट मधुको स्वर हटाएकोमा खेमले माफी मागे । साथै गीतको युट्युव आम्दानीमा ५०-५० प्रतिशतको हिस्सेदार हुनेगरि यसअघि भएको सहमतिलाई कायम राख्न दुवै राजी भएका छन् ।

गीतमा खेम र मधु दुवैको संयुक्त स्वामित्व रहने छ । यस हिसाबले यूनिसेफबाट लिएको आम्दानीको ५० प्रतिशत हिस्सा मधुलाई दिन पनि खेम तयार भएका छन् । यो सहमतिले आगामी दिन फेरि आफूहरुबीच सहकार्य हुन सक्ने वातावरण बनेको उनीहरु बताउँछन् ।

प्रतिष्ठानका पूर्वअध्यक्ष पंगेनीले उनीहरुबीचको विवाद वास्तविकतामा सामान्य भए पनि मिडियाले ठूलो बनाइदिएको टिप्पणी गरे ।

उनले भने, ‘मिडियालाई नै अदालत, मिडियालाई नै प्रहरी र मिडियालाई नै प्रशासन ठान्ने प्रवृत्ति ठीक होइन भन्ने दुवै पक्षले महसुस गरेका छन्, अरुका लागि पनि यो ठूलो पाठ हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment